परदेशको विवाह

SHARE:

विवाहको निम्तो र इटाली यात्रा
प्रणय राई र श्रेया राईको विवाहको निम्तो पाएपछि मनमा खुसीसँगै इटाली पुगेर विवाह समारोहमा सहभागी हुने उत्साह जाग्यो। तर नेपाली पासपोर्टमा विदेश यात्रा गर्नु त्यति सहज कहाँ थियो र! सेन्जेन भिसाका लागि आवश्यक कागजात जुटाउनेदेखि आवेदन प्रक्रियाका विभिन्न झन्झट पार गर्दै, अन्ततः भिसा स्वीकृत भएपछि मात्र टिकट काटियो। टिकट हात परेपछि भने बल्ल इटाली यात्रा र विवाह समारोहमा सहभागी हुने उत्साहले वास्तविक रुप लिन थाल्यो। नयाँ देश, नयाँ परिवेश र नयाँ अनुभवसँगै आफन्त तथा आत्मीयजनसँग विवाहको खुसी साट्ने कल्पनाले यात्रा नजिकिँदै जाँदा मनमा कौतूहल र उमङ्ग झनै बढ्दै गयो।

इटाली, फानोको विवाह एक अनुभव
विवाह केवल दुई व्यक्तिको मिलन मात्र होइन, दुई परिवार र पुस्तालाई एउटै सूत्रमा बाँध्ने जीवनको विशेष उत्सव हो। आफ्नो जन्मभूमि भन्दा टाढा इटालीको फानोस्थित भिल्ला युलियामा सम्पन्न प्रणय र श्रेयाको विवाह आधुनिक व्यवस्थापन, इटालियन आतिथ्य, नेपाली पारिवारिक आत्मीयता र किराँती संस्कार-संस्कृतिको अनुपम संगम बनेको थियो। ‘प्रणय’ अर्थात् प्रेम र अनुराग, ’श्रेया’ अर्थात् शुभता, कल्याण र उत्कृष्टता-नामझैँ उनीहरूको वैवाहिक यात्रा पनि प्रेम, सुख र समृद्धिले भरिपूर्ण रहोस् भन्ने शुभकामना।

इटाली प्रस्थान र भिल्ला युलियामा स्वागत
विवाह समारोहमा सहभागी हुन हामी ग्याटविक विमानस्थलबाट इजीजेटको उडानमार्फत इटालीतर्फ प्रस्थान गर्‍यौँ। करिब दुई घण्टाको हवाई यात्रापछि रिमिनी विमानस्थलमा अवतरण भयौं। विमानस्थलमा ओर्लिएपछि अध्यागमन तथा बायोमेट्रिक प्रक्रिया पूरा गर्न केही समय लाग्यो। त्यसपछि आयोजकले व्यवस्था गरेको कोचमार्फत करिब एक घण्टाको यात्रापछि फानोस्थित भिल्ला युलिया पुग्यौं।

आ-आफ्नो कटेजको टुंगो लागे पछि कोठामा सामान राखेर स्विमिङ पुलछेउको बारमा जाने निर्देशन भयो। नीलो कंचन स्विमिङ्ग पुलको छेउमा चिटिक्कको सानो बार, अनि अनेक प्रकारका आफ्नो रुचिका पेय पदार्थ। मनमोहक साँझ, पार्श्वमा मधुरो संगीत र मेरो हातमा जिन एन्ड टोनिक, आहा कति रमाईलो क्षण। यो थियो केवल रिसेप्सन ड्रिन्क्स, अनि साथमा टिपनटापन, बल्ल शुरु भयो मिठो भेटघाट र भलाकुसारी। कोहि आफन्त थिए भने कोहि प्रथम पटक बांधिदै थियौं आफन्तको साईनोमा। परिचय, हाँसो, खुशी र आत्मीय कुराकानीले वातावरण क्या रमाईलो। यो आत्मीय स्वागत पछि हामी मुख्य रेस्टुरेन्टतर्फ लाग्यौँ रात्रीभोजका लागि, जहाँ सजाईएको थियो विभिन्न स्थानिय इटालियन परिकारहरु। भोजनपछि फेरि बारमा विभिन्न पेय पदार्थ सहित रमझम चलिरह्यो बिहानको दुई बजेसम्म। त्यो अविस्मरणीय साँझले भोलिपल्ट हुने विवाह समारोह प्रतिको उत्सुकता झनै बढाएको थियो।

विवाहको दिन
८ अक्टोबर, २०२६, विवाहको मुख्य दिन। बिहान ८ देखि १० बजेसम्मको कन्टीनेन्टल ब्रेकफास्टमा थियो अनगिन्ती परिकार र ताजा फलफूल, चिया, कफी, धेरै प्रकारका जुस। विवाहको सबैभन्दा विशेष पक्षमध्ये एक थियो बेहुला, बेहुली र उपस्थित अधिकांश पाहुनाहरू किराँती भेषभूषामा सजिनु। विदेशी भूमिमा आफ्नै जातीय पहिचान झल्किने पोसाक, संस्कार र परम्परालाई यसरी प्रस्तुत गर्दा झल्किएको थियो स्वदेशी रौनकता। म बेहुला पक्षबाट ‘कलिया’को भूमिका निर्वाह गर्दै थिएं जीवनमा पहिलो पटक। त्यसैले विवाहलाई परम्परागत विधि अनुरुप बेहुला पक्षको कलियाको भुमिका निभाउने जिम्मेवारी आयो म मा। दिउँसोको भोजनपछि सुरु भयो औपचारिक विवाह समारोहको तयारी।

बेहुली पक्षका कलियाका रूपमा बेहुलीकै काका हुनुहुन्थ्यो। प्रथम पटकको जिम्मेवारी वहन गर्ने प्रयास थियो मेरो। त्यसका लागि रेष्टुरेन्टकै काउचमा बसेर कलिया र बेहुलीका बाबासंग जिम्मेवारी र कार्यविधिका विषयमा छलफल भो कफिको साथमा। विशेष प्रतिकुल मौसमका कारण पुर्व निर्धारित समय र स्थानमा कार्यक्रम संचालन गर्न नमिले पछि बैकल्पिक स्थानमा नयाँ सेटिङ्ग मिलाउने काम गर्नु पर्दा केहि ढिला हुन गएको थियो। तर त्यहाँका स्टाफहरुको दक्ष कार्यशैलीले गर्दा एकैछिनमा ब्यवस्था गरि केहि ढिला भएपनि कार्यक्रम अगाडी बढाउन बैकल्पिक स्थानमा सेटीङ्ग छिट्टै गरी दिए। बाहिरको मनमोहक दृष्यमा गरिएको योजना सफल नहुंदा अलिकति खल्लो महसुस त भएकै हो तर प्रकृतीको सामु कसैको केहि लाग्दैन।

निर्धारित तालिका अनुसार बेहुला लिएर जन्ती जाने, जन्ती पर्सिने, मण्डपमा जन्ती र बेहुलालाई राखे पश्चात किराँती मुन्धुमी गीतको धुनसंगै बेहुलीको आगमन हुन्छ। बेहुलीको आगमन पश्चात स्वयंवर, औंठी साटासाट, बाग्दत्ता र सिन्दूर पोतेको कार्यक्रम, सम्धी सम्धीनि बिच चिनो साटासाट, साइनो केलाएर ढोगभेट तथा चिनजान र शुभकामना आदानप्रदान लगायतका परम्परागत कार्यहरु किराँती संस्कारमा आधारित प्रक्रियाहरु थिए। यी विधिहरु केवल विवाहका औपचारिक प्रक्रिया मात्र थिएनन्, तिनमा परिवार र नातागोता बीचको सम्बन्ध, सामाजिक जिम्मेवारी, आशीर्वाद र पुस्तौं देखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक पहिचान जोडिएको थियो। विदेशको भूमिमा पनि यस्ता विधिलाई यथोचित सम्मान र व्यवस्थित ढङ्गले सम्पन्न गर्ने सुयोग र साक्षी बन्न पाउँनु हाम्रो अहोभाग्य हो।

विवाहका परम्परागत विधिहरु सकिएपछि स्याम्पेन टावर सेरेमनी भयो, वाह…। बेहुला र बेहुलीको बाहुलीबाट स्याम्पेन बाँढिए पछि चियर्स….कल्पना गरौं त! अब शुरु भयो विवाह उत्सवको वास्तविक पार्टी। सबै जना बारको वरिपरी रमाउंदै नव-विवाहित जोडीसंग फोटो खिच्न केहि बेर ब्यस्त, अनि बन्दै गयो विवाहको उल्लासपुर्ण वातावरण, स्वादिष्ट खानेकुरा, रमाइलो वातावरणले माहोल बन्यो झन् उत्साहमय। अनि छिर्यो कार्यक्रमले अर्को चरणको द्वार।

रात्रिभोज र उत्सवमय रात
संस्कारी माहोलको विवाहपछिको साँझ थियो औपचारिक रात्रिभोज। भोजका लागि पहिरन फेरेर चिटिक्क सुट तथा सुन्दर पोसाकमा सजिँदै निर्धारित समयमा पुग्यौं तयार गरिएको खुला मार्की भित्र। त्यहाँ व्यवस्थित सिटिङ प्लानअनुसार आ-आफ्नो टेबलमा भयो बसाई। सजाईएका थिए टेबलहरु ताजा फूलका गुच्छाहरुले। टेबलमा रातो वाईन र कुलरमा चिसो वाइनले पाहुनाहरुलाई स्वागत गरेको आहा…कति व्यवस्थित प्रितीभोज। दिउँसोको स्याम्पेन समारोहदेखि सुरु भएको उत्सवको रौनकता अझ चुलिंदै गएको थियो साँझ पख। कार्यक्रमको शुरुवात भयो सबै पाहुनाहरु आ-आफ्नो स्थानमा बसेपछि परिचयात्मक कार्यक्रमबाट। त्यसपछि दक्ष वेटरहरूले पस्किन थाले स्वादिष्ट स्थानीय इटालियन परिकारहरु। क्रमशः स्टार्टर, मुख्य भोजन र डेजर्टसहितको व्यवस्थित भोजले पाहुनाहरूलाई दिएको थियो इटालियन खानपानको स्वाद लिने मौका। भोजनको समयमा भावुक मन्तव्य सुन्यौं बेहुला र बेहुलीका बाबा, आमा, दिदी र साथिहरुबाट। विशेष ज्यादै मिठा र भावुक थिए बेहुला र बेहुलीका विगतलाई उहाँका साथिहरुले खोल्नु भएको सम्झनाका पोकोहरु। उक्त साँझ बेहुलाको तर्फबाट दिदी शशिकला राई, साथि प्रदिप मगर, दिदी कुसुम राई, बाबा पदम राई तथा बेहुलीको तर्फबाट साथी प्रेरणा कार्की र बाबा दुर्गाबहादुर राईले बोल्नु भएको थियो नोस्टाल्जिक भावनाका लहरहरु। अन्त्यमा बेहुला प्रणयले आभार व्यक्त गर्दै धन्यवाद दिए विवाहमा उपस्थित भएका सम्पूर्ण पाहुनाहरुलाई अन्तर्मनबाटै। उनका शब्दमा स्पष्ट झल्किन्थ्यो परिवार, आफन्त र साथीभाइ प्रतिको सम्मान तथा जीवनको नयाँ मोडमा प्राप्त भएको पारिवारिक साथ र सहयोगको खुसी। औपचारिक रात्रिभोज पछि उत्सवमा अझ जीवन्त थपिंदै गयो बारको मुख्य हलमा गीत संगीत र नाचगानले। पिउने, नाच्ने, रमाउने र एकअर्कासँग खुसी साट्ने क्रम चलिरह्यो रात निक्कै रात छिपी सक्दा सम्म। के जेठो, के कान्छो, के वालक, के वयस्क, के बृद्ध सबै एउटै स्टेजमा रमाइलो नाचगानसाथ विवाह उत्सव भव्यताका साथ मनायौं, भक्कु खयौं, पियौं अनि रमायौं।

व्यवस्थापन र पाहुना प्रतिको सम्मान
यस विवाहको अर्को उल्लेखनीय पक्ष थियो सुरुदेखि अन्त्यसम्मको व्यवस्थापन। आवास, भोजन, यातायात, विवाहका विधि, औपचारिक रात्रिभोज र पाहुनाहरूको सुविधालाई योजनाबद्ध ढङ्गले मिलाइएको थियो। विदेशमा ठूलो सङ्ख्यामा आफन्त र साथीभाइलाई निमन्त्रणा गरेर यस्तो समारोह आयोजना गर्नु आफैँमा चुनौतीपूर्ण काम हो। तर यो कुरा बेहुला बेहुलीको संयुक्त प्रयासमा सम्पुर्ण जिम्मेवारी वहन गरी पाहुनाहरुको सुविधामा कुनै कमी हुन नदिनु व्यवस्थापन कलाको एक सवल पक्ष हो। आवासदेखि यातायातसम्मको व्यवस्था, समयतालिकाको समन्वय र विभिन्न उमेर समूहका पाहुनालाई ध्यानमा राखिएको आतिथ्यले आयोजक परिवारको लगनशीलता र उदारता स्पष्ट झल्किन्छ। पाहुनाको उमेर, रुचि र आवश्यकतालाई ध्यानमा राखेर गरिएको यस्तो व्यवस्थापन साँच्चिकै प्रशंसनीय कार्य हो भन्नुमा अत्युक्ति हुदैन। ५६ जनाको लागि खाने, पिउने, बस्ने सम्पुर्ण कुराहरुको व्यवस्थापन गर्नु सानोतिनो प्रतिद्धता हैन त्यो पनि इटालीको फानोमा।

बोलोग्ना हुँदै बेलायततर्फ
अक्टोबर ९, २०२६ – बिहान ८ देखि १० बजेसम्मको खाजापछि ११ बजे कोठा छोड्ने समय तोकिएको थियो। अन्तिम बिहान पनि सदा झैं सबैजना एकै ठाउँमा भेला भएर सदा झैं खाजा खाने क्रम भयो। कोहि अघिल्लो रातको रमझमले भारी टाउको लिएर कडा कफीको सहारा लिँदै थिए। त्यसबाट लख काट्न सकिन्थ्यो अघिल्लो रातको रमझम कति रमाइलो थियो भनेर। कोठा वा कटेजका साँचो बुझाएर आ-आफ्नो लगेज लिएर निर्धारित स्थानमा कोचको पर्खाईमा बस्यौं। फर्कने उडान फरक–फरक समयमा भएकाले कतिपय पाहुना ट्याक्सीमार्फत आ–आफ्नो गन्तव्यतर्फ लागे। हामी भने बेहुला–बेहुली सहित एउटै फ्लाईटमा फर्कने भएकाले व्यवस्था गरिएको कोचद्वारा बोलोग्ना एयरपोर्ट तर्फ हानियौं। करिब दुई घण्टाको यात्रापछि बोलोग्ना विमानस्थल पुग्यौँ। फर्कने क्रममा हामीले ब्रिटिश एयरवेजको उडान रोजेका थियौं। हाम्रो गन्तव्य हिथ्रो विमानस्थल थियो भने अन्य केही पाहुनाको उडान स्टान्स्टेड विमानस्थलका लागि थियो। उडानको समय कुर्दै विमानस्थलमा कफी र केही खानेकुरा खायौं। चेक–इन खुल्ने समय भएपछि लगेज बुझाएर अध्यागमन प्रक्रिया तर्फ लाग्यौं। लामो पङ्क्तिमा बसेर बायोमेट्रिक जाँच पार गरेपछि प्रतीक्षालय पुग्यौं। केही ढिलाइ भए पनि अन्ततः विमानमा चढ्यौं र करिब दुई घण्टापछि हिथ्रो विमानस्थलमा अवतरण भयौं। त्यहाँ पनि अध्यागमनको लामो लाइन पार गरेर लगेज लिएपछि ट्याक्सीमार्फत प्रिमियर इनतर्फ लाग्यौं। विवाह समारोहमा सहभागी धेरै पाहुनाका लागि बेहुलाले त्यहाँ कोठाहरूको व्यवस्था गरेका रहेछन्। विवाहले इटालीको पहिलो चरणको पुर्णता पाए पनि बेलायत फर्किएपछि किराँती संस्कार अनुसार बेहुलीलाई बेहुलाको घर भित्र्याउने महत्त्वपूर्ण विधि बाँकी नै थियो।

बेहुली भित्र्याउने विधि
बेहुलाका आमाबुबा, दिदी, भेना तथा केही आफन्त पहिलो उडानबाटै आइपुगेर घरमा आवश्यक तयारीमा लागेका थिए। दोस्रो उडानबाट आएका बेहुला बेहुली लगायत हामीलाई दिपक (बेहुलाका भेना) ले प्रिमियर इनमा लिन आए। पुर्ख्यौली टेकबहादुर राई र आदर्श राईको अगुवाइ तथा निर्देशनमा बेहुलीलाई सङ्घार र दलानबाट परम्परा अनुसार स्वागत गर्दै घरभित्र प्रवेश गराइयो। त्यसपछि माइती पक्षबाट बाग्दत्ता दिएर बिदा गरी पठाएको छोरीलाई बुहारीका रूपमा नयाँ घरमा स्वागत गर्ने प्रक्रिया सम्पन्न भयो। बुङ्गलावा राई समुदायको रीतिरिवाज अनुसार बेहुलीलाई घरमा भित्र्याउने विधि हेङ्गखुवाको प्रकृयालाई जाने सके सम्म स्थान र परिवेश अनुसार सम्पन्न गरियो। चुलामा चढाउने, धनसार देखाउने, घरको जिम्मेवारी सुम्पने, टीकाटालो गर्ने र आशीर्वाद दिने जस्ता महत्त्वपूर्ण विधिहरु पूरा गरियो। यी संस्कारले विवाहलाई केवल सामाजिक समारोहमा सीमित नराखी परिवार, पुर्खा, परम्परा र नयाँ सम्बन्धको निरन्तरतासँग जोड्न सफल भएको यो विवाह हामी सबैका लागि विशेष रह्यो। इटालीमा भव्य रुपमा सम्पन्न भएको विवाहलाई बेलायतमा पुर्ख्यौली संस्कार अनुसारको विधिले घर भित्र्याएर पूर्णता पाएको थियो। अन्ततः किराँती प्रथा जन्म मृत्युको प्रसाद कोदो कोदोको रक्सी सगुन पिउँदै कार्यक्रमको समीक्षा र दिनभरिका अनुभव आदान प्रदान गरियो। हाँसो, आत्मीय कुराकानी र एक इतिहास रचेको सम्झनाहरु साटासाट गर्दै रात निकै छिप्पिएपछि हामी प्रिमियर इनतर्फ फर्कियौँ।

बिदाइ र सम्झनाहरु
भोलिपल्ट बिहान पुनः भेटघाट खाजा र धन्यवाद आदान प्रदानसँगै लामो भलाकुसारी सुरु भयो। विवाहका अनुभव, यात्रा, परिवार र भविष्यका योजनाबारे कुरा गर्दै पुरै दिन बिताईयो। दिउँसोको भोजन र बिहे घरको अन्तिम खाना खाएर ट्याक्सीमा आ-आफ्नो घरतर्फ लाग्यौँ। यसरी इटालीको फानोमा सुरु भएको विवाह समारोह, बेलायतमा दोश्रो चरणको बेहुली भित्र्याउने विधि पुरा गर्दाको अनुभव र पारिवारिक भेटघाटले जीवनभर सम्झिरहने अनुपम अवसर हामीलाई प्राप्त भयो।

संस्कृति संरक्षण र नयाँ पुस्ताका लागि प्रेरणा
समग्रमा प्रणय राई र श्रेया राईको विवाह एउटा भव्य समारोह मात्र थिएन। विदेशमा रहेर पनि आफ्नो संस्कार, संस्कृति र पहिचानलाई जीवित राख्न सकिन्छ भन्ने सन्देश दिने ऐतिहासिक र स्मरणीय अवसर थियो। इटालीको सुन्दर वातावरणमा आधुनिक शैलीको विवाह आयोजना गर्दै किराँती परम्पराका विधिहरुलाई उचित स्थान दिनु प्रशंसनीय प्रयास थियो। बाजेबज्यै, आमाबुबा, छोराछोरी र नाति नातिनासम्मका पुस्ता एउटै समारोहमा सहभागी हुनु आफैँमा महत्त्वपूर्ण पक्ष थियो। यस्ता अवसरले नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कारसँग परिचित गराउनुका साथै पारिवारिक सम्बन्ध, सामाजिक सद्भाव र सांस्कृतिक निरन्तरताको महत्त्व पनि बुझाउँछन्। यो विवाहले बुङ्गलावा परिवारमा एउटा ईतिहास लेखिएको छ भन्नुमा कुनै अत्युक्ति नहोला। विदेशमा यस्तो विवाह आयोजना गर्नु सजिलो काम होइन। विभिन्न समस्याका बाबजुद पनि टाढा टाढाबाट आउने पाहुनाको यात्रा, आवास, खानपान, यातायात, समयतालिका र सांस्कृतिक कार्यक्रमको समन्वय गर्नु चुनौतीपूर्ण काम हो जसलाई सहजरुपमा व्यवस्थित र अविस्मरणीय प्रकारले सफलतापुर्वक समन्वय गरी सम्पन्न गर्नु ज्यादै सह्रानिय र उदाहरणिय काम हो। सम्पूर्ण यात्रालाई सुरुदेखि अन्त्यसम्म सहज बनाउनुमा प्रणय र श्रेयाको परिवार विशेष धन्यवादका पात्र छन्। मृदुभाषी, भद्र तथा सालिन व्यक्तित्व बेहुला प्रणय र बेहुली श्रेयाको यो शुभकार्यमा सहभागी हुन पाउनु हाम्रो सौभाग्य हो। जीवनको यस्तो महत्त्वपूर्ण समारोहमा निमन्त्रणा पाउनु र परिवारको आत्मीयताको हिस्सा बन्न पाउनु हामी सबैका लागि गर्व र खुसीको विषय हो।
अन्त्यमा, प्रिय काका प्रणय र काकी श्रेया तपाईंहरुको वैवाहिक जीवन सधैँ सुखमय, सौहार्दपूर्ण, प्रेमपूर्ण र सुन्दर रहोस्। जीवनका हरेक मोडमा एकअर्काको परिपुरक, सम्मान र विश्वास कायम रहोस्। तपाईंहरुको घरपरिवार सधैँ हाँसो, खुसी, समृद्धि र आत्मीयताले भरिपूर्ण रहोस्।
हार्दिक बधाई तथा सुखद दाम्पत्य जीवनका लागि अनन्त शुभकामना!

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!