साहित्य विधामा नोबेल पुरस्कार विजेता लेखक टोनी मोरिसनको निधन भएको छ। ८८ वर्षीया मोरिसनको न्यूयोर्कस्थित मोन्टफियोर मेडिकल सेन्टरमा सोमबार राती निधन भएको उनको परिवारले जनाएको छ। निधनको यकिन कारण थाहा नभए पनि उनी सामान्य बिरामी भएको बताइएको छ।
मोरिसनलाई अमेरिकामा अल्पसंख्यक समुदायको पक्षमा बोल्ने र लेख्ने लेखकका रुपमा चिनिन्थ्यो। उनले अफ्रिकी-अमेरिकीहरूप्रति हुने रंगभेदी व्यवहार र अन्यायविरुद्ध सशक्त आवाज उठाएकी थिइन्। काला जातिका अमेरिकीहरूले भोगेका विभेद र अन्याय उनका प्रमुख विषयवस्तु हुन्। विशेषगरी काला जातिका महिलाहरूका अनुभव समेटेका उनका किताबले सन् १९३३ मा नोबेल पुरस्कार जितेको थियो।
मोरिसन नोबेल पुरस्कार जित्ने पहिलो अफ्रिकी–अमेरिकी महिला हुन्। ‘द ब्लुएस्ट आई’ उनको पहिलो उपन्यास हो। उनले हालसम्म ११ वटा उपन्यास, केटाकेटीका निम्ति धेरै किताब र निबन्धहरू लेखेकी छन्।






