
काठमाडौं ३ असोज । नेपालमा २४ घन्टामा कोरोना भाइरस १२०४ संक्रमित, १४४७ निको र ११ को मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा थप १२ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शनिबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६२ हजार ७ सय ९७ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १४ सय ४७ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ४५ हजार २ सय ६७ जना पुगेको छ ।
२४ घन्टामा १० हजार ३ सय ३३ पीसीआर परीक्षण भएका छन् । थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
उपत्यकामा थप ७११ कोरोना संक्रमित
पछिल्लो २४ घन्टामा काठमाडौँमा ५७०, ललितपुरमा ५८ र भक्तपुरमा ८३ जना संक्रमित देखिएका छन् ।
थप ११ जनाको मृत्यु
मृतकमा ७ जना महिला र ४ जना पुरुष रहेका छन् । मृतक महिलामा मोरङकी ६५ वर्षीया, रौटहटकी ५१ वर्षीय, सर्लाहीकी ५६ वर्षीया, ललितपुरका ७६ र ६८ वर्षीया, काठमाडौँका ७७ र ३७ वर्षीया रहेका छन् ।
कोरोना संक्रमणबाट मृत्यु हुने पुरुषमा ललितपुरका ६० वर्षीय, काठमाडौँका ७५ वर्षीय, रुपन्देहीका ६९ वर्षीय र बाँकेका ४५ वर्षीय रहेका छन् ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको हालसम्म ४ सय १ पुगेको छ । मन्त्रालयका अनुसार संक्रमितमध्ये मृत्यु हुने ०.६४ प्रतिशत रहेको छ ।






