काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–२, माथिल्लो भङ्गालबाट प्रहरीले २१ किलो ७५० दशमलव ६८ ग्राम सुन बरामद गरेको छ। बरामद सुनको बजार मूल्य ५४ करोड ६० लाख ७ हजार ३२० रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी सुन बरामद र घटनाको अनुसन्धानबारे जानकारी दिएको हो। प्रहरी टोलीले बिहीबार मध्याह्न चिनियाँ नागरिकले भाडामा लिएको घरबाट सुन बरामद गरेको थियो।
घटनामा संलग्न रहेको आरोपमा तीन जना चिनियाँ नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा २७ वर्षीय हान फेइ, झोउ लङछिन्ङ र छु क्यान रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष खड्काका अनुसार सुन तस्करीमा संलग्न समूहले गत साउनदेखि उक्त घर भाडामा लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घरको मासिक भाडा ३ लाख ३० हजार रुपैयाँ रहेको र समूहले चार महिनाको भाडा अग्रिम भुक्तानी गरेको पाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार समूहले अर्धठोस अवस्थामा सुन ल्याएर उक्त घरमा प्रशोधन गर्ने र बिस्कुट आकारका ढिका बनाउने गरेको पाइएको छ। सुन प्रशोधनमा प्रयोग हुने उच्च तापक्रमयुक्त भट्टी, डिजिटल तराजु तथा विभिन्न मेसिन र उपकरणसमेत प्रहरीले बरामद गरेको छ।
यसैगरी, सुन तस्करीमा प्रयोग गरिएको बीवाईडी गाडी पनि नियन्त्रणमा लिइएको छ। प्रशोधन गरिएको सुन लिएर गाडीमा बाहिर निस्कँदै गर्दा पक्राउ परेका चिनियाँ नागरिकहरूले उक्त गाडी भाडामा लिएर प्रयोग गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
बरामद सुन, गाडी र अन्य उपकरणसहित पक्राउ परेका तीनै जनामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाउँदै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







