
नवीन रोकामगर
कसरी मनाइन्छ ?
स्थानीय सत्ताको अनुमतिले बुकीमा पुगेर युवा युवतीहरुले ल्याएका रंगीवीरंगी फूलहरु असार १ गते विहान घरघरमा भित्र्याएपछि सुरु हुन्छ –भूम्या पर्व । भूम्या पर्वको विभिन्न महत्वमध्येको एक हो –मानिस जीवित छ या छैन भन्ने परीक्षण गर्ने दिन । यसका अरु पनि महत्व छन् –सत्ता परिवर्तन, आर्थिक वर्ष र युवा–युवतीले प्रेम गर्ने अवसर । के हो त भूम्या पर्व ? कसरी मनाईन्छ र यसको महत्व के छन् ।
भूमिको पूजा भूम्या पर्व
नोकोबाङ्गे, भूमे, भूमि, भूम्या जस्ता नामले मनाईन्छ भूम्या पर्व । पश्चिम नेपालमा बोलिने मगर खामरपाङ भाषाको विभिन्न भाषिकाका कारण यो पर्वको नाम विभिन्न भए पनि यसको मूल पक्ष भनेको भूमिको पूजा हो ।
नेपाली समाजमा जातीय, सांस्कृतिक, सामाजिक, भाषिक, धार्मिक विविधतासँगै मगर समुदाय भित्र पनि भाषिक, सांस्कृतिक लगायत विविधताहरु छन् । मगर समुदायमा भएका प्राचीन मौलिक संस्कृति, चाड पर्वहरु मध्य भूम्या पर्व सांस्कृतिक सभ्यतासँग जोडिएको पर्व हो । यो चाड मुख्य गरी असार १ गतेदेखि सुरु गरेर आफ्नो भूगोल, समाज, समय अनुकुल हुने गरी मनाईन्छ ।
यो पर्व मूलतः भूमिकै पूजा हो । भूमिप्रति सम्मान र आदर हो । भूमि छ र त हामी मानव छौँ । हामी जीउन पाएका छौँ । भूमि भएर यहाँ प्राणी जगत छ । त्यहीं माटो, भूमिमा फलेको अन्नबाली खाएर जीउने अवसर पाएका छौँ । त्यसैले हामीले भूमिलाई शिरमा राख्नुपर्छ, आदर सम्मान गर्नुपर्छ भन्ने मान्यताका साथ मगर समुदायले भूमिलाई पूजा गर्ने गर्छ ।
मगर समुदाय लगायत संसारका आदिवासीहरुले जल, जमिन र जंगललाई आफ्नो प्राणको रुपमा लिने गरेका छौँ । यसको प्रमाणको रुपमा मगर समुदायले भूम्या पर्व मनाउने गर्छौँ ।
युवा युवतीले फूल ल्याएपछि सुरु हुन्छ पर्व मगर समुदाय विशेष गरी उच्च पहाडी भूभागमा बसोबास गर्छन् । यो भूम्या पर्व पनि त्यहींको प्रकृति र परिवेशसँग सुहाउँछ । भूम्या पर्वको बेलामा मगर समुदायका युवा युवतीहरु उच्च पहाडी भेग अर्थात बुकीमा गएर त्यहाँको चोखो ठाउँमा फुलेको फूल टिपेर ल्याउने गर्छन् । त्यो फूल लिएर आएपछि सबै गाउँलेलाई सजाउछन् । पूजा गर्छन्, भूम्या नाच सुरु गर्छन् । र, भूम्या पर्व सुरु हुन्छ । पूजा गरेर, नाचेर स्वागत गरिएको भूम्यालाई नाचेरै बिदाइ गर्ने चलन छ ।
फूल टिप्न जाने पनि नियम हुन्छ । मगर समुदाय भित्रको स्थानीय सत्ताको अनुमति लिएर मात्रै बुकीमा युवा युवती फूल टिप्न जान्छन् । निश्चित अवधिमा फूल टिप्न बुकीमा पुगिसक्नुपर्छ । फूल टिपेपछि निश्चित अवधिमा गाउँमा आईपुग्नुपर्छ । अन्यथा स्थानीय सत्ताबाट दण्डित हुनुपर्छ । यो एक खालको परम्परा हो ।
भूम्या नाच धेरै चालमा नाचिन्छ । समय क्रममले चालहरु कम हुँदै आएका छन् । तर, एउटा कुरा के हो भने संसारमा एक साथ महिला पुरुष गोलबन्द भएर सयौँ, हजारौँको संख्यामा एक साथ नाचिने नाच भूम्या हो ।
त्यसकारण भूम्या पर्व, भूम्या नाच मानव जातिको विकाससँगै उत्पत्ति भएको प्राचीन मानव सभ्यता, सांस्कृतिक सभ्यता हो । भूम्यामा अनिवार्य बली दिइन्छ । असार १ गते विहान बली दिइन्छ । त्यो ठाउँ विशेष हुन्छ । कतै कुखुरा, कतै बाख्रा, कतै भेडाले बली दिईन्छ ।
यो बली कुनै अलौकिक देवता, भगवानका लागि होइन, माटोको लागि दिने चलन छ ।
सत्ता परिवर्तनदेखि मानिस मरे नमरेको मापन गर्ने समय भूम्या पर्वको धेरै पक्षहरु छन् । यो पर्वसँग सामाजिक, भाषिक, सांस्कृतिक, राजनीतिक, आर्थिक महत्व जोडिएका छन् । प्राचीन अवस्थामा मानव विकाससँगै हाम्रो संस्कृति र सभ्यताको विकास हुँदै गर्दा मगर जातिले सत्ताको प्राचीन अभ्यास गरिरहँदा आफ्नो बस्ती तथा थातथलोमा पुरानो सत्ता नयाँमा हस्तान्तरण गर्ने गरिन्थ्यो । यो सत्ताको विकास क्रम थियो । त्यसकारण भूम्या राजनीतिक सत्ता परिवर्तनको एउटा अवसर हुन्थ्यो ।
भूम्या आर्थिक वर्षको सुरुवात पनि हो । वर्षभरीको आय व्यय प्रस्तुत गर्ने । राम्रो नराम्रो कामको समिक्षा गर्ने । र, आगामी दिनको कार्यक्रम बनाउने आर्थिक वर्षको रुपमा हेरिन्थ्यो ।
अहिले जसरी जनसंख्याको गणना गरिन्छ । प्राचीन अवस्थामा हाम्रो समुदाय अथवा मानव समुदाय कुन कुन ठाउँमा जीवित छन् वा मृत्यु भयो भन्ने हिसाबले पहिचान गर्ने दिनको रुपमा पनि भूम्यालाई लिईन्थ्यो । भूम्या पर्वको दिन बली चढाएको पशुको मासु सबै परिवारलाई ‘बिलो’ लगाउने चलन छ । जुन घरबाट बिलो लिन आउँदैन, उसको लागि एक महिना, दुई महिना, तीन महिनासम्म सुरक्षित राखि राख्ने चलन छ । त्यो समय पार गर्दा पनि बिलो लिउन नआएपछि त्यो मानिस (परिवार) मर्यो, त्यो जीवित छैन भन्ने पुष्टि हुन्थ्यो ।
सामाजिक हिसाबले युवा युवतीलाई नयाँ जीवन, घरजम, परिवार सम्बन्ध जोड्न यो पर्वको महत्व छ । भूम्या पर्वका दिन युवा–युवतीहरु जमघट हुने, एकले अर्कालाई चिन्ने, परिचय गराउने, माया गर्ने र नयाँ जीवन थालनी गर्ने माध्यामको रुपमा यो पर्वलाई लिइन्छ ।
सांस्कृतिक हिसाबले मगरहरुको ईतिहासको विकाससँगै सभ्यता प्रस्फुटन गर्ने माध्यम हो । जसले गर्दा मगर समाजको संस्कृति, सभ्यताको संरक्षण, विकास गर्ने, परस्कृत गर्ने, मानिसहरुको मनोबल उच्च बनाउने माध्यम पनि हो ।
यससँगै मगरहरुको भाषा, संस्कृतिलाई जीवन्त राख्ने माध्यमको रुपमा रहेको छ । सबैभन्दा महत्वपूर्ण कुरा त सामाजिक सद्भाव यसको महत्वपूर्ण पक्ष हो ।
माटोको पूजा हो देवताको होइन
मगरहरुको व्यवस्थित बस्ती भएको ठाउँमा यो पर्व जीवित छ । पश्चिम नेपालको रोल्पा, रुकुम, धौलागिरी क्षेत्रमा यो पर्व जीवित छ । खुशीको कुरा, यो पर्व फैलदो छ । आज संसारमा यो पर्व मगरहरुको मात्र नभएर नेपाली जनताको मौलिक संस्कृतिको ‘ब्राण्ड’को रुपमा विकास भएको छ । अहिले स्वदेश तथा विदेशमा भूम्या पर्वलाई धुमधामका साथ मान्ने चलन छ । त्यसैलै हामीले के भन्छौँ भने यो चाड पर्व मगर समुदायमा सुरक्षित रह्यो होला, तर यो नेपाली जनता र नेपाल राष्ट्रको सम्पत्ति हो ।
भूम्या पर्वको संरक्षण र विकासका लागि सरकारले सहयोग गर्नुपर्दछ । भूम्या पर्व लगायत आदिवासी जनजातिका पर्वहरुलाई सरकारले स्वामित्व लिएर सार्वजनिक विदा दिनुपर्दछ । अनि मात्रै संसारभर हाम्रो पहिचान, संस्कृति स्थापित हुन्छ ।
म फेरि पनि भन्छु, भूम्या पर्व मगर समुदायसँग मात्रै नभएर मानव जातिसँग जोडिएको छ । यसको मुख्य साइनो भनेको माटोसँग जोडिएको छ । माटो छ र त हामी छौँ । धर्ती छ र त यसबाट उत्पादित चिजहरु खाएर हामीले प्राण बचाएका छौँ । त्यसैले हामीले जल, जमिन र जंगललाई मानव जातिले, प्राणी जगतले आदर गर्नुपर्छ । बचाउनु पर्छ । अनिमात्रै दुनियाँ सदा जीवन्त रहन्छ भन्ने मान्यताका साथ भूम्या पर्व मनाउने गर्छौँ । भूम्या पर्व–२०७६ को देश तथा विदेशमा रहनुभएका नेपालीहरुमा हार्दिक शुभकामना ।
– रोकामगर, नेपाल मगर संघ केन्द्रीय समिति अध्यक्ष हुन् ।






