वातावरण साहित्य गोष्ठीमा जुटे नौ मुलुकका स्रष्टा

SHARE:

लन्डन जेठ २४ । विश्वभरि जहाँ रहे पनि देश नेपालको परिस्थिति र परिवेशबारे स्रष्टाको बुझाइ उस्तै छ । विश्व वातावरण दिवसका सन्दर्भमा मुलुकको पर्यावरणप्रति आफ्ना रचनामार्फत उत्तिकै चासो जनाइरहेका छन् । विश्व नेपाली साहित्य महासंघ साउथ यूकेले आयोजना गरेको ‘छैटौं वातावरण साहित्य इको मुक्तक वाचन’ भर्चुअल गोष्ठीमा यसरी खबरदारी गरेका हुन् ।

कमजोर हुँदैछ सरकार, मियो बेचिँदैछ
चुरे बेचिँदैछ अचेल, बाबियो बेचिँदैछ
न भन्नू न ! कपास लाउँला बाती बनाउँला
आमा ! पाला बेचिँदैछ, यहाँ दियो बेचिँदैछ ।
…….
गिट्टी उतै छन्, ढुंगा–माटो, बालुवा अझ रोडा उतै छन्
लिपु, लिम्पिया, सिक्किम, दार्जिलिङ, अल्मोडा उतै छन्
लाटी ! बिस्तारै बिस्तारै सर्दैछन् सबथोक भन्नु हुन्छ बा
हेर्नुस् त कुर्सीहरूका पनि शिर उतै छन् गोडा उतै छन् ।

कवि पार्वती भट्टले डडेलधुराबाट यी रचना वाचन गर्दा लन्डनबाट गोष्ठीका संयोजक कवि विजय हितानलगायतले ताली पिटिरहेका थिए । भारत, अफगानिस्तान, जापान, हङकङ, इजरायल, युरोप, अमेरिका र बेलायतका स्रस्टा सहभागी गोष्ठीमा पोखराबाट प्राज्ञ कवि सरुभक्तले उसरी नै थपिदिए–

धर्ती दोहन गर्नुमा नै मेरो अपूर्व जित छ
हावापानी लुट्नुमा नै मेरो आफ्नो हित छ
लिप्सा केन्द्रित भएर मूढताले नसोच मान्छे
प्रकृति विनास भए तिम्रो विनास निश्चित छ ।

पर्यावरण अभियन्ता कवि सरुभक्तको गम्भीर रचना सुनेर विश्वभरिबाट ताली हुन् । बेलातयमा रहेका कवि विश्वासदीप तिगेलाले संसार वातावरण उत्सर्जनमा सबैभन्दा अग्रणी मुलुक र सबैभन्दा उत्पीडित मुलुकलाई सिर्जनामा उनेर सुनाए ।

मार्सल आइल्यान्ड, माल्दिभ्स र नेपालको कहर
चीन, अमेरिका, भारत र ब्राजिलको आफ्नै रहर
धन चाहिने जीवन नचाहिने ए शक्ति केन्द्रहरू हो
भविष्यमा बनाउँदैछौ मानवजीवन विनाको यो सहर ।

लालीगुराँस फूलाई सभाध्यक्ष मानेर गोष्ठीको आयोजना गर्ने गरिएको छ । यो पटक छैटौं वातावरण साहित्य गोष्ठीको पहिलो दिन महासंघद्वारा प्रकाशित तथा वातावरणविद् विजय हितानले सम्पादन गरेका इको कवितासंग्रह ‘स्वच्छन्द सुसेलीहरु–२’ प्राध्यापक खगेन्द्रप्रसाद लुइँटेलले सार्वजनिक गरे । दोस्रो दिन असमका कवि देबेन सापकोटाद्वारा रचित इको कवितासंग्रह ‘परिश्रान्त पृथिवी’ प्राध्यापक गोविन्दराज भट्टराईले सार्वजनिक गरेका थिए । यसैगरी पहिलो दिन ४९ जना र दोस्रो दिन ३० जना स्रष्टाले इको मुक्तक वाचन गरेका थिए ।

तमु साहित्यिक मञ्‍च नेपालकी अध्यक्ष गौरी तमू र असमबाट साहित्कार ज्ञानबहादुर क्षेत्रीले गोष्ठीको समीक्षा गरेका थिए । पाँचौं वातावरण साहित्य गोष्ठीमा उत्कृष्ट कविद्वय नेपालका गणेश राई र असमका धर्मेन्द्र उपाध्यायलाई दस हजार रुपैयाँ राशि तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!