लन्डन । नेपाली लोक तथा दोहोरी गीतका गायिका मञ्जु बिक र शर्मिला गुरुङ बेलायतमा लामो समय बिताएर नेपाल फर्किएका छन् ।
मञ्जु र शर्मिला बिहीबार नेपाल प्रस्थान गरेका हुन् । सांगीतिक कार्यक्रमका लागि बेलायत पुगेका दुवै गायिकाले त्यहाँ रहेका नेपाली समुदायमाझ आफ्ना प्रस्तुति दिएका छन् ।
मञ्जुले बेलायतमा आयोजित विभिन्न सांगीतिक कार्यक्रममा सहभागी हुँदै नेपाली लोक तथा दोहोरी गीत प्रस्तुत गरेकी थिइन् । उनी गायक विष्णु खत्रीसँगै सृजनशील नेपाली समाज यूकेले आयोजना गरेको ‘नेपाली दोहोरी नाइट’मा प्रस्तुति दिन बेलायत पुगेकी थिइन् । त्यस क्रममा उनले विभिन्न संघसंस्थाका ३० भन्दा बढी कार्यक्रममा सहभागी भइन् ।
त्यस्तै, शर्मिला ग्रेटर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी) को निमन्त्रणामा सांगीतिक कार्यक्रमका लागि बेलायत पुगेकी थिइन् । उनले बेलायतका विभिन्न स्थानमा आयोजित ३०/३२ कार्यक्रममा प्रस्तुति दिँदै नेपाली गीतसंगीतमार्फत नेपाली समुदायसँग जोडिने अवसर पाएकी थिइन् । उनको बिदाइका लागि अक्टोबर ४ मा अल्डरसटमा विशेष भेटघाट कार्यक्रमसमेत आयोजना गरिएको थियो ।
बेलायतमा रहँदा दुवै गायिकाले नेपाली समुदायले आयोजना गरेका सांगीतिक कार्यक्रममा सहभागिता जनाउँदै नेपाली लोकसंगीत र संस्कृतिको प्रवर्द्धनमा योगदान दिएका छन्। उनीहरूको सांगीतिक प्रस्तुतिले प्रवासमा रहेका नेपालीलाई नेपाली गीतसंगीतसँग जोड्ने अवसर प्रदान गरेको छ ।






