पोखरा । यसवर्षको लोकबहादुर गुरुङ स्मृति पुरस्कार नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष तथा कान्तिपुर दैनिकका लमजुङ संवाददाता आश गुरुङलाई प्रदान गरिने भएको छ ।
प्रतिष्ठानका सचिव रोशनी गुरुङ संयोजक तथा प्रतिष्ठानका अध्यक्ष पदेन सदस्य एवं अग्रज पत्रकार गणेशमान गुरुङ सदस्य रहेको प्रतिभा छनौट समितिको बैठकले सिफारिस गरेको प्रतिभालाई प्रतिष्ठानको पोखरामा सम्पन्न बैठकले पत्रकार गुरुङलाई यसवर्षको पुरस्कार प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष तथा मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङले जानकारी दिए ।
वरिष्ठ संस्कृतिकर्मी, गीतकार तथा चलचित्र निर्देशक स्व लोकबहादुर गुरुङको स्मृतिमा स्थापना गरेको सो प्रतिष्ठानले हरेक वर्ष भदौ १९ गते उनको स्मृति दिवसको अवसर पारेर एक जना व्यक्ति वा स्रष्टालाई सम्मान गर्दै आएको छ । यसवर्ष भदौ १९ गते स्व गुरुङको छैठौ स्मृति दिवसको सन्दर्भ पारेर पत्रकार गुरुङलाई नगद ३५ हजार सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरिने आयोजकले जनाएको छ ।
लमजुङको क्होंलासोंथर गाउँपालिका वडा ४ भुजुङमा बाबा मंगले गुरुङ र आमा आइतकुमारी गुरुङको कोखबाट जन्मिएका पत्रकार आश गुरुङले विसं २०५९ सालबाट पत्रकारिता शुरुवात गरेका थिए । हाल उनी पत्रकार महासंघ लमजुङका अध्यक्ष तथा कान्तिपुर राष्ट्रिय दैनिकको लमजुङ संवाददाता हुन् ।
पछिल्लो समय उनी गुरुङ गीत लेखनमा पनि क्रियाशील छन् । उनले रचना गरेका गुरुङ गीतहरु ‘ए ङोल्स्यो ए ङोल्स्यो, गलबन्दी चैस्यो ङोल्स्यो’ लगायतको गीत गुरुङ गीत संगीतकै इतिहासमा सार्वधिक चर्चित गीतको सूचीमा पर्न सफल भएका छन् ।






