नेपालका गृहमन्त्री माननीय सुधन गुरुङले यही २०८३ साल मङ्सिर १७ गते गोरखामा गुरुङ समुदायको मौलिक संस्कार र परम्पराअनुसार आफ्नो विवाह सम्पन्न गर्ने जानकारी सार्वजनिक गर्नुभएको छ। विवाहका सम्बन्धमा उहाँले व्यक्त गर्नुभएको मन्तव्य सुन्दा निकै खुसी लाग्यो। उहाँको अभिव्यक्तिमा आफ्नो मौलिक संस्कृति र परम्पराप्रतिको सम्मान, पुर्खाप्रतिको श्रद्धा, सामाजिक उत्तरदायित्व तथा भावी पुस्ताप्रतिको जिम्मेवारीबोध झल्किएको पाइन्छ।
उहाँले आफ्नो विवाहलाई केवल व्यक्तिगत तथा पारिवारिक खुसीको अवसरका रूपमा मात्र नभई गुरुङ समुदायको मौलिक संस्कार, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने अवसरका रूपमा लिनुभएको देखिन्छ। हामीले आज आफ्नो मौलिक संस्कृति, पुर्खाको इतिहास र परम्परालाई जोगाएनौँ भने भोलिका पुस्तालाई आफ्नो पहिचान र इतिहासका बारेमा के सिकाउने र के हस्तान्तरण गर्ने? भन्ने उहाँको अभिव्यक्तिको मूल भाव निकै मननयोग्य छ। यो सन्देश गुरुङ समुदायका लागि मात्र नभई नेपालका सम्पूर्ण जातजाति तथा समुदायका लागि उत्तिकै सान्दर्भिक छ।
नेपाल विभिन्न जातजाति, भाषा, धर्म, वेशभूषा, संस्कृति र परम्पराले सम्पन्न बहुसांस्कृतिक राष्ट्र हो। प्रत्येक समुदायले आफ्नो मौलिक पहिचानको संरक्षण गर्दै जातीय विविधताबीच अन्ततः हामी सबै नेपाली हौँ भन्ने उहाँको भावना राष्ट्रिय एकता र सामाजिक सद्भावका दृष्टिले प्रशंसनीय छ।
त्यसैगरी, विवाहमा अनावश्यक तडकभडक, देखासिकी र ऋण लिएरसमेत ठूलो भोजभतेर गर्नुपर्ने सामाजिक मानसिकताप्रति उहाँले उठाउनुभएको प्रश्न अत्यन्त सान्दर्भिक छ। विवाह अरूलाई देखाउनका लागि नभई दुई व्यक्ति र परिवारको खुसी, आपसी प्रेम, समझदारी तथा साझा जीवनयात्राको शुभारम्भका लागि हो भन्ने उहाँको सोचले समाजमा सकारात्मक परिवर्तन ल्याउन प्रेरणा दिन सक्छ।
देशको गृहमन्त्रीजस्तो उच्च जिम्मेवारीमा रहेर पनि सामान्य नागरिकसरह सीमित पाहुनाहरूको उपस्थितिमा सरल, मितव्ययी र मौलिक गुरुङ परम्पराअनुसार विवाह गर्ने उहाँको निर्णय उदाहरणीय छ। आफ्नो र भावी जीवनसङ्गिनी दुवैको इच्छाअनुसार यस्तो निर्णय गरिएको उहाँले स्पष्ट पार्नुभएको छ। उहाँले आफ्नो विवाह समारोहमा देशका सम्माननीय प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति आदरणीय रवि लामिछानेसमेत उपस्थित हुने जानकारी गराउनुभएको छ। देशका उच्च तहका नेतृत्वको उपस्थितिमा मौलिक गुरुङ संस्कारअनुसार विवाह सम्पन्न हुनुले गुरुङ समुदायको सांस्कृतिक पहिचानलाई राष्ट्रिय स्तरमा चिनाउन तथा नेपालको सांस्कृतिक विविधताप्रति सम्मान अभिवृद्धि गर्नसमेत योगदान पुर्याउन सक्ने देखिन्छ।
त्यस्तै, गोरखामा विवाह सम्पन्न गर्ने निर्णयसँगै त्यहाँको स्थानीय उत्पादन, कला, संस्कृति तथा ग्रामीण र हिमाली पर्यटनको प्रवर्द्धन गर्ने उहाँको सोच पनि स्वागतयोग्य छ। नेपालका प्राकृतिक सौन्दर्यले भरिपूर्ण ग्रामीण तथा हिमाली क्षेत्रहरूलाई वैवाहिक पर्यटनका आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावनातर्फ उहाँले ध्यान आकर्षित गर्नुभएको छ। यसले स्थानीय अर्थतन्त्र, रोजगारी र पर्यटन विकासमा समेत सकारात्मक योगदान पुर्याउन सक्छ।
उहाँले ल्होछारको महत्त्वलाई स्मरण गर्दै स्थानीय तहसँग समन्वय गरी विभिन्न जातजातिका मौलिक वेशभूषा, कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न सकिने विषयमा पनि प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँको मन्तव्यको सबैभन्दा आत्मीय पक्ष भने आफूलाई गृहमन्त्रीका रूपमा मात्र नभई समुदायको एउटा भाइ, छोरा र नातिका रूपमा प्रस्तुत गर्दै समुदायप्रति हृदयदेखि कृतज्ञता व्यक्त गर्नु हो। आफूलाई नेपाली जनताले देश र जनताको सेवा गर्न जिम्मेवारी दिएको उहाँको अभिव्यक्तिमा विनम्रता र जनउत्तरदायित्वको भावना झल्किएको छ।
आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण भाषण र नारामा मात्र सीमित नराखी आफ्नै जीवनव्यवहारबाट उदाहरण प्रस्तुत गर्नु अझ महत्त्वपूर्ण हुन्छ। पद र प्रतिष्ठाभन्दा संस्कार, सादगी र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिने सोच समाजका लागि प्रेरणादायी बन्न सक्छ।
उहाँले व्यक्त गर्नुभएको सांस्कृतिक संरक्षण, सामाजिक सुधार तथा पर्यटन प्रवर्द्धनसम्बन्धी सोच व्यवहारमा पनि सार्थक बनोस् र भावी पुस्ताका लागि प्रेरणाको स्रोत बनोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु।
अन्त्यमा, गुरुङ समुदायको मौलिक संस्कार र परम्पराअनुसार वैवाहिक जीवनमा प्रवेश गर्न लाग्नुभएका माननीय गृहमन्त्री सुधन गुरुङ तथा उहाँकी भावी जीवनसङ्गिनीलाई अग्रिम हार्दिक बधाईसहित सुखद, सफल, प्रेमपूर्ण एवं मङ्गलमय दाम्पत्य जीवनको हार्दिक शुभकामना व्यक्त
शिब कुमार गुरुङ
निवर्तमान, अध्यक्ष तमु समाज युके






