
लन्डन माघ १० । मनोक्रान्तिका अभियन्ता योग गुरु डा. योगी विकाशानन्दले कोरोना भाइरसविरुद्ध लड्न ‘१० भ्याक्सिन सुत्र’ बारे जानकारी दिएका छन् ।
कम्युनिटी एण्ड नेचर (क्यान) इन्टरनेश्नल, अल्डरसट इम्पावरमेन्ट ग्रुप र हिमालयन योगा स्टुडियो यूकेले शनिबार जुम प्रविधिमार्फत हेल्थ, ह्यापीनेश र वेल्थबारे संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा आफ्नो अनुभव सुनाउने क्रममा डा.योगीले ती सुत्र सुझाएका हुन् । उनले अहिलेको कोभिड १९ (Covid-19) को विषम परिस्थितिमा कसरी मन, शरीर र आत्मालाई बलियो राख्ने भन्नेबारे १० भ्याक्सिन अथवा सुत्र सुनाए ।
डा. योगीका सुत्रहरु
१. डर, त्रास, रिसराग हटाउने
२. बिहान उठ्ने बित्तिकै मनतातो दुई गिलास पानी पिउने
३. चिसो पानीमा नुहाउने । चिसोमा नुहाउन नसके पहिले तातो पानीले र पछि चिसोले नुहाउने
४. नांगो खुट्टाले बाहिर हिँड्ने जसलाई ग्राउन्डिङ भनिन्छ ।
५. घाम ताप्ने ।
६. सधैं आधा घण्टा व्यायाम गर्ने
७ भोजनमा फलफूल खाने । काजु, पेस्ता, बदाम, गाँजाको बियाँ, मह प्रयोगमा ल्याउने । ती खानेकुरामा चकलेट पाउण्डर दुई चम्चा मिसाउने । चकलेटमा म्याग्नेसियम हुन्छ । म्याग्नेसियम कम भएमा मान्छे झगडालु हुन्छ ।
८ खुसी हुने । जसका लागि नाच्ने, उफ्रने, गाउने लगायत
९ ध्यान गर्ने ।
१० माया गर्ने
कार्यक्रम संयोजक मान गुरुङले अतिथि वक्ता डा. योगी विकाशानन्दलगायत उपस्थिति महानुभावहरुलाई स्वागत गर्दै कार्यक्रमलाई सहयोग पुर्याउने CAN International का डाइरेक्टर डा बलराम ढकाल, हिमालयन योग स्टुडियोका डाइरेक्टर नगेन्द्र नेम्बाङ, एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङ र २१ दिने वेलनेस क्लासमा आउने विद्यार्थीहरु र पहिला-पहिला पनि अल्डरसट इम्पारमेन्टरले आयोजना गर्दा सहयोग पुर्याउनेहरुलाई विशेष धन्यवाद दिए । उनले गुरु डा योगी विकाशानन्दको छोटो बायोग्राफी पनि सुनाएका थिए ।
त्यसपछि गुरु डा योगी विकासानन्दले अहिलेको समयमा हाम्रो मन, शरीर र आत्मालाई शुद्ध र बलियो राख्ने उपायहरु सुझाएका हुन् । त्यसैगरी कार्यक्रमको प्रश्नोत्तर सञ्चालन नगेन्द्र नेम्वाङले गरेका थिए ।
अन्त्यमा संयोजक मान गुरुङले गुरु डा योगी विकाशानन्द, सहयोगीहरु र उपस्थित महानुभावहरुलाई धन्यवाद दिइ गुरुलगायत सम्पूर्ण महानुभावहरु बिदा भन्दै कार्यक्रम अन्त्यको घोषणा गरेका थिए ।
उक्त समूहले गत ९ जनवरीदेखि प्रत्येक दिन बिहान १० बजेदेखि ११ बजेसम्म स्वास्थ्य सम्बन्धी सेसन संचालन गर्दै आउने क्रममा १४ औं दिनको सेसनमा डा. योगीलाई विशेष अतिथिको रुपमा आमन्त्रण गरिएको हो । क्यान इन्टरनेश्नका डा. बलराम ढकालको बिशेष सहयोगमा आयोजना भइरहेको उक्त सेसनमा मनोक्रान्ति बेलायतका प्रवर्तक योगी नगेन्द्र नेम्वाङले योग, ध्यान, व्यायाम, रेकी संगसंगै बाँच्न कलाबारे आफ्नो अनुभव सुनाउँदै आएका छन् । त्यस्तै, उक्त सेसन्सका संयोजक एवं ताईची प्रशिक्षक मान गुरुङले ताईची प्रशिक्षण, पश्चिमी हिलिङ्ग, भोजन संगसंगै वेलनेस लगायतको विषयमा प्रशिक्षण दिँदै आएका छन् ।
पछिल्लो समय विश्वभर पूर्वीय दर्शनमा आधारित योग, ध्यान र व्यायामको महत्व बढ्दै आउने क्रममा सो समूहले उक्त सेसनको आयोजना गरिएको संयोजक मान गुरुङले बताए । त्यस्तै, मनोक्रान्ति बेलायतको समेत प्रवर्तक रहेका हिमालयन योगा स्टुडियोका निर्देशन नेम्वाङले डा. योगी विकाशानन्दले यसभन्दा अघि पनि बेलायतवासी नेपालीबीच अनुभव सुनाउँदै र योगा सिकाउँदै आएका छन् ।






