सुधा गुरुङ
काठमाडौं । नेपालमा पहिलो पटक मर्यादित महिनावारी दिवस मनाइने भएको छ । महिला हिंसा विरुद्धको १६ दिने अभियान (२५ नोभेम्बर (१० डिसेम्बर)कै अवसर पारेर ८ डिसेम्बरमा यो दिवस मनाउन लागिएको हो । दिवसको नारा ‘लैंगिकतामा आधारित हिंसा न्यूनिकरण र मानव अधिकारका लागि महिनावारी’ राखिएको छ ।
महिनावारीका विषयमा सरसफाईको दृष्टिकोणले बहस र छलफल भए पनि महिनावारीका कारण महिलामाथि गरिने विभेद, लाञ्छनाहरुबारे अझै धेरै बोल्न पर्ने र जानकारी दिलाइनुपर्ने आवश्यकता भएकोले सो दिवस मनाउन लागिएको कुरा मर्यादित महिनावारी अभियन्ता राधा पौडेलले बताइन् ।
पौडेलले भनिन्, ‘महिनावारी बार्नु नै महिला हिंसा र विभेद हो । महिनावारी कुनै पापको परिणाम नभै एक प्राकृतिक नियम भएकोले सो बेला पनि महिलालाई समान व्यवहार गरिनुपर्छ ।’ डिसेम्बर महिनालाई विश्वभर नै मानव अधिकार महिनाको रुपमा मनाइन्छ, त्यसैले महिनावारीलाई पनि मानव अधिकारसँग जोडेर मनाउन लागिएको हो । मदन पुरस्कार विजेता सामाजिक अभियन्ता राधा पौडेल भन्छिन्, उमेर बढ्दै जाँदा एउटा किशोर पुरुषको दाह्री जुँगा आउँदै गर्दा किशोरीहरु महिनावारी हुने हो तर सो हुँदा किशोरहरुले गर्व गर्ने अनि किशोरीहरु भने अपवित्र हुन भन्दै किन लुक्न पर्ने ? बलात्कारको एउटा प्रमुख कारण यहीं लैंगिक विभेद रहेको कुरा पनि उनले बताइन् ।
सन् २०१४ देखि हरेक वर्षको मे २८ लाई विश्वभर महिनावारी सरसफाई दिवसको रुपमा मनाउँदै आएको छ । नेपाल लगायत विश्वमै मर्यादित महिनावारीबारे आवाज उठाउने पहिलो सामाजिक अभियन्ता राधा पौडेलले नितान्त महिनावारीबारे ‘अपवित्र रगत’ पुस्तक र ‘मर्यादित महिनावारी सबैको जिम्मेवारी’ नामक ह्यान्ड बुक पनि सार्वजनिक गरेकी छन् ।
महिनावारीका कारण हुने विभेदलाई शान्ति, मानव अधिकार, दिगो विकाससँग जोडेर हेर्नुपर्ने र त्यसै अनुरुपको बहस र छलफलको आवश्यकता रहेको बताउँदै सरकारी निकायसँगको सहकार्यमै दिवस मनाउन लागिएको जानकारी उनले दिइन् ।
राधा पौडेल फाउन्डेशनको पहलमा नेपालका विभिन्न जिल्ला लगायत विश्वका विभिन्न देशमा पनि पहिलोपल्ट महिनावारी दिवस मनाइने भएको कुरा फाउन्डेशनले जनाएको छ ।






