काठमाडौं २० भदौ । जयतु संस्कृतम् संस्थालाई विश्वका प्रमुख देशमा शाखा खोली संस्कृत भाषामा रहेको ज्ञान विस्तारमा उपयोग गरिने भएको छ ।
संस्थाले गत वर्ष अमेरिकामा शाखा गठन गरेको शनिबार जुम प्रविधिबाट आयोजित वाग्मती प्रदेशस्तरीय संस्कृत लोकभाषा अभियान विषयक अन्तरक्रिया कार्यक्रममा संस्थाका अध्यक्ष डा बद्री पोखरेलले जानकारी दिए । । यसै वर्ष बेलायत र अष्ट्रेलियामा शाखा गठन गर्न त्यहाँ रहेका संस्कृतप्रेमीले इच्छा व्यक्त गरेको र निकट भविष्यमै गठन गर्न लागिएको उनले बताए ।
विश्वमा सबैभन्दा पुराना ग्रन्थ संस्कृत भाषामा रहेकाले यसप्रति विश्वव्यापी आकर्षण बढ्न थालेकाले शाखा खोल्न लागिएको उनले बताए । भाषा मात्र नभई वाङ्मयकै स्वरुप ग्रहण गरेको संस्कृतमा धेरै ग्रन्थसमेत लेखिएका छन् । अन्तरक्रियामा सहभागी पीपलमणि सिग्देलले अमेरिकाबाट जयतु संस्कृतम्लाई विश्वव्यापी रुपमा फैल्याउन लागिएको जानकारी दिए । कोरोनाबाट बच्न जारी निषेधाज्ञा एवं बन्दाबन्दीबीच जुम प्रविधिबाट नै संस्कृत प्रशिक्षण गर्न सकिने उनको सुझाव थियो ।
कार्यक्रममा सांसद उमेश श्रेष्ठले प्याब्सन आबद्ध विद्यालयमा अध्ययनरत करिब २५ लाख विद्यार्थीलाई संस्कृत लोकभाषा अभियानमा सहभागी गराउन भूमिका खेल्ने प्रतिबद्धता जनाए ।
प्याब्सनका सहअध्यक्ष डिके ढुङ्गानाले आफ्नो विद्यालय रेडियन्ट रिडर्स एकेडेमीमा चार वर्षअघिदेखि नै संस्कृत पठनपाठन भइरहेको बताए । बौद्ध धर्मगुरु आचार्य नुर्बु शेर्पाले संस्कृत भाषा अध्ययन गर्दा मानवका लागि फाइदा हुने भएकाले धर्म, राजनीति, जातीयता आदिको घेराभन्दा माथि उठेर यसलाई हेरिनुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले संस्कृत भाषामा रहेका प्राचीन ग्रन्थको अध्ययनअनुसन्धान गरी त्यहाँ भएको ज्ञान जनसमक्ष ल्याइनुपर्नेमा जोड दिए ।






