लन्डन असोज २६ । विश्व नेपाली साहित्य महासंघ (विनेसाम) साउथ यूकेको अध्यक्षमा वातावरण साहित्यकार विजय हितान चयन भएका छन् । भर्चुअल माध्यमबाट गत साता सम्पन्न संस्थाको दोस्रो अधिवेशनले हितानको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । विनेसाम साउथ यूकेमा हितानको यो दोस्रो नेतृत्व हो । सन् २०१६ मा स्थापित शाखाका उनी संस्थापक अध्यक्ष पनि हुन् ।
नवनिर्वाचित समितिमा उपाध्यक्ष थीर थापा, सचिव अमित थेवे, सहसचिव लाहाङ चेम्जोङ, कोषाध्यक्ष सेमन्त राई, सहकोषाध्यक्ष सन्ध्या गुरुङ र मिडिया सचिव विश्वजित थापा छन् । त्यस्तै, सदस्यहरुमा सर्वधन राई, टिमाया राई, संजीव पार्दशी, शुष्मा रुपाबुङ र किरण चाम्लिङ निर्वाचित भएका छन् ।
संस्थाको संरक्षकमा घन बहादुर थापा र सल्लाहकारमा गणेश पुन, औतारी साईला, सुरेन्द्र इङनाम र विश्वासदीप तिगेला चुनिएका छन् । विनेसामका संस्थापक विश्वासदीप तिगेलाले संयोजन गरेको अधिवेशन निर्वतमान महासचिव थीर थापा मगरले सञ्चालन गरेका थिए ।
विनेसाम साउथ यूकेका नवनिर्वाचित अध्यक्ष हितानले बेलायतमा रहेका अन्य नेपाली साहित्यिक संस्थाहरुसँग सहकार्य गर्दै वातावरण साहित्य, लाहुरेयुद्ध साहित्य र मातृभाषा साहित्यका कार्यक्रमहरु पनि गर्ने कार्य आफ्नो प्राथमिकतामा रहेको बताएका छन् ।






