काठमाडौँ । १३ औं सागमा नेपालले अहिलेसम्मकै ठूलो सफलता पाएपछि सरकारले विजेतालाई पुरस्कार घोषणा गर्यो । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएर सगौरव गरेको घोषणा एक महिनासम्म कार्यान्वयनमा नआउँदा खेलाडीहरु भने निराश हुन थालेका छन् ।

मंसिर २५ गतेको प्रधानमन्त्रीको घोषणामा स्वर्ण जित्नेलाई ९ लाख, रजतलाई ६ र कास्य जित्नेलाई ३ लाख घोषणा गरिएको थियो । यस्तै, एकभन्दा बढी स्वर्ण जित्नेलाई प्रति स्वर्ण ११ लाख दिने भनिएको थियो । टिमतर्फ स्वर्ण जित्ने प्रत्येक खेलाडीलाई ५ लाखका दरले पुरस्कार दिने जनही पुरस्कारको व्यवस्था गरेको थियो तर सोही टिममा रजत र कास्य जित्नेलाई भने हालसम्म पनि केही व्यवस्था भएको छैन ।
यस विषयलाई लिएर कतिपय खेलाडी तथा प्रशिक्षक घोषणालगत्तै असन्तुष्ट थिए । घोषणा भएको महिना दिन बित्दा पनि घोषित पुरस्कार रकम नपाएपछि खेलाडी झनै रुष्ट देखिएका हुन् । करातेमा स्वर्ण पदक जितेकी कुसुम खड्का भन्छिन्, ‘खोई पाउने हो कि होइन ? सरकारले पुरस्कार घोषणा गरेको एक महिना भईसक्दा पनि अझै केही अत्तोपत्तो छैन ।’त्यस्तै कातामा स्वर्ण जितेको महिला टोलीकी सदस्य संगीता मगर भन्छिन्, ‘सरकारले टिमबाट पनि स्वर्ण जित्नेलाई पनि ५/५ लाख दिने भनेको थियो तर अहिलेसम्म हामीले केही पाएका छैनौं ।’
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवाल खेलाडीलाई घोषित पुरस्कार दिने प्रक्रिया भइरहेको बताउँछन् ।
युवा तथा खेलकुद मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपाने खेलाडीलाई रकम दिने प्रक्रियामा रहेको बताउँछन् । मंसिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालले हालसम्मकै उच्च पदक हात पारेको थियो । नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदक जितेको थियो ।






