
भावेश भुमरी – प्यूठान: काठमाडौँ
‘ल लिनुहोस् फेरी टिकट ।’ टङ्क दाजु स्टार फेरी स्टेशनको टिकट काउन्टरमा टिकट काटेर दिनुहुन्छ मलाई । म टिकट समात्छु र दाजुको पछिपछि अगाडि बढ्छु । दाजु मेसिनलाई आफ्नो कार्ड सुँघाउनुहुन्छ र भित्र पस्नुहुन्छ । म मेशिनको मुखमा राखिदिन्छु टिकट, भोको मेशिन खुलुक्क निल्छ र दुवैतिरका हात फुकाउँछ । म हतारहतार भित्र पस्छु । मेशिन आफ्ना दुई हात जोड्छ र बाटो बन्द गर्छ । हामी अगाडि बढ्छौँ पुरानो फेरी स्टपतिर, जहाँ प्रतीक्षालय छ । प्रतीक्षालयमा उभिएर फेरीको प्रतीक्षा गर्छौं हामी ।
समुद्रबाट बुढो फेरी हामीतिर आउँदै छ । हामी यही फेरी चढेर जानु छ वान चाई र हङकङ पिक । फेरी रोकिन्छ हाम्रो अगाडि । दुई कर्मचारी झ्यालको छेउमा आउँछन् र फलामे किलामा बाँधेको ठूलो रसीलाई बिलहुकका माध्यमले फेरीमा अड्काउँछन् । फेरीमा आवतजावत गर्न प्रतीक्षालयमा बनाइएको बार र त्यसमा राखिएको ढोका खुल्छ । फेरीका यात्रुहरू ओर्लेर प्रतीक्षालयतिर पस्छन् । फेरी खाली हुन्छ । देख्दै पुरानो प्रविधि लाग्ने यस कार्यले मनलाई अर्कै प्रकारको आनन्दानुभूति गराउने रहेछ । यहाँ जापानले राज गर्दा चलाएको यस फेरीले आजसम्म पनि सेवा दिइरहेछ । यही कारण यसमा चढ्नुको आफ्नै ऐतिहासिक महत्व छ । म भित्रभित्र यहाँका पुराना दिनहरूका बारेमा अनुमान गर्न थाल्छु । कर्मचारी हामीलाई फेरीमा पस्न सङ्केत गर्छन् । म हतारहतार फेरीमा पस्छु । फेरीमा पस्ने म पहिलो नम्बरको यात्रु बन्छु । टङ्क दाजु मेरो पछिपछि आउनुहुन्छ । दुई तलाको पुरानो देखिने यस फेरीमा दुबैतिर फर्काएर बस्न मिल्ने बेन्चहरू रहेछन् । हामी माथिल्लो तलाको अगाडिका सिटमा बस्छौँ । यात्रुहरूको सङ्ख्या थोरै छ । भुइँतलामा पनि यात्रुको सङ्ख्या धेरै छ भन्ने लाग्छ मलाई ।
एसीका कारण शितल महसुस हुन्छ । खुला लाग्ने पुरानो फेरीमा पनि आधुनिक तरिकाले एसी राखिएको छ । आवश्यक बत्तीहरूको राम्रो व्यवस्था गरिएको छ । बेन्च तथा झ्यालहरू साधारण भए पनि फेरी एकदमै सफा छ । सामुद्रिक पानीबाट भने एकतमासको गन्ध आइरहेछ । यस्तो बेला पनि केही यात्रुहरू कोक पिइरहेछन्, खानेकुराहरू खाइरहेछन् ।
स्टार फेरी र वान चाई दैनिक वारपार गर्ने ७०००० भन्दा बढी यात्रुहरू रेल, बस, फेरीलगायतका यातायातका साधनहरू प्रयोग गर्छन् । सबैभन्दा रोमाञ्चक यात्रा फेरीबाटै हुन्छ । फेरी चल्ने सङ्केतसँगै एक कर्मचारी डोरी फुकाउँछन् र लामो काठले फेरीलाई समुद्रतिर धकेल्छन् । फेरी अगाडि बढ्छ । म अगाडिका झ्यालहरूबाट समुद्रका सुन्दर दृश्यहरू नियाल्छु । भिक्टोरिया हार्बरका दृश्यहरू देखिन्छन् । वान चाईमा ठडिएका विशाल भवन र टावरहरू झन्झन् आँखाका नजिक आउँदै छन् । मन हिमाल खुलेझैँ खुल्दै छ र रोमाञ्चित बन्दै छ ।
कहिलेकाहीँ सानो प्राप्तिले पनि मान्छेलाई बडो खुसी दिन्छ । म यतिबेला सोही प्राप्तिमा रमाइरहेछु । हुन त नेपालमा यस्ता पुराना प्रविधिबाट आधुनिक आनन्द लिने साधनहरूलाई व्यवस्थित गरेको कहाँ पो देख्छ सकिन्छ र ! झोलुङ्गे पुल बनायो तुहिन उखेलिन्छ । पक्की पुल बनायो झोलुङ्गे पुल वेवारिस बन्छ । तर यहाँ अत्याधुनिक टनल बनेको छ, रेल र बसहरू कुद्छन् । यसरी फेरी पनि चलाइन्छ, पर्यटहरूलाई आकर्षित गरिन्छ र मन्त्रमुग्ध पारिन्छ । धन्न हङकङ, म पनि खुसीले आल्हादित भएको छु । यो फेरी नभएको भए म यति खुसी हुने थिइनँ । स्टार फेरीलाई मैले मनभरि राख्ने पनि थिइनँ ।
फेरी यता ढलक्क गर्छ, उता ढलक्क गर्छ, अगाडि हुत्तिन्छ । टङ्क दाजु मेरा फोटाहरू खिचिदिनुहुन्छ । दश मिनेट समय बितेको पत्तै हुँदैन मलाई । फेरी भिक्टोरिया हार्बरको पार्कमा आइपुग्छ । बिलहुकको प्रयोगबाट रसीले फेरीलाई अड्काउँछन् कर्मचारी । फेरीका कर्मचारी हामीलाई ओर्लिन सङ्केत गर्छन् । हामी फेरीबाट आर्लिन्छौँ र स्टेशनबाट बाहिरिन्छौँ ।
वान चाई हङकङको मुटु हो । यहीँबाट सञ्चालित छन् हङकङका हरेक अङ्ग । यही कारण यस ठाउँलाई नियाल्न म निक्कै आतुर छु । हामी ओभर ब्रिजमा उक्लिन्छौँ । म नजिकैको ८८ तले आईएफसी टावर हेर्छु । यसको भव्यतामा एकोहोरिन्छु । ओभर ब्रिजतलका रोडहरूबाट विभिन्न गन्तव्यका बस र सार्वजनिक गाडीहरू कुदिरहेछन् । पुलबाट आवतजावत गर्ने मान्छेहरूको पनि निक्कै भीड छ । यहाँ रेलहरू देखिँदैनन् अन्डरग्राउण्डबाट चल्ने भएकाले । म केही सेल्फी फोटाहरू खिच्छु यहीँ । हामी अगाडि बढ्छौँ र सडकको छेउमा आइपुग्छौँ । विशेषतः सडकको ट्राफिक व्यवस्थापन अत्यन्त प्रभावकारी छ । पैदलयात्रुमा पनि प्रशस्त चेतना छ । कहीँ कसैलाई बाधा छैन हिँड्दा । मेरा नजर यहाँका विभिन्न भव्य भवनहरूतिर फिँजिन्छन् । यहीँ छन् ७८ तले सेन्ट्रल प्लाजा, ६४ तले होपवेल सेन्टर, ५६ तले सन हङ काई सेन्टर, ५२ तले चाइना अनलाइन सेन्टर, ५० तले कन्भेन्सन प्लाजा अफिस टावरलगायतका कैयौँ आलिशान भवनहरू । यहाँ सरकारी र विश्वप्रसिद्ध कर्पोरेट संस्थाहरूका कार्यालय छन् । ठूला होटेल, रेष्टुराँ, सुपर मार्केट, अन्तर्राट्रिय नियोगलगायतका केन्द्र पनि यहीँ नै छन् । सन् २०१७ सम्म एशियाका सबैभन्दा धनाढ्य व्यापारी लि का सिंगको ६३ तले गगनचुम्वी भवन चेउङ कङ सेन्टर यहीँ उभिएको छ । यही भवनमा रहेको छ यिनको निजी अफिस । एक व्यक्तिको यस्तो भवन देख्दा म किंकर्तव्यविमूढ हुन्छु । के यो सत्य हो त ? मनले मनलाई नै प्रश्न गर्छ ।
रोड क्रस गर्नका लागि राखिएका छन् ट्राफिक लाइटहरू । यात्रुहरू रोड क्रस गर्नका लागि प्रतीक्षारत छन् । रोडमा गाडीहरूको आवत जावत निक्कै बाक्लो छ । दुई तलाका विद्युतीय बसहरूको सङ्ख्या बाक्लै छ । यस्ता बसहरूको बनोट अलि पुराना देखिन्छन् । जापानी बसहरू हुन् भन्नुहुन्छ टङ्क दाजु । बसहरूको मर्मत र रङरोगनमा भने निक्कै ध्यान पु¥याइएको छ । हामीसँगै उभिएका छन् पूर्वी एशियन किशोरकिशोरीहरू । सामान्य भेषभूषा तर निक्कै सुन्दरी छन् किशोरीहरू । पारिपट्टि पनि उभिएका छन् यस्तै गरी किशोरकिशोरीहरू । घरिघरि मेरा आँखा उनीहरूका चिम्सा आँखासँग ठोकिन्छन् । यहीँबाट देखिन्छन् ब्याङ्क अफ चाइना र एचएसबीसी बैँकका कार्यालयहरू । ट्राफिक लाइटको बत्ती बदलिन्छ र यात्रुहरू क्रस गर्नका लागि घन्टी पनि बज्छ । हामी अन्य यात्रुहरूको भीडसँगै रोड पार गर्छौं । लि का सिंगको चेउङ कङ सेन्टरको भव्य भवनछेउबाट उकालो चढ्नतिर लाग्छौँ । अलि वर आउँदा टङ्क दाजुलाई बाटो बिरिएको थाहा हुन्छ । हामी फर्किन्छौँ र कृत्रिम छहरा बग्दै गरेको बाटोतिर अगाडि बढ्छौँ । शहरको बीचमा कृत्रिम पहरा बनाइएको छ । जसमा विभिन्न किसिमका रूख, फूल र लहराहरू लगाइएका छन् । हामी यहाँ केही फोटा खिच्छौँ । टङ्क दाजु स्मरण गराउनुहुन्छ, ‘पहिले पहिले यस पहरामा फोटाहरू खिच्ने नेपालीहरू बाक्लै हुन्थे ।’ म एकछिन घोरिन्छु, हामी उकालोओरालो, भिरपहरा र पाखापखेराहरूसँग खेल्दै हुर्केका हौँ । यही कारण यस्ता दृश्य देख्दा नेपालको याद गर्छौं ।
हाम्रो गन्तव्य भिक्टोरिया पिक हो । हामी कृत्रिम पहराबाट फुत्केर उकालो उक्लिन थाग्छौँ । अलि अगाडिबाट सडक भेटिन्छ । हामी सडकको किनारैकिनारा अगाडि बढ्छौँ । केही यात्रु लाइन लागेका छन् । म सोध्छु, ‘यो केको लाइन हो दाजु ?’ टङ्क दाजु भन्नुहुन्छ, यो भिक्टोरिया पिक जाने टिकट लिनेहरूको लाइन हो । यहीँबाट टिकट लिएर हामी पनि हङकङ ट्राम हुँदै पिकमा जाँदै छौँ ।‘
टङ्क दाजु लाइनमा उभिनुहुन्छ, म भने यता साइडमा उभिन्छु । यहाँ केही जानकारी छापिएका नक्सा र पर्चाहरू राखिएका छन् । वान चाई जिल्लामा रहेको १,८११ फिट उचाईको भिक्टोरिया पिक ३० मे १९८८ मा खोलिएको हो । विभिन्न चरणमा भौतिक निर्माण र मर्मत हुँदै आएको यस पिकको अपार सौन्दर्यकै कारण निक्कै गर्विलो इतिहास छ । यहाँबाट देखिने वान चाई र कावलुन शहरसहतिका बन्दरगाहहरूको मनोरम दृश्यावलोकनबाट पर्यटकहरू अत्यन्त्यै रोमाञ्चित बन्छन् । यही कारण मलाई भिक्टोरिया पिकमा पुगेर अपार सौन्दर्यसँगै कावा खाने रहर छ । दाजु टिकट किन्नुहुन्छ । टिकट किनेका हामी लाइनमा उभिन्छौँ । कर्मचारी टिकट जाँच गर्दै भित्र प्रवेशको अनुमति दिन्छन् । हामी पनि भित्र प्रवेश गर्छौं ।
पैदल हिँड्छौँ हामी अन्य पर्यटकहरूको भीडसँगै । म सोच्छु, यसै गरी पैदल हिँडेर जानुपर्छ कि भिक्टोरिया पिकसम्म ! एकछिनको हिँडाइले हामीलाई ल्याइपु¥याउँछ पिक ट्राम स्टेशनमा । टङ्क दाजु भन्नुहुन्छ, ’पिक ट्राम आइपुगेको रहेनछ, एकछिन पर्खिनुपर्ने भयो ।‘ यहाँ सबै यात्रु ट्रामकै प्रतीक्षामा उभिएका छन् । हामी पनि लाइनमा उभिन्छौँ । ट्राम ठाडै उकालो र ओरालोतिर गुड्ने रहेछ । फलामको ठूलो र बलियो रसी घुमेर ट्रामलाई गुडाउने रहेछ । कल्पनासम्म नगरेको दृश्य पहिलोचोटि देख्दै छु । बडो आनन्दको अनुभूति भइरहेछ । माथितिर अति घना जङ्गल देखिन्छ । पिक ट्राम यही जङ्गललाई सुम्सुम्याउँदै तलमाथि गर्दाको दृश्य कति आनन्दमय होला ?
पिक ट्राम माथिबाट ओरालो झर्दै छ । ठाडै ओरालो झर्दै गर्दाको दृश्य निक्कै नौलो देखिन्छ । यो दृश्य मेरा लागि बडो जिज्ञासाको विषय बन्छ । यदि बीचमै विद्युत् बन्द भयो भने या कतै फलामको रसी चुँडियो भने ? मभित्र प्रश्नहरू सलबलाउँछन् । हामी पनि यही ट्राम चढेर भिक्टोरिया पिक पुग्नु छ । ट्रामको गति द्रुत छैन । पिक जान आतुर यात्रुहरू नजिक आउन थाल्दा ट्रामका फोटाहरू खिच्छन् । एकैछिनमा ट्राम स्टेशनमा आई घचक्क गरी रोकिन्छ । हाम्रो विपरीत दिशाका ढोकाहरू खुल्छन् र पर्यटकहरू बाहिरिन्छन् । हामी उभिएतिरका ढोकाहरू भने बन्द नै छन् । ट्राम चालक पनि ट्रामबाट झर्छन् । यस दृश्यले ट्राम एकछिन रोकिने रहेछ भन्ने लाग्छ मलाई । हामी भने धैर्य गर्दै छौँ आफ्नै लाइनमा उभिएर । केही सुरक्षाकर्मी यात्रुहरूलाई अनुशासित रूपले प्रतीक्षा गर्न लगाउँदै छन् । पाँच मिनेटको प्रतीक्षापछि ट्राम चालक भित्र पस्छन् । ढोकाहरू खुल्छन्, हामी लामबद्ध तरिकाले भित्र पस्छौँ । हामीभन्दा अगाडि भित्र पसेका यात्रुहरू लसस पछाडितिर बग्छन्, अगाडिका सिट खाली नै छन् । दाजु मलाई यतै बसौँ भन्दै ट्राम चालकको ठिक पछाडितिर प्रतीक्षारत सिटमा बस्न सङ्केत गर्नुहुन्छ । म दृश्यहरू हेर्न भनी झ्यालतिरको सिटमा बस्छु, दाजु गल्लीतिरको सिटमा बस्नुहुन्छ ।
यात्रुहरू लामबद्ध भई पसिसकेका छन् ट्रामभित्र । आफूलाई मन लागेको खाली सिटमा बसेका छन् यात्रुहरू, बस्दै छन् कोही । ट्राम चालक दायाबाट कम्मरसम्मको शरीर मोडेर फर्किन्छन् पछाडि र नियाल्छन् यात्रुहरूलाई । हामीलाई खाली भुँडीमा राखेर ट्राम आफ्ना मुखहरू घरक्क बन्द गर्छ र घन्टीको सङ्केत गर्छ अगाडि बढ्ने । पिक ट्रामको १३६४ मिटर यात्रामा करिब ८ मिनेट समय निर्धारण गरिएको छ । यस समयमा मैले झ्यालबाट रोमाञ्चक दृश्यहरूको अवलोकन गर्नु छ । ट्राम घरक्क गर्छ र हुत्तिन्छ उकालोतिर । ट्रामको गति बढ्छ, मेरो मन चिउचिउ गर्छ । कतै ट्रामलाई उभोतिर तन्क्याउने तार चुडियो भने ट्राम सिधै तलतिर बग्ने छ र सबै यात्रुहरूको ज्यान जोखिममा पर्ने छ । मुटु ढक्क फुल्छ । तत्कालै मनले मलाई ढुक्क हुन प्रेरित गर्छ र मलाई आँटका साथ भन्छ, ’निर्माण गर्दा नै बडो वैज्ञानिक तरिकाले नबनाएको भए आजसम्म यो किन चल्थ्यो र !‘ ट्राम उभो उक्लँदै गर्दा अगाडि दुबै छेउतिर घना जङ्गल देखिन्छन् । अगाडि बसेकाले पनि मलाई यी दुवैतिर हेर्ने अवसर मिलेको छ ।
ट्राम निरन्तर ठाडो आरोहण गर्छ । यतिबेला अर्को ट्राम माथिबाट तलतिर झर्छ र हामीतिर नजिकिन्छ, सायद हामी ट्रामको बीचयात्रामा आपुगेका छौँ । ट्राम हाम्रो नजिकैबाट क्रस गर्छ र पछाडिबाट टाढा हुन्छ । म पछाडिका यात्रुहरूको क्रियाकलाप हेर्न टाउको घुमाउँछु, यात्रुहरूका आँखा घना जङ्गल र सुन्दर दृश्यहरूमा फिजिँदै छन् । कोही फोटा खिच्दै छन्, कोही भिडियो बनाउँदै छन्, कोही एकआपसमा कुरा गर्दै छन् । कस्तो अनौठो अनुभूति, कति संयोगको यथार्थ ! मेरा आँखा पनि दृश्यहरूतिरै हाम फाल्छन् । कल्पनासम्म नगरेको घना जङ्गल र बीचमा कहीँ भव्य भवन ! यी भवनमा पुग्दा पक्कै फरक अनुभूति हुन्छ होला । फेरि मलाई कौतुहलको आकाशमा कावा खेलाइदिन्छ मन । ट्राम आफ्नो गतिमा उकालो चढिरहेछ । कतै आकाश छुन उक्लिरहेछौँ हामी, कहीँ चन्द्रमा भेट्न हुइँकिरहेछौँ हामी । टङ्क दाजु मलाई कतै हङकङका समृद्धिका बारेमा जानकारी गराउनुहुन्छ, कतै नियमका बारेमा पनि सचेत गराउनुहुन्छ । वास्तवमा मेरो अनुकूल बसाइँका लागि मैले यहाँका केही निमयका बारेमा जानकारी राख्नैपर्छ । दाजुका कुराले मलाई दोहोरो फाइदा हुँदै छ ।
ट्रामले निक्कै माथि उकालिसकेको छ हामीलाई । हङकङमा यस्तो पहाड होला भन्नेसोचेको पनि थिइनँ मैले । म आफ्नै यात्रामा अचम्मित भएको छु । टङ्क दाजु मलाई स्मरण गराउनुहुन्छ, ’यसरी ट्राममा यात्रा गर्नु एकदम नौलो अनुभूति हो, यस्तो यात्रा नेपालमा छैन ।’ हो नेपालमा कहाँ हुनु र यस्तो यात्रा । नभएकै कारण त म बढी नौलो अनुभव गरिरहेछु । दुवैतिर फैलेका घना जङ्गलले प्राकृतिक सौन्दर्य छरिरहेछन् । यिनै जङ्जलका आलिङ्गनमा लट्ठिन्छन् यात्रुहरूका नजर र मनहरू ।
ट्रामको गतिले गन्तव्यस्थाननजिकै उक्लँदै गरेको सङ्केत गर्छ । एकछिनमै ट्राम विश्रामस्थानमा प्रवेश गर्छ र रोकिन्छ । हामी चढेकोभन्दा विपरीत दिशाका मुखहरू खुल्छन् ट्रामका । लामबद्ध हामी लसस बाहिर निस्कन्छौँ ट्रामका मुखहरूबाट । म उत्साहित छु, म रोमाञ्चित छु । पीक टावर अर्थात् नेपालीहरूले भन्ने गरेको जूनको घरनजिकै आएका छौँ हामी । पिक टावरलाई नेपालीहरूले राखिदिएको नाम हो जूनको घर । हाम्रा पैताला अगाडि फड्किरहेछन् निरन्तर । म यही टावरतिर दृष्टि लगाउँछु, टावर देखिन्छ । मन झन् रोमाञ्चित बन्छ ।
पीक टावर पहिलोपटक हङकङका वास्तुकार चुङ वाह नानद्वारा सन् १९७१ मा डिजाइन गरिएको थियो । सन् १९७२ अगस्त २९ देखि सर्वसाधारणका लागि यो टावर खुला गरियो । टावर रेष्टुरेन्ट, पश्चिमी रेष्टुरेन्ट, कफी शप, चिनिया रेष्टुरेन्ट आदि रहेको यो टावर सन् १९८१ सम्म खुला रह्यो । यस टावरलाई सन् १९९३ मा भत्काइयो । बेलायती आर्किटेक्ट टेरी फरेलले डिजाइन गरेको दोस्रो टावरको निर्माण कार्य सन् १९९७ मा सम्पन्न भयो । यस टावरका सात वटा तलाहरू छन् भने यसको कुल क्षेत्रफल १०,४०० बर्गमिटर रहेको छ ।
पीक टावर फुर्सदको समयमा भावनाका तरङ्गहरूसँगै सुन्दरतासँग कावा खाने अनि शपिङ गर्ने एक शपिङ परिसर हो । परिसरतिर बगिरहेका पर्यटकहरूको लहरमा छौँ हामी । केही सुरक्षाकर्मी हात र हातका औँलाहरूले गन्तव्यतिर सङ्केत गरिरहेछन् हामीलाई । मेरा पैताला पीक टावरको प्रवेशद्वारलाई चुम्न आतुर छन् । भ्रमणकारीहरूको लाइन लरर अगाडि बढिरहेछ । म जूनको घर हेर्दै रोमाञ्चित बनिरहेछु । पूर्वी एसियन पर्यटकहरू हिँड्दै आआफ्ना भाषामा कुरा गरिरहेछन्, फोटाहरूमा कैद गरिरहेछन् सुन्दर दृश्यहरू । टङ्क दाजु लौ आउनुस् भन्दै प्रवेशद्वारबाट भित्र छिर्नुहुन्छ, मेरा पैतालाहरू मलाई भित्रतिर हुत्याउँछन् । भित्र विशेष पसलहरू छन्, मान्छेहरूको भिड छ पसलहरूमा । यहीँ छन् विश्व प्रसिद्ध फेसन मोडल, गायिका निकोल किड्मनलगायतका कलाकारहरूका तस्बिर । यी तस्बिरहरूले फेसन सामग्रीहरूको व्यापारी आकर्षणमा अर्थ राख्छन् । म किड्मनको छेउमा उभिन्छु र यिनीसँगै फोटोमा कैद हुन्छु । टङ्क दाजुको मोलाइलबाट दाजुलाई पनि म फोटोमा कैद गर्छु । हामी लिफ्टको बगाइतिर आकर्षित हुन्छौँ । लिफ्ट माथितिर बगिरहेछ सलल । मेरा पैताला लिफ्टको चुम्बनमा बेस्सरी टाँसिन्छन् । लिफ्ट माथिल्लो तला चढ्छ मसहितका पर्यटकहरूलाई उचालेर । हरेक तलामा सुरक्षाकर्मी छन्, पर्यटकहरूलाई अनुसाशित र व्यवस्थित गर्ने कर्तव्यहरूमा खटिएका छन् । हामी हरेक तलामा थोरै घुम्दै र लिफ्टमा टाँसिँदै केही तला माथि उक्लिन्छौँ । झर्नेहरूको लर्को अर्को लिफ्टमा छ, यो चढ्नेहरूको मात्र लिफ्ट भएकाले लाम मिलेको छ, सबै पङ्क्तिबद्ध छौँ । फोटो खिचिदिने विज्ञापन गर्छन् सम्बन्धित कर्मचारी, हामी भने छततिरै उक्लन्छौँ ।
पीक टावर अर्थात् जूनको घरमाथि चढेका छौँ, छत फराकिलो छ । पर्यटकहरूको घुइँचो छ, ओहोरदोहोर गर्नेहरूको लावालस्कर छ । केही दर्जन पर्यटक लामबद्ध छन् फोटो खिच्नका लागि । म भने छेउको रेलिङमा आड लागेर सेन्ट्रल हङकङ र काउलुनतिर आँखा फिजाउँछु । आश्चर्य र खुसी एकैपटक शरीरभरि तरङ्गित हुन्छन् । वाह ! क्या सुन्दर हङकङ ! मेरो मुखबाट एक्कासि आश्चर्य र खुसी बाहिरिन्छ । म सम्हालिँदै सम्झिन्छु, मेरो देशका सुन्दरताहरूलाई यस्तै तरिकाले व्यवस्थित गरेको भए आज यहाँ आएर मैले आश्चर्य र हर्ष मान्नुपर्ने थिएन । म गम्भीर सोचमा डुब्न थाल्छु, टङ्क दाजु भने आफ्नो क्यामरा अन गरी फोटाहरू खिच्दै हुनुहुन्छ । सेन्ट्रल हङकङका भव्य भवन, बीचमा सुन्दर समुद्र अनि समुद्रपारि कावलुन शहरको भव्यताले मलाई पटकपटक तानिरहेछन् । अलि टाढाका दृश्यहरूलाई भने बादलले गम्लङ्ग अँगालो हालेको छ र आफ्नै गर्भमा लुकाएर राखेको छ । बाँसका तामाजस्ता गगनचुम्बी आईसीसी र आईएफसी टावरको भव्यता समुद्रमा उभिएर समुद्रकै कामुक प्रेममा मग्न दृश्यले खुब तान्छ मलाई । रेलिङमा छाती टेकाएर भिक्टोरिया हार्बर र हङकङ आइल्याण्डलाई गहिरिएर नियाल्छु म । समुद्रमा ठूला पानीजहाज, फेरी र डुङ्गाहरू आवतजावत गरिरहेछन् । समुद्रको तटमा चुपचाप बसिरहेका छन् केही फेरी र डुङ्गाहरू । एक किशोर मेरो नजिकै आउँछन् र भन्छन्, ‘आउनुस्, फोटो खिच्नुहोस् र एक ताजा सम्झना लैजानुहोस् ।’
टङ्क दाजु आफ्नो फेसबुक आइडीबाट मलाई फेसबुक लाइभमा ल्याउनुहुन्छ । यता मेरो मोबाइल अफ भएकाले मैले धेरै कुरा गुमाएको अनुभूति गर्दै छु । फोन सम्पर्क गर्नुहुनेहरूलाई मैले लाइभमै मेरो फोन अफ भएको जानकारी गराउँछु । टङ्क दाजु मलाई यस यात्राका बारेमा चर्चा गर्न लगाउनुहुन्छ । म आफूले कल्पना गरेभन्दा नितान्त फरक यात्रा भनी चर्चा गर्छु । यस्तो हुनुका कारण पीक टार्म यात्रा र पीक टावरबाट देखिएका सुन्दर दृश्यहरू हुन् भन्ने कुरा पुष्टि गर्छु । मलाई चिन्ने र नचिन्ने व्यक्तिहरूका लाइक र कमेन्टहरू आउँछन् । यसले मेरो हङकङ यात्रालाई अझ पुष्टि गर्छ । हामी लाइभबाट फेरि दृश्यावलोकनतिरै लाग्छौँ ।
टङ्क दाजु मतिर हेर्नुहुन्छ र सोध्नुहुन्छ, ‘फोटो खिच्ने हो ?’ म उत्तर दिन्छु, ‘नखिच्ने दाजु, हामीसँगै क्यामरा छ त किन पैसा तिरेर फोटो खिच्नु ? फेरि महङ्गो पनि छ होला नि !’ ‘सम्झनाका लागि पैसाको के कुरा भयो र ? आउनुस् ।’ भन्दै टङ्क दाजु लाइनमा उभिनुहुन्छ । म पनि लाइनतिरै अगाडि बढ्छु । लाइनमा छन् १२ व्यक्ति, चाँडै पालो आउने अवस्था छैन । कर्मचारी भने हाम्रा व्याग, छाता, क्यामरा र ट्राइपड टोकरीमा राख्न अनुरोध गर्छन् । म एकछिन दृश्यहरू हेरौँ, हामी आफ्ना फोटाहरू खिचौँ र खालि हुँदा यहाँ फोटो खिचौँला भन्छु । टङ्क दाजु यिनै कर्मचारीसँग कुरा गर्नुहुन्छ । हामी लाइनबाट निस्कन्छौँ र रेलिङमा आड लाग्दै फोटा खिच्ने जोडीहरूका ठाँटबाँठ, स्टाइल र अभिनय हेर्छौं । फोटो खिच्ने पालो आएको छ दक्षिण एशियन एक जोडीको । यिनीहरूलाई विभिन्न भावभङ्गीमा फोटो पोज दिन लगाउँछन् कर्मचारी र फोटोग्राफर फोटाहरू खिच्छन् । युवक आफ्ना दुई हात युवतीका दुई कुममा टेको लगाउँछन् र युवतीको छातीका आकर्षक जोडी पहाडबीचमा टाउको घुसार्दै फोटो खिच्न पोज दिन्छन् । युवती पनि बडो हर्षित छिन्, यिनीहरू रमाइरहेछन् एकअर्काको रुमानी प्रेममा । हामी दर्शकका आँखाहरू पनि रमाउँछन् यस्ता दृश्यहरूमा ।
मेरो ध्यान खिचिन्छ वान चाई र कावलुनतिरै । म फेरि बारमा छाती टेकाएर बैँसालु वान चाईतिरै ढल्किँदै हेर्छु निर्माण र विकासका अद्भूत दृश्यहरू । सेन्ट्रल हङकङमा गुजुप्प बनी उभिएका गगनचुम्बी भवनहरू स्टारफेरी समुद्रको अँगालोमा बेरिन आतुर छन् । अलि पर देखिने कावलुनका भवनहरू दर्शक बनी उभिन तयार छन् । कस्तो सम्मोहन, कति रोमाञ्चित ! मन फेरि फुरुङ्ग बन्छ, आँखाहरू उत्साहित बन्छन् । टङ्क दाजु घाँटीमा छिराई कुममा भिरेको आफ्नो क्यामरा दायाँ हातमा लिई अन गर्नुहुन्छ र मेरा फोटाहरू खिचिदिनुहुन्छ । मेरो चाहना मैले उतै हेरिरहेको अवस्थामा मेरो फोटोसँगै कावलुन, आईसीसी टावर, स्टारफेरी, वान चाई र आईएफसी टावर सबै आओन् भन्ने हो । टङ्क दाजु मैले चाहेजस्तै गरी फोटाहरू खिचिदिनुहुन्छ ।






