पुरन गिरी
नवनिर्वाचित अध्यक्ष, अन्तर्राष्ट्रिय पर्वत समाज
विश्वका विभिन्न मुलुकमा रहेका पर्वतेलीहरुको साझा संस्था हो, अन्तर्राष्ट्रिय पर्वत समाज । समाजको अक्टोबर १० (असोज २३ बिहीबार) पर्वत जिल्लाको पैयुँ गाउँपालिका ४ हुवासमा भएको अधिवेशनबाट अध्यक्षमा पुन: पुरन गिरी चयन भएका छन् । दुई वर्षे कार्यकालका लागि फेरि चयन भएका भएका गिरीले संगठनलाई विस्तार गर्ने, विशुद्ध सामाजिक भावनामा प्रेरित गर्दै सस्थालाई अगाडि बढाउने र पर्वतेहरुलाई विदेशिनबाट रोक्न जिल्लामा रोजगारमूलक आयोजनामा लगानीको स्किम ल्याउने सोच बनाएको बताएका छन् । बेलायतमा चर्चित एम्पायर ब्यांक्वेट एन्ड हल, रेस्टुरेन्ट, बारजस्ता हस्पिटालिटी बिजनेस म्यानका रुपमा परिचित अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष गिरीसँग आगामी योजना लगायत विषयमा गरिएको कुराकानी :

अन्तर्राष्ट्रिय पर्वत समाजको अध्यक्षमा चयन भएपछि कस्तो महसुस गर्नुभयो ?
एकदमै प्राउड फिल गरेको छु । फेरि साथीहरुले मलाई दुई वर्षका लागि कन्टिन्यू दिनुभएको छ । यो स्टेजमा आफूलाई एकदमै जिम्मेवारीबोध गरेको छु । पहिलेभन्दा अहिले महत्वपूर्ण जिम्मेवारी आएको छ । पर्वतमा बस्ने पर्वतेलीहरुको इच्छा, आकांक्षा पनि बढेको छ अन्तर्राष्ट्रिय पर्वत समाजले केही गर्छ कि भनेर । त्यसैले मलाई अझै जिम्मेवारीबोध गराएको छ ।
निर्वाचित भएपछि तत्काल के गर्ने सोच पलायो तपाईंमा ?
संस्थागत रुपमा सबै देशलाई जोड्ने पहिलो एजेन्डा छ । दोस्रो, विशुद्ध सामाजिक भावनामा प्रेरित गर्दै अन्तर्राष्ट्रिय पर्वत समाजलाई लैजाने छु ।
तेस्रो, एजेन्डा भनेको, जति पनि पर्वतेलीहरु हुनुहुन्छ, पर्वतको विकासका लागि जिल्लामा भएका सरकारहरुसँग साझेदारी रुपमा लगानीमूलक काम गर्ने पनि हाम्रो योजना छ । जसले एक पर्वतेलाई बाहिर (विदेश) जानबाट रोकोस् भनेर रोजगारमूलक कार्यक्रम पनि नयाँ कार्यसमितिले ल्याउने छ ।
दिनदिनै नेपालीहरु विदेशिनेक्रम बढिरहेको स्थितिमा तपाईंहरुरले कस्तो खाले कार्यक्रम ल्याउनुहुन्छ, उनीहरुलाई रोक्ने ?
हाम्रो योजना भनेको यहाँका स्थानीय सरकार (गाउँपालिका, नगरपालिका) सँग मिलेर, समन्वय गरेर उहाँहरुले हाम्रो लगानीलाई ग्यारेन्टी गर्नुहुन्छ भने, रोजगारमूलक क्षेत्र पहिचान हुन्छ भने, हामी जस्तोसुकै लगानी गर्न तयार छौं । तर, लगानीको ग्यारेन्टी हुनुपर्यो । कुनै झन्झटिलो काम हुनु भएन । लगानी गर्न अन्तर्राष्ट्रिय पर्वत समाजका साथीहरु सबै उत्सुक हुनुहुन्छ । देश विदेशबाट लगानी गर्न पनि हामीलाई प्रोत्साहन गर्नु भा’छ ।
लगानी गर्नेमा कुन कुन क्षेत्रमा बढी चासो छ त ?
हिजो पर्वत विकट जिल्लाका रुपमा गनिन्थ्यो । पर्वत आउँदा मान्छेलाई महापर्वत हो कि भन्ने फिलिङ्स थियो । हामी त्यसलाई चिर्न चाहन्छौं । पर्वत विकट जिल्ला होइन, सुगम जिल्ला हो । अहिले स्थानीय सरकारको आवश्यकता कृषि र पर्यटन लगानीको मन स्रोस देखिएको छ । पर्यटन विकास गर्न सकियो भने पुलैपुलले विकास भएको हाम्रो जिल्ला अनेकौं खालका गुफाहरु, महाशीलादेखि लिएर दुर्लुङकोट, धाइरिङकोट, पञ्चकोटहरुको पनि विकास भएकोले आन्तरिक र बाह्य पर्यटनका लागि आवश्यकता देखिएमा गाउँपालिका वा नगरपालिकाले हामीलाई आह्वान गरेमा हामी लगानी गर्न तयार छौं ।
सरकारले सन् २०२० लाई भिजिट नेपाल मनाउँदै छ । त्यसका लागि अन्तर्राष्ट्रिय पर्वत समाजले के गरिरहेको छ ? के गर्छ ?
नेपाल सरकारले आयोजना गर्ने अन्तर्राष्ट्रिय रुपमा नेपाल भ्रमण वर्षको कार्यक्रमलाई हामी सहकार्य गर्नेछौं । पर्वतेली बसेका ठाउँहरुमा, आफ्ना विदेशी साथीहरुलाई पनि नेपाल जाऔं, भ्रमण गर । नेपालमा यी यी कुराहरु छन् । देख्न पाइने विभिन्न प्राकृतिक कुराहरु छन् । जस्तै, हाम्रो पर्वत जिल्लामा कालीगण्डकी र्याफ्टिङ छ । प्रचारात्मक अभियान गरेर नेपाल सरकारसँग सहकार्य गर्न हामी तयार छौं ।
तपाईंलाई अध्यक्षमा चयन गर्ने पदाधिकारी, सदस्यहरुप्रति कुनै कमिटमेन्ट छ ?
अहिले कुनै किसिमको कमिटमेन्ट गरेको छैन । किनभने अन्तर्राष्ट्रिय पर्वत समाज गैरराजनीतिक र मुनाफामूलक संस्था हो । यो सामाजिक हितका काम गर्ने भएकोले हामीले कुनै खालको कमिट गरेका छैनौं । परिस्थितिले जे उपज गर्छ, त्यसमा हामी निर्भर हुन्छौं । एउटा देशले मागेको खण्डमा, पर्वत, जिल्लाले मागेको खण्डमा जस्तोसुकै काम उठाउँन हामी तयार छौं । हामी लगानी पनि गर्न सक्छौं, सहयोग पनि गर्न सक्छौं । सबै कुरामा हामी कटिबद्ध छौं । त्यसका लागि म लगायत सम्पूर्ण टिम पूर्ण तयारीका साथ जुझारु टिम आएका छौं । सबै साथीहरुले हामीलाई साथ दिनुहुन्छ । अन्तर्राष्ट्रिय पर्वत समाजलाई सहयोग गर्नुहुनेछ भन्ने विश्वास छ ।
विश्वका विभिन्न मुलुकमा जातीय, गैरजातीय संघ संस्था वा समाज गठन भएका छन् । तर, तिनको काम प्रभावकारी भएन भन्ने आवाज पनि सुनिन्छ । के, अन्तर्राष्ट्रिय पर्वत समाज स्थापनाको उद्देश्य पूर्ति भयो भन्ने लाग्छ ?
म दिनभरि सुखशयल दिनभरी भोगेर हिँड्छु तर राति सुत्दा गाउँ देख्छु । सपनीमा मेरो गाउँ, ठाउँ देख्छु । मेरा बुबा आमा पर्वत जिल्लामा हुनुहुन्छ । उहाँहरुको दु:खसुख, पर्वत जिल्लाको माटो । पर्वत जिल्लामा म जहाँ जन्मे, हुर्केको ठाउँ देख्छु । त्यसको मतलब यो हो कि यो मलाई अझै माया छ । सबै पर्वतेहरुलाई पनि हामीलाई जस्तै माया छ । म युरोपमा बसिरहँदा लगानीका कामहरु गरेको छु । अमेरिकामा बस्ने साथीहरुले त्यहीं लगानी गर्नुभएको छ । कोरिया बस्ने साथीहरुले त्यहीं लगानी गर्नुभएको छ । हामी सबै लगानी गर्न सक्छौं । सबै पर्वतेहरुले आफ्नो जिल्ला र नेपालको विकास, समृद्धिको सपना देखेका हुन्छौं, त्यो सबै हामी साकार पार्न चाहन्छौं ।
नेपालमा लगानीको वातावरण बनेको छ भनिएको छ, तपाईंले केही अध्ययन गर्नुभयो कि ?
नेपालमा लगानीको वातावरणबारे मैले अध्ययन गरेको छु । हामी बेलायतमा जसरी बसिरहेका छौं, लगानी गरेका छौं । त्यस किसिमको वातावरण नेपाल सरकारले मिलाइदिनु पर्यो । स्थानीय सरकारले मिलाइदिनुपर्यो । नेपाल सरकारका प्रतिनिधिहरुले । अहिले त गाउँ गाउँमा सिंहदरबार छ । सिंहदरबारको अधिकार गाउँमा छ । सम्बन्धित गाउँपालिकाले, नगरपालिकाले यो किसिमको वातावरण मिलाइदिनु पर्यो । र, उहाँहरुले लगानी गर्न आउनुहोस् भन्नुभयो भने हामी तयार छौं ।
बेलायतमा कुन कुन व्यवसाय चलाइरहनुभएको छ ?
अल्डरसटमा एम्पायर हल सञ्चालन गरिरहेको छु । त्यस्तै बार, रेस्टुरेन्ट चलाइरहेको छु । म आफूलाई हस्पिटालिटी बिजनेसमा पोख्त छु जस्तो लाग्छ । मेरो लाइफको २५ वर्ष हस्पिटालिटी बिजनेसमा बिताएँ । यही विषयमा मास्टरडिग्री गरेको छु । त्यो डिग्री नेपाल र आफ्नो जिल्लालाई दिन तयार छु । त्यो शिक्षा यहाँ दिन तयार छु । त्यो सर्भिस् नेपाललाई दिन तयार छु । यो मेरो जन्मभूमि हो । यो मेरो मातृभूमि हो । मातृभूमिको मायाले मलाई सधैं बोलाइरहेको हुन्छ । सधैं झकझकाइरहेको हुन्छ । मातृभूमिप्रति केही गर्न चाहन्छु । हिजो मसँग परिस्थिति थिएन । विदेशिनु बाध्यता थियो, रहर होइन । अब म विदेश रहनु बाध्यता छैन । इच्छा र आकांक्षाले बसिरहेको छु । अब राष्ट्रले अनुकूल किसिमको व्यवस्था गरेमा, वातावरण बनाइदिएमा हामी फेरि फर्किएर यही ठाउँमा लगानी गर्न तयार छौं । हामीले पाएको २०, २५ वर्षको अनुभव सियर गर्न चाहन्छौ । फेरि माया जोड्न चाहन्छौं । अन्तर्राष्ट्रिय पर्वत समाजमार्पmत फेरि पर्वतेलीहरु फर्किने अभियानमा छौं ।
नेपाल सरकारका प्रधानमन्त्री, मन्त्रीहरुले गैरआवासीय नेपालीहरुलाई देश फर्कन आह्वान गरिरहनुभएको छ । यहाँहरु सर्तसहित फर्कन लाग्नुभएको हो ?
एकदमै हामी फर्किन तयार छौं । उहाँहरु विदेश जानुहुन्छ र हामीलाई भन्नुहुन्छ, ‘तपाईंहरु फर्कनुस् ।’ तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराई मलाई के भन्नुभयो भने, ‘पुरनजी तपाईंजस्तो मान्छे देशलाई आवश्यक छ ।’ पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि त्यही भन्नुभयो । ‘तपाईंहरु फर्किनुस्, त्यही किसिमको वातावरण मिलाउँछौं ।’ तर, जब उहाँहरु विदेशबाट फर्कंदा प्लेन चढ्नु हुन्छ । तब ती सबै कुराहरु बिर्सिदिनुहुन्छ । सायद उहाँहरुको आफ्नै समस्याले होला, त्यस्तो किसिमको वातावरण बनाउनुभएको छैन । भाषणमा तपाईंहरु फर्किनुस्, हामी सहयोग गर्छौं भन्नुहुन्छ । तर, कानुनदेखि अरु सहजीकरणको कुरामा गर्नुहुन्न । जबसम्म त्यो कुरा नेपालका कानुन बनाउने मान्छेहरुले, राष्ट्रका प्रतिनिधिहरुले त्यस्तो खालका वातावरण बनाइदिने हो भने म जस्ता नेपालीहरु आफ्नो गाउँ फर्किन तयार छन् । राष्ट्रले यो कुराचाहिँ बुझ्नु पर्यो । हामी यही देशका नागरिक हौं । हामीलाई यो राष्ट्रप्रति माया छ । बाहिर मुलुक जानु हाम्रो रहर होइन, बाध्यता हो । हामी फर्किनलाई तयार छौं ।
अहिले तत्काल फर्कनमा जटिलता वा अप्ठेरा के अनुभूत गरिरहनुभएको छ ?
लगानीको कुनै ग्यारेन्टी देखिएन । राज्यले त्यो ग्यारेन्टी गर्न सक्नु पर्यो । लगानी गर्दा ग्यारेन्टी हुनुपर्यो । कतिपय कानुन प्रक्रियाहरु झन्झटिला छन् । ती झन्झटिला प्रक्रियाहरुलाई सरकारले चुस्त र दुरुस्त बनाउनुपर्यो । हामी बाहिर बसेका मान्छे हौं । यस्ता झन्झटिला प्रक्रियाबाटै दिक्का मानेर मान्छेहरु थुप्रै बाहिर बसेका छन् । सरकारले अब पोलिसी मेकिङ गर्नुपर्यो । सरल पोलिसी सरकारले निर्माण गरेमा हामी फर्कन तयार छौं ।
नेपाल सरकारका मन्त्रीहरुले यो गर्छौं, उ गर्छौं भन्नुहुन्छ । तर, उहाँहरुले त्यो कुरा देखाउनुभएको छैन । उहाँहरुले यहाँ एनआरएनले लगानी गर्नुस् भन्नुभयो भने, हामी लगानी गर्न तयार छौं ।
तपाईंहरु आफैं फर्किएर लगानी गर्न त चाहनु भएकै छ । अन्तर्राष्ट्रिय लगानी भित्र्याउने पहलचाहिँ कत्तिको गर्नुभयो ?
नेपाल सरकारका जति पनि मान्छेहरु विदेश जानुहुन्छ, उहाँहरुसँग हामीले स्पष्ट कुरा राख्ने गरेका छौं, ‘तपाईंहरु लगानीको वातवारण बनाइदिनुस्, हामी फर्किन तयार छौं ।’ हामीले बारबार भनिरहेका छौं । हामी यही देशका नागरिक हौं, हामीलाई नेपाल सरकारले एनआरएनए नबनाओस् । हाम्रा माग, नागरिकताको प्रत्याभूति गराओस् सरकारले । त्यो ग्यारेन्टी नभएसम्म हामीलाई वातावरण सहज हुन्न ।
नेपाल सरकारले गैरआवासीय नेपालीहरुलाई राजनीतिक अधिकारबाहेकका सामाजिक, आर्थिक, सांस्कृतिक अधिकारसहितको नागरिकता दिने प्रस्तावको विधेयक संसद्मा लगेको छ । त्यसमा यहाँहरु राजी हुनुहुन्छ ?
द्विविधा नेपाल सरकार यस मानेमा नहोस् । हामी हिजोको नेपाली हौं । नेपाली भएर बाँच्न चाहन्छौं । नेपाली भएर मर्न चाहन्छौं । बाध्यताले हामी बाहिर भए पनि हामी यो देशका नागरिक हौं । नेपाली नागरिक भएकोले हामीलाई नेपाल सरकारले अधिकारबाट बञ्चित नगरिदिओस् । दोस्रो दर्जाको नागरिकका रुपमा नराखियोस् । किनभने हामी यो देशका नागरिक हौं । यो देशबाट बाहिरिनु भनेको हाम्रो बाध्यता हो । नेपाल सरकारले नागरिकता सम्बन्धी जुन प्रावधान राखेको छ । त्यसमा हामी सहमत छैनौं । हामी कुनै राजनीति गर्ने मान्छे होइनौं । नेपाल सरकार यो कुरा बुभ्mन जरुरी छ, हामी हिजोको नेपाल, आजको नेपाली, भोलिको नेपाली बनाइयोस् । हामीलाई परदेशी नबनाइयोस् । नेपाल सरकारसँग मेरो र अन्तर्राष्ट्रिय पर्वत समाजको यो जोडदार माग छ । हामी नेपाली हुनुमा गौरव छ । नेपाली भएर जन्मियौं, हामी नेपाली भएर मर्न चाहन्छौं । नेपाल सरकारले यो कुरा बुभ्mन जरुरी छ । सरकारले हामीलाई अधिकारबाट बञ्चित नगराइयोस् ।






