
काठमाडौं १६ भदौ । कोभिड–१९ को सङ्क्रमण विगत २४ घण्टामा एक हजार ६९ जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनम मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा ३४४ महिला र ७२५ जना पुरुषमा सङ्क्रमण देखिएको जानकारी दिए । चौबिस घण्टामा पिसिआर परीक्षण १२ हजार ८८ जनामा भएको थियो । अहिलेसम्म नेपालमा ४० हजार ५२९ जना कोभिड–१९ को सङ्क्रमण देखिएको छ ।
डा गौतमले विगत २४ घण्टामा ७६८ निको भएर घर फर्किएको जानकारी दिए । उनका अनुसार अहिलेसम्म २२ हजार १७८ जना सङ्क्रमण निको भएर घर फर्किएका छन् । अहिलेसम्म ५५ प्रतिशत निको भएका छन् । उनले अहिलेसम्म १२ जिल्लामा ५०० भन्दा बढी सङ्क्रमित रहेको जानकारी दिए । मोरङ, सुनसरी, बारा, महोत्तरी, धनुषा, रौतहट, सर्लाही, पर्सा, चितवन, काठमाडौँ, ललितपुर र रुपन्देही रहेका छन् ।
चार वर्षीया बालिकासहित ११ को निधन
कोभिड–१९ को कारणले आज एकै दिन ११ जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा गौतमले विगत २४ घण्टामा महोत्ततरीका एक चार वर्षीया बालिकासहित ११ जनाको निधन भएको जानकारी दिए ।
महोत्तरीकै ३७ वर्षीय, सिरहाका ६५ वर्षीय, पर्साका तीन जना ५३, ६० र ८० वर्षीय, बारा ६० वर्षीय, चितवनको ५२, काठमाडौँको ७० र ३५ वर्षीय र मकवानपुरको ५८ वर्षीय पुरुष छन् । हालसम्म सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या २३९ जना पुगेको छ । नेपालमा कोभिड–१९ को कारणले मृत्यु हुने ०।५९ प्रतिशत हो । गौतमले सङ्क्रमणको दर बढ्दै गइरहेकाले सचेत रहन आग्रह गरे ।






