
काठमाडौं ७ भदौ । पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा १६६ सहित थप ८१८ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार २६ जनामा गरेको पीसीआर परीक्षणबाट ८१८ नयाँ सङ्क्रमित देखिएका हुन् । उनीहरुमध्ये २२० महिला र ५९८ पुरुष छन् । हालसम्म ६ लाख चार हजार ४४ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार आज उपत्यकामा देखिएका थप १६६ कोरोनाका सङ्क्रमितमध्ये काठमाडौँका १६६, लतिपुरका १२ र भक्तपुरका २८ जना रहेका छन् । पछिल्लो २४ घण्टामा २८१ जना कोरोना जितेर घर फर्किएका छन् । यससँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १८ हजार ६३१ पुगेको छ । देशभरका क्वारेन्टिनमा ११ हजार ४१४ जना रहेका छन् ।
थप ३ को मृत्यु
कोभिड–१९ बाट पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको छ । झापाका ५८ वर्षीय एक पुरुष, पर्षाको एक ५६ वर्षीया महिला र सर्लाहीको एक ३३ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्राडा गौतमले जानकारी दिए । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १४९ पुगेको छ । यो मृत्युदर सून्य दशमलव ४७ प्रतिशत हो ।
अहिले होम आइसोलेशनमा रहेका बिरामीको सङ्ख्या ४९७ रहेको छ । आइसोलेशनमा रहेका सङ्क्रमितको सङख्या आठ हजार ७२४ रहेको छ । आज देशभर सक्रिय सङ्क्रमितो सङ्ख्या जम्मा १३ हजार १५५ रहेको छ । संस्थागत आइसोलेसनमा नौ हजार २१२ जना रहेका छन् । होम आइसोलेशनमा तीन हजार ९४३ जना छन् । आइसियुमा उपचाररत १३७ जना छन् । बाग्मती प्रदेशका १० जना भेन्टिलेटरमा छन् ।






