नगेन्द्रराज नेम्वाङ
‘स्वस्थ शरीर, सुन्दर अनुहार, आनन्दित मन लिएर बाँच्ने रहर त कसको नहोला र ? यी चाहनाहरु उमेरअनुसार आउने–जाने गर्दछन्’ गुरु डा. योगीविकाशानन्द भन्नुहुन्छ । मानिस जन्मेदेखि २५ वर्षसम्म स्वस्थ नै हुन्छन्, शरीर तन्दुरुस्त, अनुहारमा सौन्दर्य देखिनु, मनमा चिन्ता, तनाव त्यत्ति रहँदैन । उमेरअनुसार स्वास्थ्यको ग्राफ कोर्ने हो भने जन्मेदेखि २५ वर्षसम्म उकालो, २५ वर्षदेखि ४० वर्षसम्म तेस्रो उमेर, ४० नाघेपछि स्वास्थ्य ओरालो लाग्छ । शरीरको आकर्षण घट्दै जान्छ । स्वास्थ्य भत्किँदै जान्छ । आँखाको भिजन मधुरो हुन जान्छ । पेट लाग्ने, मोटोपनको समस्याहरु बढ्दै जान्छ । ४० नाघेपछि स्वास्थ्य खस्के तापनि आत्तिनु पर्ने छैन । दैनिक खानपानमा ध्यान, नियमित व्यायाम, गहन आराम गरी स्वास्थ्यलाभ गर्न सकिन्छ ।
४० नाघेपछि शरीरको पाचन प्रणालीहरु कमजोर हुँदै जान्छ । खाएको खाना सजिलै पच्दैन । मांसाहारीलाई चारखुट्टे जनावर सुंगुर, बाख्रा, भैंसीको मासु लाभदायक देखिदैन किनकि बोसो बढी हुन्छ । स्वास्थ्यको लागि सकेसम्म नखाएकै राम्रो, खाएमा कहिलेकहीं कुखुराको मासु र माछा चाँहि स्वास्थ्यलाई लाभदायक नै मानिन्छ । दूध निलो बिर्को भएको राम्रो मानिन्न त्यसमा फ्याट हुन्छ । सकेसम्म फ्याट नभएको हरियो रातो बिर्को भएको दूध सेवन गर्नु पर्दछ ।
शरीरको साथ हामीसँग मष्तिष्क पनि छ । मष्तिष्क स्वयं चिप्लो भएकै कारण चिप्लो बोसो भएको खानेकुरा शरीर मष्तिष्क दुई वटैलाई फाइदाजनक देखिन्न । शरीरलाई चाहिने चिल्लो पदार्थ मासुबाहेक अरु खानेकुराबाट पनि प्राप्त गर्न सकिन्छ । जस्तै, ओखर, भटमास, बदाम, आबाकाडो, लसुन, प्याजहरु हुन् । दैनिक ५० ग्राम भुटेको भटमास खेवन गर्ने हो भने माछा मासुबाट पाउनुपर्ने प्रोटिन सजिलै प्राप्त गर्न सकिन्छ । दैनिक भोजनमा ६ केस्रा काँचो लसुन सेवन गर्ने हो भने रुघाखोकी लाग्नुबाट सजिलै बच्न सकिन्छ । शरीरलाई नभई नहुनै व्यायाम पनि एक हो । दैनिक ३० मिनेटदेखि ९० मिनेटसम्म व्यायाम शरीरको आवश्यकता हो । दैनिक संभावना भएमा हप्तामा दुईपल्ट समय मिलाएर आफ्नो उमेरको क्षमताअनुसार व्यायाम अनिवार्य गरेमा स्वास्थ्यलाभ गर्न सकिन्छ ।






