काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको मतदान शुक्रबार राति १० बजे सकिएको छ। निर्धारित समयभन्दा सात घण्टा ढिलो मतदान सम्पन्न भएको हो।
बिहानदेखि सुरु भएको मतदानका लागि सुरुमा दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको थियो। तर, निर्धारित समयमा मतदान नसकिएपछि निर्वाचन समितिले पहिलोपटक दुई घण्टा थपेर साँझ ५ बजेसम्म समय तोकेको थियो।
त्यस अवधिमा पनि मतदान नसकिएपछि दोस्रोपटक राति ७ बजेसम्मका लागि समय थप गरिएको थियो। राति ७ बजेपछि भने लाइनमा रहेका प्रतिनिधिलाई मतदान गर्न दिने निर्णय गरिएको थियो। सोहीअनुसार राति १० बजे मतदान सकिएको निर्वाचन समितिले जनाएको छ।
मतदान सकिएसँगै मतपेटिका सिलबन्दी गर्ने काम भइरहेको छ। निर्वाचन समितिले आवश्यक प्रक्रिया पूरा गरेर आजै राति सभापति पदको मतगणना सुरु गर्ने तयारी गरेको छ।
सभापति पदका लागि गगनकुमार थापा र श्यामकृष्ण खड्गी चुनावी प्रतिस्पर्धामा छन्। दुवै उम्मेदवारबीचको प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ।
यसअघि निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले मतदान जारी रहेकाले मतगणनाबारे अन्योल रहेको बताएका थिए। मतदान सम्पन्न भएसँगै अब आवश्यक प्रक्रिया पूरा गरेर मतगणना सुरु गर्ने तयारी गरिएको छ।






