दुई थरका चेपुवामा गुरुङहरू

SHARE:

चन्द्र गुरुङ, मान्बु, गोरखा
आफ्नो जातीय इतिहास, संस्कार –संस्कृति र अस्तित्व प्रतिको अलिकति पनि हेलचेक्र्याइँले समयक्रमसँगै के–कस्ता जटिल समस्याहरू उत्पन्न गर्न सक्छन् र भावी पुस्तालाई कतिसम्म गाह्रो स्थितिमा पार्न सक्छन् भन्ने उदाहरणहरू प्रशस्तै छन् । जस्तै कि दुरा भाषा बोल्न जान्ने अहिले लमजुङ दुराडाँडाकी बयासी वर्षकी एक्ली सोममाया दुरामात्र हुन् । ह्योल्मोहरू तामाङ हुन् वा कुनै छुट्टै जाति भन्नेबारे ठूलै विवाद मच्चिएको छ । ‘राई’ जातअन्तर्गत पर्ने थुप्रै जातिहरू, यिनमा विधमान भाषीय विविधताले गर्दा, छुट्टै सूचीकरणका लागि लडिरहेका छन् । राउटे, कुसुण्डा र मुण्डा आदि जातजातिहरू संकटग्रस्त अवस्थामा पुगिसकेका छन् ।

शाहवंशीय तथा राणाशासनकालमा पाएका पदवी र सम्मानलाई नै आफ्नो जातीय पहिचान बनाएर हिँडेकाहरू आज बडो अप्ठ्यारो र दुविधापूर्ण स्थितिबाट गुज्रिरहेका छन् । उनको लागि त्यो पदवी ‘पद’ निल्नु न फाल्नु भइसकेको छ । नेपालमा जति पनि जातीय समस्याहरू आज देखा परेका छन् तिनका मूल कारण चाहिँ हाम्रा शासकवर्गले विगतमा विभिन्न जातजाति र आदिवासी समूदायहरूमाथि थोपर्न खोजेको हिन्दूकरणनीति नै देखिन्छ । र, यस क्रममा थुपै जातजातिको जातीय इतिहासलाई ती शासकवर्गले होसियारीपूर्वक नष्ट गरिदिए या ओझेलमा थन्काइदिए । हुन त, प्रायःजसो जातीय इतिहासमा यस प्रकारका उतारचढाव, फेरबदल र अप्ठ्यारो स्थिति आउने नै गर्छ । तर बेलैमा पुर्‍याइएको सजगताले यस्ता खाले समस्यालाई रोक्न मात्रै होइन समयमै चिनेर निदान गर्न पनि सकिन्छ । यसको निम्ति ती जातजाति र समुदायभित्रका सदस्यहरूले आफ्नो जातीय अस्तित्वलाई जोगाउन आवश्यक कदमहरू चाल्नु पर्छ र जिम्मेवारीबोध गर्नु पर्छ । हाम्रो देश नेपालको सन्दर्भमा २०४६ सालको जनआन्दोलनपछि थुप्रै जातजातिमा आफ्नो पहिचान र अस्तित्व खोज्ने क्रम सुरु भयो । र, विसं २०६२–६३ को दोस्रो विशाल जनआन्दोलनले यो दौडलाई थप उचाईमा पुर्‍याएको छ ।

अन्य जातजाति र समुदायहरूमाझै गुरुङ (तमु) समाजमा पनि थुप्रै मोड र आरोह–अवरोहहरू आएका छन् । भन्नु नै पर्दा, अचेल हाम्रो गुरुङ (तमु) जाति थुप्रै विसंगति र समस्याहरूसित एकैसाथ लड्दै छ । बेलैमा होस नपुर्‍याए यिनले भविष्यमा हाम्रो जातीय पहिचानमाथि ठूलो कुप्रभाव पार्न सक्दछन् । आजको हाम्रो गुरुङ समाज कठोरपूर्ण संस्कृतिक विचलनदेखि लिएर आधुनिकीकरणसम्मको मार एकैसाथ खेप्दै छ । तर यस लेखको आशयचाहिँ गुरुङ (तमु) समाजमा विस्तारै सल्किरहेको निकै गहन समस्याको बारेमा छलफल गर्नु हो । र त्यो आगो हो, हामी गुरुङहरूले आ–आफ्नो नामको पछाडि ‘तमु’ लेख्न सुरु गरेर उत्पन्न स्थिति । हुन त प्रदीप थापा मगर आफ्नो कृति ‘को हुन् जात फेर्नेहरू ?’ मा लेख्नु हुन्छ– ‘गुरुङहरूले ‘तमु’ लेख्ने चलन चलाउनु र राईहरूले ‘किराती’ लेख्ने परम्परा बसाल्न,ु थाल्नुलाई भने आफ्नो पुख्र्यौली कूलमा फर्किने अभियान मान्नुपर्छ ।” साँच्चै, आफ्नो जातीय विगत र सांस्कृतिक इतिहासलाई माया गर्नुलाई कसैले पनि नराम्रो र असंगतपूर्ण कदम मान्दैन पनि । तर त्यो क्रममा हामी धेरै होसियार हुनु पर्छ । सबैभन्दा पहिले त हामीले यो तथ्यको जानकारी राख्नु पर्ने हुन्छ कि के साँच्चै हामी गुरुङ होइन तमु हौं अथवा गुरुङको ठाउँमा तमु लेख्ने चलन एउटा लहडमा मात्रै सीमित छ ।

खोजको सिलसिलामा, डिल्लीजङ तमु आफ्नो कृति ‘तमु जातिको लुकेको इतिहास” मा लेख्नु हुन्छ– ‘तमु भाषामा राजालाई ‘मु्र’ भनिन्छ भने जातिको नाम पनि तमु नै रहेको देखिन्छ । ‘त’ पछि थपिएको पनि हुन सक्दछ अथवा ‘त’ पछि लोप भई ‘म’ मात्र रहन गएको पनि हुन सक्दछ ।” केही इतिहासकारहरूले त ग्याल्बु थोबु नामक तिब्बती महाराजाको आदेशलाई तमु (नेपाली अर्थ हुन्छ) भनी समर्थन गरेकोले जातको नाम नै ‘तमु’ रहेको हो भन्छन् । तर यस प्रकारका भनाइहरूमा बिल्कुलै पनि दम छैन । राजाले दिएको खाने कुरा हातमा थाप्दा जातको नाम नै ‘थापा’ हुन गएको र राजासित आफ्नो लागि जात माग्दा राजाबाट जातको नाम नै ‘तामाङ’ हुन गएको भनेझैं हामी गुरुङहरूले पनि राजाको कुराको समर्थनमा तमु (हुन्छ) भन्दैमा सम्पूर्ण जातको नाम नै ‘तमु’ पर्न गएको जस्ता किंवदन्तीमा विश्वास गर्न सकिँदैन । आजको मितिसम्ममा गुरुङ समुदायमाथि सबैभन्दा राम्रो र विश्वासिलो अध्ययन गरेका फ्रान्सेली समाजशास्त्री बर्नाड पिगनेडको अनुसार ईसा पूर्व १,००० तिर हाम्रा पूर्वजहरू पूर्वी तिब्बतको चाम्डो नामक ठाउँबाट पश्चिमतिर गएर लोखा क्षेत्रको यारलुङ घाटी आइपुग्दा तमु (टुबो) भनेर चिनिन्थ्यो । प्रसिद्ध तिब्बती राजा सोङक्षण (श्रं चं) गम्पो टुबो वंशका राजा थिए । यिनले १३ वर्षको उमेरमै गद्दी सम्हाल्न पर्‍यो । यिनले ६४१ ई. मा ताङ सम्राट ताइजोङ्गकी पुत्री राजकमारी वेन्चेङ्ग (स्वेततारा) लाई बिहेगरी रानी बनाए । त्यसभन्दा अघि नै श्रं चं गम्पाले नेपालकी राजकमारी भृकुटी (हरिततारा) लाई बिहे गरिसकेका थिए । यिनैले ल्हासालाई तिब्बतको राजधानी बनाएका हुन् । यो टुबो वंशीय राजाहरूले लगभग २०० वर्षसम्म तिब्बतमा राज्य गरे ।

प्रदीप थापा मगरको सोही किताबमा लेखिएको छ– ‘पश्चिम १ नं धादिङ, नुवाकोटतिर गुरुङलाई तामाङहरूले ‘ग्रोङ’ नै भन्छन् ।” गुरुङ शब्दको बारेमा भन्नुपर्दा थुप्रै इतिहासकारहरू ‘ग्रोङ’ बाट गुरुङ भएको कुरा मान्छन् । प्रसिद्ध किराती इतिहासकार इमानसिङ चेम्जोङ भन्छन्, गण्डकी प्रदेशमा गुरुङहरूको आफ्नो भू–भाग ओगटेर बस्नु भन्दा पहिले नै गुरुङ जातिको अस्तित्व ग्यारोङ जातिको रुपमा आइसकेको थियो । सातौं शताब्दीतिर नेपाल अधिराज्यको पूर्वदेखि पश्चिम गण्डकीसम्म यिनै रोङ जाति तथा वर्गको बोलवाला तथा प्रभुत्व थियो । त्यसबेला लेप्चा जातिहरू सामूहिक रुपमा मुतान्चीरोङ नामले चिनिन्थे, राई–लिम्बू जातिहरू लुुरोङ र हालका गुरुङहरू ग्यारोङ नामले चिनिन्थे । डा. हर्क गुरुङका अनुसार– तिब्बतको उत्तरतिर कोको नोर (ताल) वरिपरि रहेका सात जातिहरूमध्ये एउटा जाति ग्यारोङ थिए र सातौं शताब्दीमा तिनीहरू युनानतर्फ लागे । पछि सोङक्षण (श्रं चं) गम्पोको फौजमा सामेल भएर पश्चिम हानिए । कसै–कसैले त तिब्बतबाट आएको मोनानाइ नाम गरेको एक जना तिब्बतीका दुइभाइ छोरा थिए र त्यसमध्ये एक जना गुरुप्पा थिए र तिनै गुरुप्पाको छोरा आजभोलिका गुरुङहरू हुन् सम्म भनेका छन् ।

तमु शब्दको अर्थ केलाउने क्रममा थोम्र्यों (दौंतारी) वैशाख–जेठ २०६५को अंकमा प्रा.नारायण ल्हेंगे गुरुङ लेख्नुहुन्छ–‘गुरुङ भाषामा ‘ताइ’ भनेको माथि र ‘मू’ भनेको बसोबास गर्ने हुन्छ । अर्थात् ‘ताइमू’ माथिल्लो भेगमा बसोबास गर्ने भन्ने अर्थमा ‘ताइमू’ (माथि लेकमा बसेको) बाट ‘तमु’ शब्द बनेको हो । तमुको अर्थ लेकाली भन्ने हो ।” सोही लेखमा उहाँ अगाडि लेख्नुहुन्छ कि–“गण्डकी क्षेत्रमा गुरुङका नौवटा कबिला गणराज्य थिए । ती नौ कबिला प्रमुखलाई गुरुङ भाषामा कु क्रोंहो (नौ मुखिया) भनिन्थ्यो । गुरुङ भाषामा कु को अर्थ नौ र क्रोहोंको अर्थ मुखिया हो । यसरी गुरुङ भाषाको कु खस भाषामा गु र क्रोहोंको रो तद्भव गुरोङ भयो र गुरोङको तद्भव गुरुङ भयो ।

अर्का इतिहासकार एवं लेखक जनकलाल शर्माले आफ्नो कृति ‘हाम्रो समाजः एक अध्ययन”मा गुरुङ वंशावलीबारे यसप्रकारको कथा रचेका छन्’–कुनै समयमा पिउठाना भन्ने ठाउँमा गोचन नामक राजा थिए । उनका दुई राजकुमार भए–लोचन र रोचन । राजारानीका लागि कान्छा छोरा अत्यन्त प्यारा थिए । यसकारणले गर्दा राजाले राज्यभार जेठा छोरालाई नदिएर कान्छा छोरालाई दिए । यसरी भाइ राजगद्दीमा बसेपछि जेठाले आफ्नो देश छाडेर बाहिर जाने विचार गरे । राजकुमारका साथमा उनकी पत्नीमात्र होइन, उनका पुरोहित मुकुन्द लामिछानेका छोरा वलि लामिछाने समेत पछि लागे । यसप्रकार हिमालयको काखमा जीवन व्यतीत भइरहेका समय राजकुमार लोचनका तीन छोरा (घले, घोताने र लामा) जन्मे र वलि लामिछानेका दुइभाइ छोरा भए । यिनै घले, घोताने, लामा र लामिछाने चार जनाका सन्ततिपछि गएर चारजात गुरुङ कहलाए । तपस्या गरेका समयमा जन्मेका हुँदा यिनीहरूलाई लोकले ‘महागुरु’ भन्ने पदवी दियो र त्यसैको अपभ्रंश रुप ‘महागुरुङ’ भयो । हुँदाहुँदै ‘महा’ पनि भन्न छोडियो र ‘गुरुङ’ मात्र बाँकी रहन गयो ।”यस प्रकारका मनगढन्त कथाहरूले गुरुङ समुदायलाई सबैभन्दा धेरै अन्धकारमा राखेका छन् । कसै कसैले त यतिसम्म पनि भनेका छन् कि उहिले गुरुङहरूले पनि ब्राह्मणहरूले झैं जनै धारण गर्थे तर यिनले माछा–मासु र जाँड–रक्सीको सेवन गर्न थालेपछि यिनको जनै खोसियो र गुरु भन्ने शब्दमा चन्द्रबिन्दु थपेर गुरुबाट गुरुं (गरुङ) बनाइदियो । यतिसम्म त यो पंक्तिकारले पनि थाहा पाएको हो कि गुरुङहरूले शरीरमा जनै होइन तर बच्चाहरूलाई कम्मरमा कननीचाहिँ लगाइदिन्छन् ।

लेखक तथा प्राध्यापक जगमान गुरुङका अनुसार तमुको अर्थ फलामको हतियार अथवा बञ्चरो धारण गर्ने लडाका हो । साथै, “तामाङ जनजातिको उद्गम इतिहास र राष्ट्रियताबारे” नामक किताबका लेखक सीताराम तामाङ लेख्नुहुन्छ–‘घोडचढी सैन्यलाई तामक (तामाङ) र उनको काम गर्नेलाई गर्‍होङ (गुरुङ) भन्ने चलन छ ।”

प्राचीनकालको नेपाल” नामक किताबमा लेखक बाबुराम आचार्य लेख्नुहुन्छ– ‘काली गण्डकी नदीको किनारमा, काली गण्डकी तथा मोदी नदीको दोभानको नजिकमा पहिलेको पर्वत राज्यका मल्ल राजाहरूले बसाएको ‘देवसुर’ नामक गुरुङहरूको पुरानो बस्ती हाल प्रसिद्ध रहेको छ । यसै बस्तीको नजिक ‘घाङ्रुङ’ नामक गाउँमा गुरुङहरूकै अर्को एउटा बाक्लो बस्ती पनि पहिलेदेखि नै आबाद भएर रहेको पाइन्छ । पश्चिमबाट पूर्वतर्फ बसाइँ सर्दै आएर त्यतिबेला पर्वत राज्यमा आबाद हुन आइपुगेका खस वर्गका बाहुन तथा क्षेत्रीहरूले नयाँ किसिमको यस जातिलाई सर्वप्रथम यहीँ देखेर होला ‘घाङ्रुङ’ नामक यसै बस्तीको नामबाट आफ्नै उच्चारणअनुसार यिनीहरूलाई ‘गुरुङ’ भन्ने नाम दिएको अनुमान हुन्छ ।” तर लेखक स्वयंले भनेझैं नै यो मात्र एउटा अनुमान हो ।

लेखक डिल्लीजङ तमुले आफ्नो सोही किताबमा लेखेका छन्–‘हिन्दू बाहुन, क्षेत्री जातहरू भारतबाट नेपालमा प्रवेश हँुदाखेरी यिनलाई ‘गुरु’ भनेर मानेको रहेछन् र पछि गुरुको हातबाट राज्यसत्ता शाहवंशले हडपीसकेपछि ‘गुरु’ भन्ने शब्दलाई चन्द्रबिन्दु थपेर ‘गुरुं’ गराइदिएछ भन्ने कुरा प्रस्ट हुन्छ ।” यसप्रकारका मनगढन्त कथाहरू तथा भ्रमपूर्ण तथ्यले पनि हाम्रो इतिहासलाई सहज होइन बरु बढी जटिल बनाइदिएको छ । हामीले बुझ्नु पर्ने पहिलो कुराचाहिँ के हो भने चितौडका राजपूतहरूले नेपाल प्रवेशको क्रममा तिब्बतीसीमा छेउका गुरुङहरूभन्दा पहिले भारतीयसीमा छेउ बस्ने मगर समुदायसित सम्बन्ध गाँस्न पुगे । गुरुङबस्ती भन्दा धेरै पश्चिममा बसोबास गर्ने मगरहरूसित उनको पहिलो सम्पर्क हुुन पुगेको थियो । त्यसकारण यदि उनले आफ्नो कार्यसिद्धीको लागि कुनै जात अथवा जातिलाई ‘गुरु’ भनेर फकाएको भए पनि गुरुङहरू भन्दा मगरहरूलाई मानेको हुनु पर्छ । मगरहरूभन्दा उत्तरतिरको उच्च उपत्यकामा बसेकाले गुरुङहरूसित उनको पहिलो सम्पर्क हुने सम्भावना कमै छ ।

वास्तवमा चारथरी गुरुङहरू क्ले, कोने, लम र लेम हुन् तर हिन्दूकरणको क्रममा यिनलाई घले, घोताने, लामा र लामिछाने नामकरण गरियो अथवा भनियो । हामीले बुझ्नु नै पर्ने तथ्यचाहिँ के हो भने यी शब्दहरू कुनै राजकुमार र पुरोहित सन्तानका नाम होइनन् बरु पदवी हुन् । कालान्तरमा यी पदवीलाई चारथरी गुरुङको रुपमा प्रचार–प्रसार गरियो, जो आज पनि यथावत् नै कायम छ । यसकारण बेलैमा हाम्रो इतिहासबारे यस प्रकारका भ्रम र अन्योललाई चिर्न जरुरी छ । साथै, सम्पूर्ण गुरुङ समाजलाई सही जानकारी विभिन्न माध्यमबाट उपलब्ध गराउन पनि आवश्यक हुन पुगेको छ ।

नेपाल एकीकरणको दौरानमा शाहवंशीय शासकहरूले सर्वप्रथम त जालझेलको रणनीति प्रयोग गर्दै हाम्रो देश हडपे त्यसपछि हाम्रो अज्ञानता, इमान्दारिता र सोझोपनको फाइदा उठाई हामी गुरुङहरूलाई उनले आफ्नो पछिपछि लगाएर हाम्रो पहिचानलाई नै मेट्ने कोसिस गरे र गर्‍यो पनि । हामीलाई पराई भाषा बोल्न बाध्य पारियो, आफ्नो रीतितिथीलाई त्यागेर उनकै चालचलनमा हिँड्न बाध्य पारियो । फलस्वरुप आज हामी आफ्नो संस्कार र संस्कृतिबेगर बाँच्न विवश छौं । कालान्तरमा राणाशासकहरूले पनि हामीलाई भेँडाबाख्राझैं बेलायती र भारतीय सरकारलाई बेच्न थाले र हामीलाई शिक्षाको सुनौलो प्रकाशदेखि टाढै राखे । जसले गर्दा हामीले आफ्नो इतिहास र विगतलाई अज्ञानताको अन्धकारमै गुमाउन पुगे । र, आजसम्म हामी गुरुङहरू सामाजिक, आर्थिक र राजनैतिकरुपले पिछडिएका छौं । त्यसमाथि, यसरी केहीले आफ्नो नामको साथमा गुरुङ र केहीले तमु लेख्ने चलनले हामीलाई आउँदो भविष्यमा ठूलो अप्ठ्यारोमा पार्न सक्छ । भोलिको समयमा गुरुङ र तमुले दुई छुट्टै–छुट्टै जातिको रुपमा स्थापित हुने कसरत गर्न पनि सक्छन् र यदि त्यसो भयो भने त्यो भन्दा ठूलो नोक्सानी हाम्रो गुरुङ (तमु) समाजलाई अरु केहीबाट पनि हुने छैन । गुरुप्पा नाम गरेको मान्छेको सन्तान भएर नै गुरुङ जाति बनेको अथवा राजाको कुरालाई तमु (हुन्छ) भनेर नै तमु जात हुन गएको जस्ता सस्तो र तर्कहीन आधारहरूलाई मान्ने कुरै भएन । तसर्थ, बेलैमा हाम्रा बुद्धिजीवी र विज्ञहरूले यो विषयमा गहन अध्ययन गरी हामीलाई सही बाटो देखाउन जरुरी छ । सबैलाई बेलैमा चेतना भया ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!