एटा संवाददाता
अल्डरसट । नेपालका वरिष्ठ संगीतकार एंव गायक बिबि अनुरागीले अल्डरसटस्थित एम्पायर हलमा बिशेष प्रस्तुती दिने भएको छ । आउँदो २६ मे शनिबार बेलुकी श्रृजनशिल नेपाली समाज युकेद्वारा आयोजना हुनलागेको ‘बिबि अनुरागीज् ग्रान्ड म्युजिकल नाईट इन दि युके’ नामक साँस्कृतिक साँझमा उनले विभिन्न गीतहरु गाउने भएका छन् ।
श्रृजनशिल नेपाली समाज युकेको दसौं बार्षिकोत्सवको शुभअवसरमा बिशेष अतिथिको रुपमा बेलायत आएका नेपालका चर्चित संगीतकार तथा गायक बिबि अनुरागीले थुप्रै गीतमा संगीत भरेका छन् भने थुप्रै चर्चित गीतहरु श्रोता तथा दर्शक बीच ल्याएका छन् । अत्यन्त सरल स्वभाव, मिहिनति र संगीतका अग्रज अनुरागीले धौलागिरी साँस्कृतिक संगम बाग्लुङ, परिवेश व्याण्ड पोखरा, रेडियो नेपाल हुदै सांगितिक क्षेत्रमा प्रवेश गरेका हुन् । सांगीतिक माहौलमा हुर्केका अनुरागी बाँसुरी, सारङ्गी, किबोर्ड बजाउदै उत्कृष्ट संगीत कम्पोजर बनेका हुन् । थुप्रै चलचित्रमा समेत संगीत भरिसकेका अनुरागीको स्वरमा पनि अत्यन्त मिठास छ । उनकै गीत संगीतले भरिने ग्रान्ड म्युजिकल नाईटमा सहभागी भैदिनहुनका लागि बेलायतमा बसोबास गर्नुहुने सम्पूर्ण संगीतप्रेमी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुका साथै विभिन्न नेपाली संघसंस्थाका अग्रजहरुमा श्रृजनशिल नेपाली समाज युकेका अध्यक्ष धन बहादुर सार्कीले अनुरोध सहित हार्दिक निमन्त्रणा गरेका छन् । 






