हामीमध्ये धेरैलाई ठूलो भीडका सामु बोल्न, कक्षा अगाडि गइ प्रेजेन्टेसन गर्न, पार्टी लगायत सामाजिक भेलामा सहभागी हुन अत्यन्तै असहज लाग्छ । त्यस्तै लजालु स्वभावका एकिन्डल माइकल पनि आफ्नो अधिकतम समय घरभित्रै बसेर बिताउने गर्दथे । तर उनका अभिभावक उनीजस्तो लजालु छैनन् । त्यसैले आफ्नो यस्तो विशेषताका लागि उनले आफूलाई हुर्काइएको वातावरणलाई जिम्मेवार ठर्हयाउने गरेका छन् । यसरी सानैदेखि हामीमा यस किसिमको व्यक्तित्व विकास हुने, जसको आधारमा हामीले आफूले नचिनेको व्यक्तिसग कुरा गर्न सहज वा असहज महसुस गर्ने गरेको किङ्स कलेज लन्डनकी व्यवहारिक विकास प्रोफेसर थालिया एले बताउछिन् । यसरी ३० प्रतिशत केसमा मात्र लजालु स्वभाव वंशाणुगत हुने गरेको उनको भनाइ छ । बाकी ७० प्रतिशत भनेको हाम्रो वातावरणीय प्रतिक्रियाको नतिजा स्वरुप विकास हुने उनले बताइन् ।
यसरी लजालु स्वभावबारे अध्ययन गर्दा एकअर्कासग हुबहु मेल खाने, एउटै जिन शेयर गर्ने जुडुवाहरुको र आधा जीन मात्र समान भएका भिन्दै देखिने जुडुवासग तुलना गर्ने गरिएको छ । एले लगायत थुप्रै वैज्ञानिकहरुले पछिल्लो दशक मानिसको व्यक्तित्व र मानसिक स्वास्थ्य वंशसग सम्बन्धित भए नभएका बारे पत्ता लगाउन यसरी नै डिएनए परीक्षण गरिरहेका छन् । जसपछि उनीहरुले वंशभन्दा वातावरणले नै लाजलगायत व्यक्तिगत स्वभावको निर्धारण गर्न महत्वपूर्ण भूमिका निभाउने गरेको निष्कर्ष निकालेका हुन् । जस्तै लजालु स्वभाव पहिलोपटक अपनाउदा एउटा बालक सबैसग नखेलेर एक्लै टाढाबाट हेरिरहन्छ । र बिस्तारै एक्लै बस्नुमा नै उसले धेरै सहज महसुस गर्न थाल्छ भने सो अनुभव उमेरसगै सामान्य बन्दै जान्छ । यस्तोमा वंश र वातावरण दुवैले यस पक्षमा प्रभाव पार्ने गरेको एले बताउछिन् । तर सो बानी मनोविश्लेषक थेरापी र अन्य थुप्रै तरिकामार्फत बदल्न सकिन्छ । क्लिनिकल मनोविश्लेषक क्लोए फोस्टरका अनुसार लजालु स्वभाव आफैमा हानिकारक होइन तर यो पछि गएर बढी सुर्ताउने बानीमा विकास भएमा चाहि समस्या हुन सक्छ ।
उनका अनुसार उनीकहँ मद्दतका लागि आउने यस प्रवृत्तिका मानिसहरुले आफूले दैनिक जीवनमा गर्नुपर्ने काम नगरिरहेकामा बढी चिन्ता व्यक्त गर्ने गरेका छन् । जस्तै कार्यालयमा सहकर्मीहरुसग बोल्नमा कठिनाइ हुनु, त्यस्तै आफ्नो मूल्यांकन हुने डरले मान्छेका अगाडि बोल्न नसक्ने । एले भन्छिन लजालु स्वभावको विकास हुनु पछाडि थुप्रै वैज्ञानिक कारणहरु छन् । त्यसको समाधानका लागि सबैभन्दा उत्तम उपाय भनेको व्यवहारिक शैली र सोचाइ बदल्ने प्रयासयुक्त थेरापी हुन सक्छन् । यी तरिका वास्तवमै प्रभावकारी सावित भएका छन् । जसलाई ‘कग्निटिभ बिहेभरियल थेरापी, सिबीटी’ भनिन्छ । सिबीटीले लजालु स्वभावका व्यक्तिमा हुने तीन प्रकारका नकारात्मक सोचको पहिचान गर्न मद्दत गर्छ भने हाम्रा केही बानीहरु राम्रोका लागि नभएर हामीलाई हानी र्पुयाइरहेको भन्ने पनि स्पष्ट पार्छ । जस्तै कसैलाई केही भन्नु अगाडि मनमनै पटकपटक सो वाक्य दोर्होयाएर तयारी गर्ने, बोल्दा आफ्ना अगाडिको मान्छेको आखामा नहेर्ने लगायतका व्यवहारले वास्तवमा हामीलाई समाजिक रुपमा झन असक्षम बनाइरहेको हुन्छ । त्यस्तै कुनै पनि सामाजिक समारोहमा सहभागी हुनु अगाडि व्यक्तिले आफ्नो प्रदर्शनप्रति अति उच्च अपेक्षा राख्ने गर्नु पनि अर्को समस्या भएको फोस्टर बताउछिन् ।
उदाहरणका लागि तिनीहरुमा आफूले बोल्दै गर्दा बीचमा कदापी अड्कीनु हुदैन र आफ्नो कुराप्रति सबैको ध्यान केन्द्रित रहिरहनुपर्छ भन्ने सोच हुन्छ । त्यसैले यस किसिमको दबाबले पनि मानिसको व्यवहारमा ठूलो प्रभाव पार्ने गरेको बताइएको छ । यस्तोमा कसैले आफूमाथिको दबाब थोरै मात्र कम गर्न सक्यो भने पनि उसले सफलतापूर्वक सबै परिस्थितिको सामना गर्न सक्ने बताइएको छ । यसैगरी सामाजिक समारोहहरुमा नियमित सहभागीता जनाएर आफूलाई चुनौति दिने गर्दा पनि आत्मविश्वासमा सुधार आउन सक्ने बताइएको छ । यसरी आफ्नो कुराले अरु दिक्क हुने वा भन्नका लागि कुरा नरहने जस्ता पक्षमा हामीले कम ध्यान दिँदै जुनसुकै अवस्थालाई पनि विशेष रुपमा नलिएर सामान्य ठानेर अर्न्तक्रिया गर्नुपर्ने सुझाव दिइएको छ ।
लजालु स्वभावका मानिसहरु प्राय: इन्ट्रोभर्ट (बाहिर कम घुलमिल हुने, कम बोल्ने, सामाजिक कार्यमा अत्यन्तै कम भाग लिने, एक्लै बस्न रुचाउने, कम हँस्ने) हुन्छन् तर कोही कोहीमा सामाजिक गुण हुन पनि सक्छ जुन लजालु स्वभावका कारण अवरुद्ध भइरहेको हुन्छ । त्यस्तै लाज नमान्ने तर इन्ट्रोभर्ट व्यक्तित्वहरु भने आफैंमा रमाउने र खुसी रहने गर्छन् । तापनि इन्ट्रोभर्टहरुले उत्साह, हर्ष ऊर्जा लगायतका भाव कमै महसुस गर्ने गर्छन् ।
यसकारण पनि मानिसको व्यक्तित्वलाई खुसीको सबैभन्दा ठूलो संकेतक मानिन्छ । यस्तोमा युनिभर्सिटी अफ क्यालिफोर्नियाकी पिएचडी विद्यार्थी जेस्सी सन र उनका सहकर्मीले एउटा अनुसन्धान सञ्चालन गरेका हुन् । जसमा अरुसँग अर्न्तक्रिया गर्नमा कठिनाइ हुने इन्ट्रोभर्ट व्यक्तित्वका मानिसलाई एक हप्ताका लागि ‘एक्सट्रोभर्ट’ जस्तो अभिनय गरी धेरै बोल्न, हास्न भनिएको थियो । यस्तोमा अभिनय गरिरहेको भए पनि कतिपयले धेरै सकारात्मक भाव महसुस गरेको बताएका हुन् । तर अत्यन्तै लजालु स्वभावका व्यक्तिहरुले भने सो काम थकानपूर्ण र धेरै चिन्ता गराउने किसिमको रहेको भन्दै नकारात्मक भाव व्यक्त गरेका छन् ।






