
मधुकर गुरुङ, लण्डन । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसबाट बच्नका लागि विश्वका अधिकांश देशहरु लकडाउनको अवस्थामा छ र बेलायतले पनि मार्च २४ देखि लकडाउन गर्दै आएको छ । यस्तो लकडाउनको अवस्थामा ग्रेटर रस्मुर नेपाली कम्युनिटीले ‘सेल्फ आईसोलेशन विथ अस’ भन्ने मूल उद्देश्यका साथ अनलाईनमार्फत योग र ध्यान गराउदै आएको छ ।
कम्युनिटीका उपाध्यक्ष नेम थापाको बिशेष पहलमा प्रत्येक बिहान ९ देखि १० बजेसम्म १ घण्टा प्रत्येक दिन पालैपालो एकदिन योग र एकदिन ध्यान गराउदै आएका छन् । गतहप्ता देखि जुम एपको माध्यमबाट सामूहिक रुपमा सो योग र ध्यान गराउदै आाएको हो ।
अल्डरसटस्थित वुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेका धर्म गुरु खेन्पो निमा लामाले ध्यान (मेडिटेशन) गराउदै आएका छन् भने अल्डरसटस्थित शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर हलमा योग गराउदै आएकी ओकिङ्ग निवासी योग प्रशिक्षक अर्चना थापाले योग अभ्यास गराउदै आएकी छन् ।
निःशुल्क रुपमा आयोजना गराउदै आएको उक्त अनलाईन योग र ध्यानमा रस्मुर क्षेत्रका मात्र होइनन् बेलायतका विभिन्न सहरमा बसोबास गर्ने नेपाली र नेपालबाट पनि विभिन्न व्यक्तिहरु बढो चासोका साथ सहभागी हुदै आएका छन् । पछिल्लो समय पुर्विय दर्शनमा आधारित योग र ध्यान प्रयोग कर्ताहरु निकै वृद्धि हुदै आएको छ । र, अहिले एकातिर स्वस्थ रहनुपर्ने अवस्था छ भने अर्कोतर्फ लकडाउनमा केही सिक्ने र सिकाउने बेला पनि हो । तसर्थ, सो योग र ध्यान कार्यक्रमप्रति धेरैजनाको आर्कषण बढ्दै आउनु स्वभाविकै हो ।
उक्त जुम एपमा सहभागी हुन इच्छुक महानुभावहरुले निश्चित समयमा जुम आईडी प्रयोग गरी सहभागी हुन सकिने ग्रेटर रस्मुर नेपाली कम्युनिटी युकेले जानकारी दिएको छ । साथै, उक्त कार्यक्रमको फेसबुकमार्फत समेत लाईभ गरिदै आएकोले उक्त समयमा योग वा ध्यान गर्न नभ्याउने महानुभावहरुले नेम थापा वा ग्रेटर रस्मुर नेपाली कम्युनिटीको फेसबुक पेजबाट प्रशिक्षण लिन सक्ने छ ।
स्मरण रहोस्, ग्रेटर रस्मुर नेपाली कम्युनिटी युकेले विभिन्न महत्वपूर्ण कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।






