नयाँ दिल्ली । जम्मु–कश्मीर र लद्दाखमा अब द्रुत गतिले विकास हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् । बिहीबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले जम्मु–कश्मीर र लद्दाखलाई केन्द्रअन्तर्गत ल्याउने निर्णयबारे भारत सरकारको आधिकारिक धारणा स्पष्ट गरेका हुन् ।
जम्मु–कश्मीर र लद्दाखका जनता पहिले राष्ट्रिय विकासमा नसमेटिएको बताउँदै उनले केन्द्र सरकारको यस फैसलाबाट जम्मु–कश्मीर र लद्दाखका जनताले भारतका अन्य राज्यझैँ समान हक–अधिकार पाउने बताएका छन्। यसका लागि उनले जम्मु–कश्मीर र लद्दाखका जनतालाई बधाइ पनि दिएका छन् । उनले भने, ‘अनुच्छेद ३७० र ३५ ए बाट जम्मु कश्मीरलाई के लाभ भयो? जम्मु कश्मीरलाई यसले आतंकवाद, परिवारवाद र भ्रष्टाचारबाहेक केही पनि दिएन।’
पाकिस्तानविरुद्ध खरो रूपमा प्रस्तुत हुँदै उनले यी दुबै अनुच्छेलाई शस्त्रका रूपमा प्रयोग गर्दै पाकिस्तानले हिंसा भड्काएको आरोप पनि लगाए। पाकिस्तानी सहयोगमा चलेको आतंकवादले जम्मु–कश्मीरमा ३ दशकमा ४२ हजार मारिएको पनि बताए।‘यस फैसलाबाट जम्मु–कश्मीर र लद्दाखको वर्तमान त सुध्रिन्छ नै,’ उनले भने, ‘यसबाट उनीहरूको भविष्य पनि सुरक्षित हुनेछ।’
संसदले बनाएको कानुन जम्मु–कश्मीरमा लागु नभएकाले त्यहाँका जनता दशकौंदेखि समान हक–अधिकारबाट वञ्चित भएकाले यो फैसला महत्त्वपूर्ण भएको मोदीको तर्क थियो।
चाँडै नै जम्मु–कश्मीरमा नयाँ निर्वाचनमार्फत् राज्यकै मान्यताबमोजिम संसद, मन्त्रिपरिषद्, मुख्यमन्त्री हुने मोदीले बताएका छन्।






