काठमाडौं । सहकालका देवता रातो मच्छिन्द्रनाथ आफैँ भने अनिकालको चेपुवामा परेका छन् । कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण रातो मच्छिन्द्रनाथको जात्रा के गर्ने भनी अझै टुङ्गो लाग्न सकेको छैन । वैशाख शुक्ल प्रतिपदा अर्थात् आगामी वैशाख १२ गते मच्छिन्द्रनाथको रथारोहण गर्नुपर्ने भए पनि अहिलेसम्म रथ निर्माण हुन सकेको छैन । ललितपुरका जनप्रतिनिधि र जात्रासँग जोडिएका जातिका अगुवा कुनै पनि हालतमा रथारोहण गर्नैपर्ने पक्षमा छन् भन् गुठीले यो समयमा रथ निर्माण गर्न नसकिने बताएको छ ।
पूरै रथ बनाउन नसकिए पनि देवतालाई राख्ने स्थानसम्म बनाएर परम्परालाई निरन्तरता दिन सकिने ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीले बताए । सरकारको निर्णयानुसार सामाजिक दूरी कायम गरेर पनि रथ निर्माण गर्न सकिने उनले बताए । देवता राख्ने स्थान बनाइएपछि विधिअनुसार आगामी १२ गते रथारोहण गर्न सकिन्छ । रथारोहण गरेपछि रथयात्रा लकडउनपछि जनजीवन सामान्य भएपछि गर्न सकिने उनको सुझाव छ ।
झण्डै १६ वर्ष पहिलेदेखि रातो मच्छिन्द्रनाथको मूल पुजारीका रुपमा देवताको सेवामा लाग्दै आएका कपिल बज्राचार्य ७० वर्षको भए । जात्रा सञ्चालनको तयारी नभएको भन्ने जानकारीले गर्दा उनको मन दुखेको छ उनको । २२/२३ वर्षको उमेरदेखि नै मछिन्द्रनाथको पुजारीका रुपमा देवताको सेवा गर्दै आउनुभएको छ । विगतमा पनि धेरै वर्षमा अप्ठेरो अवस्था आउँदासमेत कहिल्यै जात्रा नरोकिएको उनको अनुभव छ । अहिले माहामारीको समयमा सहकालको देवताको जात्राको अझै बढी महत्व भएको उनको भनाइ छ । विसं. २०७२ मा भूकम्पका कारण घरहरु भत्किएको र चर्किएकाले रथ यात्रा के गर्ने भनी अन्योल भए पनि त्यतिबेला पनि जात्रा सञ्चालन भएको थियो । अहिले पनि आवश्यक सावधानी अपनाएर भीडभाड नगरी जात्रा गर्न सकिने उनले बताए ।
ललितपुर वडा नं १० का अध्यक्ष नरसिंह व्यञ्जनकार सबैको धार्मिक आस्थाका रुपमा रहेको रातो मच्छिन्द्रनाथको जात्रा रोक्न नहुने बताए । जात्राका लागि नभई नहुने थोरै व्यक्ति बसेर पनि रथारोहण गर्न सकिने उनको भनाइ छ । गुठी संस्थान ललितपुरका प्रमुख राजन भुजुले लकडाउनको समयमा रथ निर्माण गर्न नसकिने बताए ।






