लन्डन जेठ २ ।

‘छैटौं वातावरण साहित्य गोष्ठी’आगामी जुन ५ र ६ तारिखमा हुने भएको छ ।
इको मुक्तकहरू वाचनका साथ भर्चुवल माध्यम जूमद्वारा आयोजना गरिने वातावरणविद् एवं साहित्यकार विजय हितानले जानकारी दिए । उनका अनुसार गोष्ठीमा वरिष्ठ साहित्यकारद्वय प्रा। डा। खगेन्द्रप्रसाद लुइँटेल र प्रा.डा. गोविन्दराज भट्टराईको विशेष आतिथ्यता रहनेछ ।
पहिलो दिन ५ जुनको कार्यक्रममा इको मुक्तक वाचनका साथै इको कविताहरूको सङ्ग्रह ‘स्वच्छन्द सुसेलीहरू–२’ विमोचन गरिने छ भने दोस्रो दिन ६ जूनको कार्यक्रममा देवेन सापकोटाद्वारा लिखित ‘परिश्रान्त पृथ्वी’ इको कवितासङ्ग्रह विमोचन गरिने छ । ‘स्वच्छन्द सुसेलीहरू–२’ गत वर्षको पाँचौँ वातावरण साहित्य गोष्ठीमा वाचित इको कविताहरूको सङ्ग्रह हो । यसमा नेपाललगायत विश्वका नौ राष्ट्रका प्रवासी नेपालीहरूका कविता परेका छन् ।
गत वर्षका उत्कृष्ट दुई इको कविताका स्रष्टा गणेश राई र धर्मेन्द्र उपाध्यायलाई पनि यसपल्ट पुरस्कृत गरिने छ । पहिलो दिन नेपाल र बेलायतका अनि दोस्रो दिन भारत र विश्वका अन्य मुलुकका स्रष्टाहरूलाई प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गरिनेछ ।
विगतमा जस्तै यसवर्ष पनि बेलायतमा अवस्थित सम्पूर्ण नेपाली साहित्यिक संस्थाहरूसँग सहकार्यका साथ सहयोग र सहभागिताको अपेक्षा गर्दै यो गोष्ठी आयोजना गरिने उनले बताए ।






