बेलायती सर्जकहरूले भव्य रूपमा मनाए मातृभाषा साहित्य उत्सव

SHARE:

लन्डन फागुन १० । बेलायतमा पछिल्लो चार वर्षयता साहित्यिक गतिविधिहरू बाक्लिएर गएका छन् । विविध विधामा संस्थागत क्रियाकलापहरू हुँदै आएतापनि आइतबार भने फरक ढङ्गमा सर्जकहरू एक ठाउँ आए । विभिन्न समुदायका मातृभाषी सर्जकहरूलाई बेलायतमा पहिलो पटक विश्व नेपाली साहित्य महासङ्घ, साउथ यूकले एकसाथ जुटाएको थियो ।

२२ औँ विश्व मातृभाषा दिवसका अवसर विनेसाम साउथ यूकेले आयोजना गरेको मातृभाषा साहित्य उत्सवमा बेलायत र नेपालमा रहेका १६ आदिवासी जनाजाति समुदायका स्रष्टाहरूले आफ्नो मातृभाषामा रचना सुनाएको अध्यक्ष विजय हितानले जनाए । उनले यूकेमा सक्रिय रहेका साहित्यकारहरू र नेपालमा रहेका मातृभाषी सर्जकहरूलाई एकापसमा जोड्न उत्सव सफल रहेको प्रतिक्रिया दिए ।

भर्चुअल माध्यम जुमबाट भएको उत्सवमा प्रमुख वक्ताका रूपमा नेपालबाट सम्बोधन गर्दै आख्यानकार राजन मुकारुङले विभिन्न जातीय समुदायका भाषाहरूलाई राज्यले उपोगिता र उत्पादनसँग जोड्नुपर्ने धारणा राखे । ‘उपभोक्तवादी संस्कारका कारण भाषाहरू सङ्कटमा परेका छन् । यसले राज्यलाई उदासीन हुन सहयोग पुगेको छ । जुनकारण हाम्रा भाषाहरू मृतप्रायः र लोपोन्मुख अवस्थामा छन्,’ उनले भने, ‘अब भाषा संरक्षणको काम मात्रै होइन । हामीले बोल्ने भाषालाई राज्यको सेवा सुविधा पाउने हैसियतका रूपमा समेत उभ्याउनुपर्छ ।’ मातृभाषाको संरक्षणका लागि सम्पूर्ण आदिवासी जनजाति समुदायका स्रष्टाहरू एकत्रित हुँदै सामूहिक रूपमा आन्दोलित हुनुपर्ने आदिवासी जनजाति साहित्यकार महासङ्घ, नेपालका संयोजक समेत रहेका मुकारुङले जोडे ।

उत्सवको सहयोगी संस्थाका रूपमा रहेको नेपाल आदिवासी जनजाति महासङ्घ(नेफिन) यूकेका अध्यक्ष जङ्ग सुनुवारले प्रवासमा रहेका नेपालीहरूको संस्कृतिलाई जीवन्त राख्न आदिवासी कला, भाषा, कला र संस्कृतिले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले राज्यले योजना बनाएर सबै मातृभाषाहरूलाई समान अवसर दिनुपर्ने राय राखे । ‘राष्ट्रभाषाको संरक्षणमा साहित्यले सबैभन्दा ठूलो भूमिका निर्वाह गर्छ । पुस्तान्तरण गर्न पनि हाम्रो रैथाने भाषामा साहित्य, कला, सङ्गीत सिर्जना हुनुपर्छ,’ सुनुवारले भने । उनले भविष्यमा नेफिनले भाषा तथा साहित्यका क्षेत्रमा भविष्यमा थप सहकार्य गर्न तयार रहेको बताए ।

आ–आफ्नो मौलिक जातीय साँस्कृतिक पहिरनमा उत्सवमा उपस्थित भएका सर्जकहरूले कविता, गीत, सङ्गीत र मौलिक जातीय विधाहरूमार्फत जातीय उत्पीडन, थातथलोप्रतिको प्रेम, प्रवासीको पीडाबारे आफूलाई प्रस्तुत गरे । उत्सव संयोजक एवम् विनेसाम साउथ यूकेका सचिव अमित थेवेका अनुसार यूके बाहेक नेपालबाट चार प्रदेश र प्रवासबाट बहराइनका मातृभाषी सर्जकहरू सामेल भएको जानकारी दिए । उत्सवमा नेवार भाषामा अहिल्या सुवाल, सुशील प्रजापति, छन्त्यालमा जित छन्त्याल, मीना छन्त्याल, तामाङमा जय तामाङ, सिर्जना गोले, याक्थुङ लिम्बुमा सुवर्ण नेम्वाङ, लीला सेलिङ माबो, काजीमान लिम्बु, वाम्बुले राईमा गणेश वाम्बुले राई, झरना वाम्बुले, लोहोरूङ राईमा भरत लोहोरूङ, थुलुङ राईमा सञ्जीव पारदर्शी, खस डोटेलीमा टेक बहादुर थापाले वाचन गरेका थिए ।

त्यस्तै, धिमाल भाषाबाट डम्बर धिमाल, मगरबाट जग बहादुर बुढा मगर, हिक्मत सिं रोका मगर, विष्णु रोका मगर, घन थापा, देवी आले, गोमा राना, शेर्पाबाट कर्मा पहाडी शेर्पा, सिङ्सा भोटियामा निमा पोङ्सुवा, सुनुवारमा होम सुनुवार, भावना परिष्कृत सुनुवार, तमु भाषामा रोशनी गुरुङ, एकिन्द्र गुरुङ, औतारी साइला, थारू भाषामा उर्मिला गम्वा थारू, याक्खामा घनेन्द्र जिमी, धनु कोम्फ्रेन, चाम्लिङ राईमा लालसुन्दर राईले रचना सुनाए । कार्यक्रममा थिर थापाले नेवारी भाषामा, सुरेन्द्र इङ्नामले बाँसुरीबाट हाक्पारे साम्लो, भोजकमारी थोक्लेन लिम्बुले पातबाट र सुर्वण नेम्वाङले कोःम(बिनायो)बाट साङ्गीतिक धुन प्रस्तुत गरे । संयुक्त राष्ट्र सङ्घको साँस्कृतिक निकाय यूनेस्कोको आह्वानमा सन् २००० देखि प्रत्येक वर्षको फेब्रुअरी २१ तारिखमा विश्व मातृभाषा दिवस मनाइँदै आएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!