फोटो: शिव भण्डारी
लन्डन, २३ अक्टोबर २०२६ । बेलायतस्थित सामाजिक संस्था ग्रेटर रश्मोर नेपाली कम्युनिटी (जीआरएनसी) ले नेपालको रसुवालगायत बाढी प्रभावित क्षेत्रका पीडित परिवारका लागि सङ्कलन गरिएको १४ हजार १९७ पाउन्ड ९ पेन्स (करिब २८ लाख ६७ हजार नेपाली रुपैयाँ) लन्डनस्थित नेपाली दूतावासमार्फत हस्तान्तरण गरेको छ।
शुक्रबार दूतावासमा आयोजित कार्यक्रममा जीआरएनसीकी अध्यक्ष लिला सेलिङ माबो, महासचिव ले. सुनिल राना, सुशिला थापा मगर र श्री प्रसाद माबोले बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीलाई उक्त रकमको चेक औपचारिक रूपमा हस्तान्तरण गरेका थिए।
चेक ग्रहण गर्दै कार्यवाहक राजदूत दुवाडीले सम्पूर्ण दाताहरूप्रति आभार व्यक्त गर्दै प्राप्त रकम यथासक्य चाँडो ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा पुर्याउने प्रतिबद्धता जनाउनुभयो। साथै उहाँले बाढी प्रभावित क्षेत्रमा प्रारम्भिक राहत पुगिसकेकाले अब दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो।
यस अभियानमा बेलायती नेपाली समुदायका साथै फार्नबरो विमानस्थल (सबैभन्दा ठूलो दाता), रश्मोर बरो काउन्सिल, फार्नबरो फुटबल क्लब, रोटरी क्लब, मुस्लिम समुदाय लगायत विभिन्न स्थानीय संस्था तथा गैरनेपाली शुभेच्छुकहरूको उल्लेखनीय सहयोग रहेको थियो।
चाडपर्वको व्यस्तताका बाबजुद सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै अध्यक्ष लिला सेलिङ माबो र महासचिव सुनिल रानाले मातृभूमि विपत्तिमा पर्दा सहयोग गर्नु सबैको साझा मानवीय दायित्व भएको बताएका छन्।
जीआरएनसीको यस पहलले विदेशमा रहेका नेपालीहरूको मातृभूमिप्रतिको माया दर्साउनुका साथै नेपाली र बेलायती समुदायबीचको सद्भाव र सहकार्यलाई थप बलियो बनाएको छ भनेका छन् ।






