लन्डन माघ २१ । विश्व नेपाली साहित्य महासंघ पश्चिमा शाखा (विनेसाम) बेलायतमा आबद्ध स्रष्टाहरुले भर्चुअल रुपमा रचना वाचन गरेका छन् ।
बीएसबीए रेडियोबाट प्रसारण हुने कार्यक्रम ‘सिर्जनाका फूलहरू’ का लागि विनेसामका ९ पदाधिकारी तथा सदस्यले जनवरी ३१ तारिखका दिन भर्चुअल प्रविधिमार्फत शुभकामना र सिर्जना वाचन गरेका हुन् । विनेसाम बेलायतकी मिडिया कोअर्डिनेटर गोमा रानाका अनुसार ‘सिर्जनाका फूलहरु” कार्यक्रममा विनेसामका अध्यक्ष लालसुन्दर राई (अध्यक्ष), खेम गुरूङ ( प्रमुख सल्लाहकार), भरत लोहोरूङ राई, जानु काम्बाङ लिम्बु, नानु थापा राना, गोमा राना, जित बुढाथोकी छन्त्याल, होम किरात सुनुवार, मुकेश राई र संगीतकार पदम गुरूङलगायतलले आ-आफ्ना शुभकामना वा रचनाहरु सामूहिक रुपमा प्रस्तुत गर्दाको रोचक अनुभव सुनाएका थिए ।
विभिन्न कारणले विदेशिएका नेपालीहरुको आफ्नो भाषा, धर्म, संस्कार र सांस्कृतिको जगेर्ना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको मिडिया कोअर्डिनेटर रानाले बताइन् । प्रमुख सल्लाहकार (विनेसाम) बिएफबिएसका पूर्व (General manager) खेम गुरुङले विगतका आफ्नो अनुभव सुनाउँदै खुसी व्यक्त गरेका थिए । ‘सिर्जनाका फूलहरू’ कार्यक्रमका प्रस्तोता योगराज राईले कार्यक्रममा सहभागी स्रष्टाहरुलाई धन्यवाद दिँदै शृंखलाबद्ध रुपमा प्रसारण गर्दै जाने बताएका थिए ।
अन्त्यमा संसारभरि प्रचलित नेपालीहरुको ढुकढुकी बिएफबिएस गोर्खा रेडियोलाई अध्यक्ष लालसुन्दर राईले विनेसामको तर्फबाट धन्यवाद ज्ञापन गरेका थिए ।






