सगरमाथा बन्द किन गर्ने ?

SHARE:

खिम घले
केही दिन अघि नेपाल पर्वतारोहण संघले आयोजना गरेको एउटा कार्यक्रममा आरोहीहरुको कुरा सुन्न गएको थिएँ । विषय थियो, सगरमाथा आरोहणका सम्बन्धमा उठेका सावालहरु । पछिल्लो समय आफैले रोजेको कामका कारण पनि पर्यटनसंग सम्बन्धित काम गर्नेहरुसंग भेटघाट र उनीहरुको कुरा सुन्ने मौका मिल्छ । त्यही अवसरको सदुपयोग गर्नका लागि पनि त्यहाँ गएको थिएँ ।

त्यहाँ दुई वटा कुरा विशेष रुपमा उठे । पहिलो नेपाल भ्रमण वर्ष २०२० का संयोजक र पर्यटन मन्त्रालयका सचिवले सगरमाथालाई एक वर्षका लागि बन्द गर्नु पर्छ भनेर अभिव्यक्ति दिए भन्ने र स्वदेशी तथा विदेशी मिडियाले सगरमाथामा ट्राफिक जाम भएको र त्यही कारण आरोही मरेको भनेर समाचारहरु दिएको सन्दर्भ ।

यी दुवै विषयमा आरोही, आरोहण व्यवस्थापन गर्ने कम्पनी तथा पर्यटन व्यवसायीका संघसंस्थाले आआफ्ना विचारहरु राखे । उनीहरुले एक अर्कालाई घोचपेच गरे पनि पर्वतारोहणलाई कसरी मर्यादित, बढीभन्दबढी सुरक्षित बनाउन सकिन्छ भन्ने सम्बन्धमा छलफल गरे ।

त्यहाँ सगरमाथामा हुँदै नभएको वा केही मात्रमा भएको विषयलाई उछालेर संसारभर बद्नाम गरियो भन्ने कुरा धेरैले जोड दिए । अनि त्यही आधारहीन कुरामा टेकेर जिम्मेवार पदमा बस्नेहरुले सगरमाथाका एक वर्ष आरोहण रोक्नु पर्छ भनेको भन्दै रोष प्रकट गरे । त्यसैगरी कम्पनीहरुको लापरवाही र अस्वस्थ प्रतिस्पर्धाको कुरा उठाए । सरकारको वेवास्ताको कुरा उठाए । फोहोर सफाईको कुरा उठाए । आरोहणको लागि अति महत्वपूर्ण तर सरल विषयहरु उठेका थिए । पर्यटन विभागका महानिर्देशकले कति बुझे, उनी कति सहमत भए तर बुझ्नेको लागि पर्याप्त थियो । यहाँ तिकै कुराहरुको बारेमा चर्चा गरिएको छः

सगरमाथा बन्द गर्ने कुरा । प्रधानमन्त्रीको यूके भूमणमा बीबीसीले समेत कडा रुपमा सगरमाथाको विषयमा कुरा उठाएपछि एकथरीले एक वर्षका लागि सगरमाथाको आरोहण रोकेर सफाइ गर्नुपर्ने लगायतका कुरा गरिरहेका छन् । उनीहरुको तर्कमा सगरमाथाको फोहोर, जाम र मृत्युले गर्दा अन्तर्राष्ट्रिय रुपमा बेइज्जत भएको छ । यस्तो बेला केही समयलाई रोकेर सफाइ गरेमा गुमेको साख फिर्नेछ भन्ने उनीहरुको भनाई रहेको छ ।

उनीहरुले गरेको तर्कलाई सामान्य रुपमा हेर्दा ठिकै लागे पनि खासमा यसले पार्ने दीर्घकालिन असरको बारेमा भने सोचेको देखिंदैन । अझ भ्रमण वर्षकै बेला मुलुककै सबैभन्दा ठूलो पर्यटन आकर्षण नै बन्द गर्दा त्यसको असर अर्कै पर्नेछ । २० लाख पर्यटक भित्र्याउने उदेश्य राखेको भ्रमण वर्षको असफलताले निम्त्याउने निरासा अर्कै हुन्छ ।

खासमा आरोहीहरुको अनुभव सुन्ने हो भने नत सगरमाथामा जाम भएको यो पहिलो पटक हो नत धेरै आरोही मरेको नै हो । नत यो वर्ष सबै भन्दा धेरै आरोही नै सगरमाथा आरोहण गरेको वर्ष हो । खासमा भएको के मात्र हो भने डिजिटल युगमा प्रवेश गरेको प्रभाव देखिएको हो । हिलारी स्टेपभन्दा माथी जुन लाइन देखियो त्यही लाइनको तस्विर बाहिर आएपछि अनेक खालका टिप्पणीहरु सुरु भएको हो । आरोहीहरुका अनुुसार त्यसरी लामो लाइन हरेक वर्ष हुने गर्दछ ।

कहिले अलि लामो हुन्छ कहिले कम । यस वर्ष मौसमको वीण्डो कम भएका कारण पनि धेरै आरोही एकै पटक माथी जाँदा लाइन लामो देखिएको हो । त्यही कारणले आरोहीको
मृत्यु भएको पनि पुष्टी छैन । आरोहीहरुकै कुरा सुन्ने हो भने आरोहणका क्रममा मर्नुका धेरै कारणहरु छन् ।

फोहरोको कुरा । सगरमाथा फोहोर भएको कुरा सबैले स्वीकार गरेको कुरा हो । त्यही भएर सफाई अभियान पनि बेला बेलामा हुने गरेको छ । आरोहीहरुका अनुसार फोहोर सफा गर्नकै लागि सगरमाथाको आरोहण नै बन्द गर्नुपर्ने अवस्था छैन ।

चैत–बैशाखको सिजनमा सगरमाथाको आरोहण बढी हुने गरे पनि भदौ–असोजमा भने आरोहण कम हुन्छ । हो, त्यही बेला आरोहीहरुलाई सफाईको जिम्मा दिने हो भने सजिलै सफा गर्न सकिन्छ । सगरमाथाको क्याम्प फोर भन्दामाथी धेरै फोहोर रहेको छ । त्यो फोहोर आरोहीहरुले लगेर छाडेका हुन् ।

सरकारले फोहोर नछोडोस् भनेर एक जना आरोहीको बराबर चार हजार डलर डिपोजिट राख्ने गरेको पनि छ । तर, त्यो प्रभावकारी हुन सकेको छैन । बरु त्यो धरौटीलाई हटाएर सफाईको लागि भनेर छुट्टै शुल्क लिने र सफाईको काममा त्यही रकम खर्च गरेर पठाउने हो भने सफा हुने कुरामा अधिकांश आरोहीहरु आश्वस्ता छन् ।

मृत्युको कुरा । सगरमाथा वा अग्ला हिमालको आरोहण जोखिमपूर्ण काम नै हो । कतिपय आरोहीहरु यसलाई युद्धसंग समेत दाँज्दछन् । उनीहरु भन्छन्, कि मर्छ कि बाँच्छ भन्ने कुरा सबैलाई थाहै छ । त्यही भएर आरोहणका क्रममा मान्छे मर्यो भन्ने कुरै हुँदैन । यद्यपी उनीहरुले आरोहणमा मर्नुका धेरै कारण भएको बताउँछन् । उनीहरुको भनाई अनुसार जाममा परेर आरोही मरेका छैनन् । जसरी पनि चढेरै छाड्ने, कम मुल्यमा जाने र आवश्यक तयारी नपुग्ने, दुर्घटना तथा सुरक्षाका उपायहरु राम्रोरी नअपनाउने कारणले मृत्यु हुने गर्दछ । तर, सबै दोष ट्राफिक जामलाई लगाएर बन्द गर्नु पर्छ भन्नु जायज छैन । उनीहरुकै भनाईमा कतिपय शारिरीक रुपमा असक्षमहरु पनि आरोहणमा जाँदा अरुको पनि जीवनलाई जोखिममा पार्ने गरेको बताइन्छ ।

यी प्रमुख विषयहरु बाहेक पनि विशेष गरेर सगरमाथा आरोहणमा देखिएका समस्याहरु छन् । लियजन अफिसरको समस्या पनि टड्कारो रुपमा रहेको छ । लियजन अफिसरहरु तोकिएको क्षेत्रमा पुग्दैनन् । उनीहरुले गर्नुपर्ने कामहरु पनि गर्दैनन् ।

बरु कम्पनीहरुसँगको रकमको बार्गेनिङ गर्छन् । त्यसले गर्दा आरोहणको क्षेत्रमा धेरै समस्याहरु देखा परेका हुन् । सरकारले लियजन अफिसरहरुलाई व्यवस्थित गर्न सकेमा धेरै समस्याहरुको समाधान गर्न सकिने बताइन्छ ।

त्यसैगरी कम्पनीहरुको अस्वस्थ प्रतिस्पर्धा पनि समस्याको रुपमा छ । काठमाडौंमै २५ हजार डलरदेखि एक लाख डलरसम्ममा सगरमाथाको आरोहण प्याकेज चलाउँछन् । कम्पनी सञ्चालकहरु नै यो जतिको लापरवाही र अस्वस्थ प्रतिस्पर्धा कहीनहुने बताउँछन् । कम रकममा आरोहण चलाएपछि विभिन्न क्ुरामा सम्झौता गर्नुपर्ने हुन्छ ।

अन्त्यमा, सगरमाथाको आरोहण बन्द गर्नु कुनै पनि हालतमा समाधान होइन । मुलुकको आरोहणको रोयल्टीको ९० प्रतिशत हिस्सा सगरमाथाबाटै आउने हो । नेपालको पर्यटनको प्रचारमा ठूलो भाग सगरमाथाले नै ओगट्दछ । भ्रमण वर्षका बेला बन्द गर्नु झनै खराव हुनेमा दुईमत छैन ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!