काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल सरकारका सम्बन्धित निकायबीच विपद्पछिको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहकार्य गर्ने विषयमा छलफल भएको छ।
छलफलमा प्रभावित परिवार तथा समुदायको दीर्घकालीन पुनर्स्थापना, सुरक्षित पुनर्निर्माण, जीविकोपार्जन तथा विपद् उत्थानशील समुदाय निर्माणका लागि सहकार्यका सम्भावित क्षेत्र पहिचान गर्ने विषयमा छलफल भएको थियो। एनआरएनएका तर्फबाट पुनर्निर्माणलाई तत्कालीन राहतमा मात्र सीमित नराखी बहु–विपद्को जोखिमलाई समेत ध्यानमा राखेर दिगो कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिइएको थियो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) का कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले एनआरएनए र सरकारबीच समझदारीपत्र (MoU) गरी सहकार्य अघि बढाउँदा कार्यक्रम सञ्चालन तथा स्रोत परिचालनमा सहज हुने बताएका थिए ।
त्यसैगरी, सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनासँगको छलफलमा विपद्का समयमा विश्वसनीय सूचना प्रवाह, प्रभावकारी सञ्चार तथा गलत सूचना न्यूनीकरणका विषयमा छलफल भएको थियो। विश्वभर रहेका नेपाली समुदायको ज्ञान, प्रविधि तथा विशेषज्ञतालाई नेपालको विपद् पूर्वतयारी, पुनर्स्थापना तथा पुनर्निर्माणमा उपयोग गर्ने विषयमा समेत विचार आदानप्रदान भएको थियो।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीसँगको छलफलमा प्रभावित परिवार तथा समुदायका लागि लक्षित सहयोगका कार्यक्रम सञ्चालन गर्ने विषयमा छलफल भएको थियो। प्रभावित महिला, बालबालिका तथा जोखिममा रहेका परिवारको सामाजिक, आर्थिक तथा मनोसामाजिक अवस्थालाई ध्यानमा राखेर कार्यक्रम अघि बढाउने विषयमा जोड दिइएको थियो।
छलफलमा एनआरएनएका महासचिव डा. चिरञ्जीवी खड्का, उपाध्यक्ष रोजिना प्रधान राई, उपाध्यक्ष मनोज श्रेष्ठ, महिला उपाध्यक्ष राधिका गुरुङ (टिका), यूरोप उपक्षेत्रीय संयोजक राधा सिग्देल, दोस्रो पुस्ता संयोजक दीपमाला ढकाल, सचिव प्रसुना कंडेल, सचिव दीपेश खत्री, सीईओ राजेन्द्र कुमार राउत, सरोज दाहाललगायतको उपस्थिति थियो।








