काठमाडौं । नेपाली मौलिक लोकगीतका कुशल नृत्य निर्देशक दीप कोके गुरुङको निधन भएको छ ।
गुरुङको शनिबार बिहान काठमाडौंस्थित चिरायु अस्पतालमा निधन भएको तमु कलाकार संघ नेपालकी केन्द्रीय महिला सचिव दुर्गा गुरुङले जानकारी गराइन् । निर्देशक गुरुङ विगत केही दिनदेखि अस्पतालमा उपचारत थिए ।
गोरखा सिरानचोक गाउँपालिका-२ मा जन्मिएका दीप नेपाली मौलिक लोक तथा गुरुङ संस्कृतिमा आधारित गीतको म्युजिक भिडियो निर्देशन र कोरियोग्राफीमा सक्रिय थिए । उनले ५०० भन्दा बढी म्युजिक भिडियो निर्देशन तथा कोरियोग्राफी गरेका छन् । उनले गुरुङ समुदायको घाँटु कथामा आधारित फिल्म ‘जुन-किरी’ निर्देशन गरेका थिए ।
‘दिप फिल्म्स प्रोडक्सन’का सञ्चालकसमेत हुन उनी । उनी गुरुङ कलाकार संघ, पश्चिमाञ्चल कल्चर ग्रुप, गोरखा सांस्कृतिक समाजलगायत संघ संस्थामा आबद्ध थिए ।






