काठमाडौं । भोटेकोशी बाढीपीडितका लागि १ करोड ३१ लाख ११ हजार १११ रुपैयाँ संकलन गरेको तमु धीं युकेको टोली राहत रकम हस्तान्तरण तथा वितरणका लागि सोमबार नेपाल पुगेको छ।
तमु धीं युकेका अध्यक्ष जुमकाजी गुरुङको नेतृत्वमा टोली सोमबार नेपाल पुगेको हो। अध्यक्ष गुरुङले उपाध्यक्ष दिलमाया गुरुङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी सुम्पिएर राहत वितरणका लागि नेपाल गएका हुन् ।
टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघका पूर्वअध्यक्ष डण्ड गुरुङ, पत्रकार एवं गुरुङ साहित्यिक मञ्च नेपालका उपाध्यक्ष आश गुरुङ तथा आफन्तलगायतले स्वागत गरेका थिए।
तमु धीं युकेले संकलन गरेको रकममध्ये १ करोड ११ लाख १११ रुपैयाँ नेपालको प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा हस्तान्तरण गरिनेछ भने बाँकी २० लाख रुपैयाँ प्रत्यक्ष रूपमा बाढी प्रभावित क्षेत्र रसुवामा पुगेर वितरण गरिने जनाएको छ।
राहत रकम हस्तान्तरण तथा वितरण कार्यक्रममा अध्यक्ष जुमकाजी गुरुङ, वरिष्ठ उपाध्यक्ष परशुराम गुरुङ, उपाध्यक्ष कमल गुरुङ, महासचिव डा. विशाल गुरुङ, सचिव विमल गुरुङ तथा आमा समूहकी अध्यक्ष कमला देवी गुरुङ सहभागी हुनेछन ।
यसअघि आइतबार, २० सेप्टेम्बर २०२६ मा मिचेटस्थित तमु धीं युकेको आफ्नै भवनमा आयोजित पत्रकार सम्मेलनमार्फत संकलित रकम तथा राहत वितरणबारे जानकारी गराइएको थियो।






