बेलायती विभेदविरुद्ध नयाँ अभियान सुरु हुन्छ : गुरुङ

SHARE:

काठमाडौं । बेलायतबाट गोर्खा सैनिकमाथि भएको विभेदको प्रतिकका रुपमा रहेको स्याङ्जाको साल्मेडाँडामा निर्माणाधिन गोर्खा स्मारक आगामी कात्तिकसम्ममा बन्ने भएको छ ।गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का संस्थापक अध्यक्ष तथा गोर्खा स्मारक कोषका अध्यक्ष पदमबहादुर गुरुङले स्मारक बनाउनका लागि आवश्यक प्रक्रिया अघि बढेको भन्दै आगामी कात्तिमसम्ममा बन्ने जानकारी दिनुभयो ।पहिलो र दोस्रो विश्वयुद्धमा नेपालीहरुलाई होमेर बेलायतले मानवअधिकार विरुद्धको काम गरेको भन्दै वीर गोर्खालीको सम्झनामा स्मारक बनाउन लागिएको हो । गोर्खा स्मारक बनाउनका लागि गोर्खाली समुदाय र नेपाल सरकारले सहयोग गर्दै आएको छ ।

गोर्खा स्मारक बनाउनका लागि गेसोका वर्तमान अध्यक्ष कृष्णकुमार राई, देवीमाया पुन र प्रेम गुरुङको अथक मेहनत र परिश्रम रहेको बताउँदै अध्यक्ष गुरुङले यो अभियान सबै गोर्खालीहरुको सामूहिक अभियान भएको स्पष्ट गर्नुभयो ।

गेसोको निरन्तर २७ वर्ष नेतृत्व गर्दै गोर्खा भूपूहरुलाई समान न्यायका लागि पदमबहादुरले आन्दोलनको नेतृत्व गर्दै आउनुभएको थियो । पदमबहादुरले दुई वर्षअघि गेसोका वरिष्ठ उपाध्यक्ष कृष्णकुमार राईलाई नेतृत्व हस्तान्तरण गर्नुभएको थियो ।

गोर्खालीमाथि भएको विभेद, युद्धमा मारिएका र बेपत्ता पारिएका गोर्खालीहरुको सम्मानका लागि आफूले नयाँ अभियान सञ्चालन गर्ने पनि अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

हेर्नुहोस पूरा प्रेस विज्ञप्ति–

प्रेस विज्ञप्ति

पत्रकार साथीहरु,
मैले गेसोको नेतृत्व छाडेपछि दुई पल्ट बेलायत गएँ, यसपालि तेत्तीस दिन बसेँ । बेलायतको आसफोर्ड, बेजिङस्टक लगायत तेह्र ठाउँमा साथीहरुसँग भेटघाट गरेँ । मेरो बारेमा चलाएका विभिन्न अफवाहहरु साथीहरुले सुनाए । बेलायतमा भत्ता खाएर बस्ने बुढाबुढीहरु विभिन्न पार्कहरुमा भेला भएर आफूले सुनेका कुराहरु एक अर्कालाई बताउँछन् । त्यहाँ गेसोका समर्थक र विरोधी भएर दुई पक्षबीच भनाभन तथा झगडा समेत गर्दछन् । एक दिन म नचिनिँदो भएर बुढाबुढीहरुले ठूलोठूलो स्वरमा हल्ला गरिरहेको ठाउँ अल्डरसटको पार्कमा गएर छेउमा बसेँ । एकथरीले भन्दै थिए— ‘पदम भनेको चोर हो, फटाहा हो । साल्मेडाँडाको लालपुर्जा पनि उसको नाममा छ अरे । अर्को थरी भन्दै थिए— पदमले गर्दा हाम्रो पेन्सन बढ्यो । हामी बेलायत आउन पायौँ । हाम्रो सन्तान पनि आउन पाए । यस्तो काम त राजाले पनि गर्न सक्दैन । पदम हाम्रो भगवान हो ।’
मैले हाँसो रोक्न सकिनँ, हाँसिहालेँ । सबैले मलाई हेरे, अचम्म माने । कसैले भने तिमीलाई नभेटी मरिन्छ कि भनेको भाग्यले आज भेट भयो भन्दै आँखाभरी आँशु बनाउँदै अँगालो मार्न आए । सबैसँग हात मिलाएँ । मेरै विरोध गर्नेले पनि दश, बीस, पचास पाउण्ड गोजीबाट निकाल्दै पकेट खर्च भन्दै दिए । सबै साथीहरुको कुरा सुनिसकेपछि मेरो नेतृत्वमा अकल्पनीय सफलता प्राप्त गरेको ऐतिहासिक सफलतालाई समाप्त पार्न चौतर्फी षड्यन्त्र भइरहेको मैले महसुस गरेँ ।
मैले घर परिवार सवै त्यागेर २७ वर्षसम्म रगत र पसिना वगाएर निर्माण गरेको ईतिहासलाई समाप्त पार्न रचिएको चौंतर्फी षडयन्त्रको डटेर सामना गर्न अब मुकदर्शक बनेर नबस्ने निर्णय लिएको छु । गेसोको संस्थापक सभापतिको हैसियतमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको बिभिन्न कार्यक्रम सहित गोरखा भर्तिले नेपालीहरुको स्वाभिमान र स्वाधिनतामा लागेको कालो दागलाई मेटाउन शसक्त नेतृत्व गर्दै अघि बढ्ने निर्णय गरेको छु । मेरा कार्यनीतिका वुंदाहरु के के हुन् भन्ने सम्बन्धमा हाल गेसोको नेतृत्वले संयुक्त रुपमा नेपाल र वेलायत सरकारलाई दिएको ज्ञापन पत्रको परिणाम नआएसम्म सार्वजनिक गरिने छैन ।
साथीहरु,
मेरो नेतृत्वले प्रथम चरणको आन्दोलन सफल भएपछि दोश्रो चरणको आन्दोलनको रुपमा नेपालका तत्कालिन श्री ३ महाराजाहरु र वेलायती साम्राज्यवादको आ–आफ्नो स्वार्थमा नेपालसँग कुनै सरोकार नै नभएको प्रथम र दोस्रो विश्व युद्धहरुमा नेपाली युवाहरुलाई वलजफ्ती युद्धमा लगेर अन्यायपूर्वक मारिएका र वेपत्ता पारेर अहिलेसम्म पनि कुनै सूचना नदिएका हजारौंं नेपालीहरुको सम्झना र सम्मानमा नेपालको गौंरवशाली, विश्व कै विशाल गोरखा समाधि निर्माण गर्ने घोषणा गर्यौं । कुनै प्राविधिक वाधा अड्चन नआएमा आगामी कार्तिक महिनासम्ममा प्रथम चरणको निर्माण सम्पन्न हुने खुशीको खबर पत्रकार साथीहरु मार्फत दिन चाहन्छु ।
यो समाधिको नेपाल र वेलायतका सम्माननीय प्रधानमन्त्रीज्यूहरुवाट संयुक्त रुपमा उद्घाटन हुने कुराको जानकारी गराउन चाहन्छु । स्मरण रहोस, कुनै पनि वेलायतका प्रधानमन्त्रीहरुले आफ्ना राष्ट्रसेवक गोरखाहरुको जन्मभूमी नेपालमा अहिलेसम्म खुट्टा टेकेका छैनन् । यसको पछाडी ठूलो रहस्य लुकेको छ । एक दिन सवैले थाहा पाउने नै छन् । उद्घाटन समारोहको सभापतिमा गेसोको सभापति कृष्णकुमार राईलाई आसनग्रहण गराईने छ साथै गेसोका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई निमन्त्रणा गरिने छ । मेजर तिकेन्द्र दल देवान, ज्ञानराज राई तथा विभिन्न संगठनका साथीहरुलाई पनि निमन्त्रणा गरिने छ ।
हामी सम्पूर्ण भू.पू. शैनिकहरु एकजुट भएर आन्दोलन गरेको हुनाले नै विश्वमा चर्चित गोरखा समाधिको परिकल्पना गर्न सकेका हौं । यस्तो ऐतिहासिक आन्दोलनको सफलताको उपलक्षमा म सम्पूर्ण भू. पू. शैनिकका दाजुभाइ दिदीवहिनीहरुमा विनम्र अनुरोध गर्दछु की अव हामी साना मसिना कुराहरुमा नअलमली फुटेर हैन जुटेर एक ढिक्का भएर अघि वढ्न अनुरोध गर्दछु । विदेशी भूमीमा रोईरहेका पितृहरुको अन्तरआत्माले पनि हामीहरुलाई यही सन्देश दिई रहेकाछन् ।
साथीहरु,
नेपालले वेलायती साम्राज्यवादीसँग खोज्नु पर्ने हरहिसाव धेरै नै बाँकी छ, यस्तो हिसाब खोज्न सक्ने मजवुद प्रमाणको रुपमा युद्धमा लगेर अन्यायपूर्वक मारिएका हजारौं पितृहरुको नाममा साल्मेडाँडामा व्रिश्वले छर्लंग देख्न सक्ने गरी नेपालका १९ जात जाति जनजातिहरुको विश्वकै विशाल गोर्खा समाधि निर्माण गरेका छौं ।
१९ जातका धर्म गुरु र कन्याहरुले साल्मेडाँडामा २०६९ मंसिरमा ३ दिनसम्म आ–आफ्नो जातीय संस्कार अनुसार काजकृया गरी विदेशी भुमिमा काँचो वायुको रुपमा भौतारिरहेको आत्मालाई बोलाएर त्यहाँ बास गराइसकेको कुरा धर्मगुरुहरुले घोषणा गरिसकेका छन् । यो बिना कारण मारिएका हजारौं पितृहरुको आत्माले बास गरेको समाधि भएको हुनाले यो समाधि बेलायती साम्राज्यवादले निर्माण गरेको एटमबमभन्दा पनि सयौं गुणा शक्रिशाली हुनेछ । यहाँबाट बोलेको आवाजले मात्र बेलायती साम्राज्यवादी शासकहरुको निद्रा हराम गराउन सकिन्छ ।
म कसैप्रति पूर्वाग्रह भएर उनिहरुले गरेका लगनशील योगदानलाई मेटाउने काम गर्दिन, यसो गर्न मेरो नैतिकताले पनि दिदैन । सच्चा साथीको पहिचान दुःखको बेलामा मात्र हुन्छ, दुःखमा साथ दिने मात्र सच्चा साथी हुन सक्छ । गेसो आन्दोलनको क्रममा घर परिवार त्यागेर २२ वर्षसम्म मेरो हर दुःख र कष्टमा साथ दिने सच्चा साथी कृष्णकुमार राई भन्दा अरु कोही हुन सक्दैन । मरो सहगोत्र रगतको भाइ पनि हुन सक्दैन ।
यसै गरी साल्मेडाँडाको निर्माणमा जग नै वसाल्न नदिने चौंतर्फी षडयन्त्र भैरहेको कठिन अवस्थामा कृष्णकुमार राई, देवीमाया पुन र प्रेम गुरुङ आदिले साथ नदिएको भए यो समाधि अहिलेको रुपमा देख्न हामीले कल्पनासम्म गर्न सक्ने थिएन । यस्तो साथीहरुलाई पाखा लगाउनु मेरो धर्म होईन ।
पत्रकार साथीहरु,
म २७ वर्षसम्म गोरखा व्रिगेडका साथीहरुको अधिकारका लागि लडें, अव तेश्रो चरणको लडार्इं गोरखा भर्तिले नेपालको सार्वभौंमिकता माथि लागेको कालो दागलाई मेटाउने लडाईं लड्नेछु । यो राष्ट्रिय स्वाधिनताको शान्तिपूर्ण लडाईमा एकजुट हुन आव्हान गर्दछु । वेलायती साम्राज्यवादी नेपालको कहिले पनि अशल मित्र हुन सक्दैन । विगतको ईतिहासले यही कुरा भनिरहेको छ । यो शान्तिपूर्ण लडाईको गोरेटो कोरेर म जग बसाली दिनेछु । यसलाई सम्पन्न गर्ने जिम्मा गेसोका अनुभवि नेता कृष्णकुमार राई र सडक लडाई लडी खारिएको नेता ज्ञानराज राईलाई जिम्मा दिई म पनि विदा हुनेछु ।
अन्तमा, बेलायतमा भत्ता खाएर बसेका बृद्धहरुलाई २८ दिनभन्दा ज्यादा नेपालमा बसे भत्ता काटिदिन्छु भनेर मानसिक यातना दिइरहेको छ । बेलायत सरकारलाई म चुनौति दिन्छु कि यी बृद्धहरु शरणार्थी होइनन् । बेलायतको आशिर्वादले त्यहाँ बसेका पनि होइनन् भन्ने कुरा राम्ररी बुझ्नु जरुरी छ । यी योद्धाहरु बेलायती साम्राज्यवादको सार्वभौम बचाउनका निमित्त विश्वसँग लड्दै हिडेका योद्धाहरु हुन् । बेलायतको समृद्धिमा यी योद्धाहरुको योगदान प्रधामन्त्री थेरेसा मेको भन्दा रत्तिभर कम छैन । त्यसकारण नेपाल हाम्रो जन्मभुमि हो, बेलायत कर्मभुमि । जन्मभुमि र कर्मभुमिको अधिकार खोस्ने अधिकार विश्वका कुनै शासकलाई हुदैन भन्ने कुरा राम्रोसँग बुझ्नु जरुरी छ । यदि यी बृद्धहरुलाई भत्ता दिएर बेलायती शासकलाई आर्थिक भार प¥यो भन्ने लाग्छ भने सन १९४८ देखि १९५८ सम्म मलायका कम्युनिष्टहरुको विरुद्ध युद्ध लडाउदा प्रत्येक गोर्खाको नाममा मलायन सरकारसँग कति रकम असुल गरेर बेलायतको ढुकुटीमा थुपारेको छ, लाज नमानिकन त्यो रकम खुरुक्क यी योद्धाहरुलाई फिर्ता गरिदेऊ । रक्तका पिपासु अपराधी शासकहरुले शासन गरेको भुमिमा कुनै पनि बृद्धहरु बस्दैनन् । सबै नेपाल फर्कने छन् ।
धन्यवाद ।

पदमबहादुर गुरुङ
संस्थापक सभापति
गेसो
२८ जेठ, २०७५

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!