रामदीप आचार्य
के हो जनवादी केन्द्रीयता ?
१. कम्युनिष्ट पार्टी सञ्चालनको संगठनात्मक सिद्धान्त नै जनवादी केन्द्रीयता हो । कम्युनिष्ट पार्टीको सिद्धान्तको आधारशीला मार्क्स र एंगेल्सले कम्युनिष्ट घोषणापत्र मार्फत गरे । मार्क्स र एंगेल्सले संगठनात्मक सवालमा विशद चर्चा नगरी मुख्यतः दुईवटा सवाल मात्र उल्लेख गरेका छन् । एउटा सबै तहका समितिहरु निर्वाचित हुनु पर्दछ र अर्को जसले निर्वाचित गर्दछ पार्टीको आधारभूत हितसँग मेल नखाए उसले फिर्ता बोलाउने अधिकार पनि सुरक्षित गर्नु पर्दछ ।
२. जनवादी केन्द्रीयताको सिद्धान्तको विकास लेनिनले गरे । पुँजीवादबाट साम्यवादमा प्रवेशका लागि एक संक्रमणकालको अवधि हुन्छ र त्यसलाई नै समाजवाद भनिन्छ ।
समाजवादअघिका सबै व्यवस्थाहरु स्वतःस्फूर्त रुपमा स्थापित भएका थिए । समाजवाद योजनाबद्ध रुपमा स्थापित गर्नु पर्दछ । समाजवाद प्राप्तिका लागि पुँजीवादविरुद्ध कठोर संघर्ष गर्नु पर्दछ । त्यो संघर्षको अगुवाइ कम्युनिष्ट पार्टीले गर्नु पर्दछ । त्यो पार्टी निश्चित सिद्धान्तद्वारा सञ्चालित भएर मात्र उद्देश्य पूरा गर्न सक्दछ भन्ने लेनिनको मत थियो ।
२०औं शताव्दीको सबैभन्दा शक्तिशाली बोल्शेविक अक्टोबर क्रान्तिको नेतृत्व गर्ने पार्टी निर्माणको कुशल इञ्जिनियरिङ शुरुमा सन् १९०२ मा के गर्ने भन्ने आफ्नो प्रसिद्ध पुस्तकमार्फत् र पछि मेन्सेविकसँगको वैचारिक संघर्षमा जनवादी केन्द्रीयताको सिद्धान्तको विकास गरे । सन् १९१९ मा कम्युनिष्ट अन्तर्रा्ष्ट्रियको सम्मेलनमा प्रस्तुत दस्ताबेजमा जनवादी केन्द्रियताको थप व्याख्या गरे ।
३. जनवादी केन्द्रीयता विपरीतहरुको एकत्व हो । यी दुई शब्दहरु विपरीत हुँदाहुँदै पनि तिनीहरुमा एकता हुन्छ । स्वतन्त्रता र अनुशासनको एकताले जनवादी केन्द्रीयता बन्छ । यसको सार भनेको छलफलमा स्वतन्त्रता र कामकारवाहीमा एकरुपता भन्ने हो ।
निर्णय हुनुअघि जनवाद प्रधान हुन्छ भने निर्णय भइसकेपछि केन्द्रीयता मुख्य हुन्छ । जति बढी मात्रामा जनवादको अभ्यास हुन्छ उत्तिकै मात्रामा केन्द्रीकरण बढ्दै जान्छ । यसरी पनि भन्न सकिन्छ उच्चतम् स्तरको जनवादले मात्र उच्चतम् स्तरको केन्द्रियता स्थापना गर्न सकिन्छ । जनवाद र केन्द्रीयता, स्वतन्त्रता र अनुशासनको एकताले जनवादी केन्द्रीयता बन्दछ ।
४. तल जनवाद र माथि केन्द्रीयताको सही संयोजन गर्नेबारे सूत्रवद्ध गरियो । व्यक्ति संगठनको मातहतमा हुन्छ, तल्लो समिति माथिल्लो समितिको मातहतमा हुन्छ, अल्पमत बहुमतको मातहतमा हुन्छ, सबै समितिहरु केन्द्रीय समितिको मातहतमा हुन्छ र केन्द्रीय समिति महाधिवेशनको मातहतमा हुन्छ ।
तलको तथ्यमा आधारित रिपोर्टको जगमा उभिएर माथिबाट निर्देशन आयो भने मनोगत हुँदैन भन्ने यसको खास मर्म हो । र, जीवन्त एकताको आधार पनि ।
५. आत्मालोचना र आलोचनाले जनवादी केन्द्रीयतालाई जीवन्त बनाउँछ । आफ्नो समस्याको पहिचान आफैँले गरेर रुपान्तरणको मर्मबोधसहित प्रस्तुत हुने शैली आत्मालोचना हो भने अर्काको समस्या ठिक ढंगले पहिचान गरेर रुपान्तरणका लागि गरिने सहयोग गर्नु आलोचना हो ।
आत्मालोचना गर्दा समस्याको खास कारणमा प्रवेश गर्नु पर्दछ । आत्मालोचनाको नाममा सतही, बनावटी, सहायक विषय प्रस्तुत गर्ने तर सारमा नजाने गर्नु हुँदैन । कतिपय सन्दर्भमा आत्मालोचना भनेको आत्माप्रशंसा जस्तो पनि भएको देखिन्छ, यो हानीकारक छ । त्यस्तै, आलोचना गर्दा रोगीको रोग निको पार्ने उद्देश्यले आलोचना गर्नु पर्दछ न कि रोगीलाई मार्ने ।
आलोचना गर्दा समस्या, समस्याको कारण र समाधान गर्ने तरिका पनि उल्लेख गरेर मात्रै रुपान्तरणका लागि सहयोग गर्न सक्दछौं । समस्यामा हमला त दुश्मनले पो गर्दछ, साथीले त मद्दत गर्दछ । आलोचना गर्दा कुनै वैमनश्यता, प्रतिशोध साध्ने मनसाय नराखिकन तथ्यमा आधारित भएर गर्नु पर्दछ ।
आफूलाई मन परेको साथीले गरेको गम्भीर गल्ती पनि लुकाउने तर मन नपरेको साथीको तिललाई पहाड बनाउने गर्नु हुँदैन ।
६. गुटबन्दीको अन्त्य गर्ने तर विचारधारात्मक संघर्षलाई कायम राख्ने
गुटबन्दी भन्नु र विचारधारात्मक संघर्ष भन्नु एउटै होइन । एउटा जीवन्त पार्टी्भित्र विचारधारात्मक संघर्ष भएन भने पार्टी जीवनको मृत्यु हुन्छ । एउटा जीवन्त पार्टी्भित्र गुटबन्दी भयो भने पनि पार्टी जीवन समाप्त हुन्छ ।
पार्टी्भित्र विचारधारात्मक संघर्ष समाजमा चल्ने वर्ग संघर्षको प्रतिबिम्ब हो भने गुटबन्दी आत्मा केन्द्रित व्यक्तिवादको अभिव्यक्ति । विचारधारात्मक संघर्षले सही र गलतको बीचमा रेखा कोर्दछ भने गुटबन्दीले सही र गलत जे भए पनि अंगिकार गर्दछ ।
७. जनवादी केन्द्रीयता के होइन ?
अराजकतावादी जनवाद र नोकरशाही केन्द्रीयता दुवै होइन । कुनै प्राधिकारलाई अस्वीकार गर्ने, कुनै पनि केन्द्रलाई अस्वीकार गर्ने तर स्वतन्त्रताको मात्र वकालत गर्ने अराजकतावादी जनवाद हो । यसखाले प्रवृत्तिले पार्टी एकतालाई कमजोर पार्दछ । अधिकारको वकालत गर्दा दायित्वलाई नजर अन्दाज गर्न सकिँदैन ।
जिम्मेवारीबोध बिनाको स्वतन्त्रता खासमा स्वतन्त्रता पनि होइन । आफूलाई नै प्राधिकार ठान्ने, अरुको मतको कदर नगर्ने, आदेशको भरमा सबथोक निर्णय गर्न खोज्ने प्रवृत्ति नै नोकरशाही केन्द्रीयतावादी प्रवृत्ति हो । अति केन्द्रीयताले जनता र कार्यकर्ताबाट अलग बनाउँछ । अन्ततः पार्टी एकतालाई नै कमजोर बनाउँछ ।






