राष्ट्रिय कविता महोत्सव–२०७८ सम्पन्न, भोजपुरकी कविता राई प्रथम

SHARE:

काठमाडौं असार ९ गते । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ६४ औँ वार्षिकोत्सवका अवसरमा बुधवार राष्ट्रिय कविता महोत्सव–२०७८ को आयोजना गरियो । कविता महोत्सवको कुलपति गङ्गाप्रसाद उप्रेतीले पानसमा दीप प्रज्वलन गरी समुद्घाटन गर्नुभएको थियो । कविता महोत्सवको सञ्चालन प्रज्ञा भवनबाटै गरिएको थियो भने कविता वाचन चाहिँ भर्चुअल माध्यमबाट गरिएको थियो ।

कार्यक्रमको सभाध्यक्षता गरिरहेका कुलपति उप्रेतीले समुद्घाटन मन्तव्य व्यक्त गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानले वि.सं. २०२२ सालदेखि असार ९ गतेका दिन आयोजना गर्दै आएको राष्ट्रिय कविता महोत्सव मुलुकको वाङ्मय क्षेत्रका लागि विशिष्ट पर्व भएको उल्लेख गरे । उनले महाकवि लक्ष्मीप्रसाद देवकोटाको परिकल्पनामा युगकवि सिद्धिचरण श्रेष्ठको पहलमा राष्ट्रिय कविता महोत्सवको थालनी भएको जानकारी गराउँदै भने– “कोरोना भाइरस (कोभिड–१९) ले निम्त्याएको निषेधाज्ञाका कारण यस पटक भर्चुअल विधिबाट कविता महोत्सव आयोजना गरे । यस पटक विदेशमा बसोबास गर्ने नेपाली कविलाई पनि सहभागी गराउन पाउँदा खुसी लागेको छ । हाम्रो प्रयास सार्थक भएको महसुस भएको छ ।”

सदस्य सचिव प्राध्यापक जगत्प्रसाद उपाध्यायले लकडाउनको फुर्सदिलो समयमा साहित्यकारले झनै राम्रा सिर्जना गर्न सफल भएको विचार व्यक्त गर्नुभयो । उहाँले प्रतियोगी कविले युगलाई प्रतिनिधित्व गर्ने खालका ऊर्जाशील विचारले युक्त सिर्जना पस्किएको बताउँदै भने– “२०२२ सालको महोत्सवमा भैरव अर्याल प्रथम भएर सुरु भएको महोत्सवको गरिमा पछिल्ला दिनमा झन् झन् बढ्दै गएको छ ।” कविता महोत्सवमा पुरस्कृत धरैजसो कविहरू स्थापित स्रष्टाको परिचय बनाउन सफल भएको उहाँको कथन थियो । गत साल कोभिडका कारण स्थगित कविता महोत्सव मङ्सिरमा आयोजना गरिएको थियो ।

कविता महोत्सवका संयोजक तथा साहित्य (पद्य/काव्य) विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले कविता महोत्सवसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै कविता महोत्सवले नेपाली भाषा, कला र साहित्यको प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुर्‍याएको बताए । उनले समसामयिक र यथार्थतामा आधारित रहेर सृजना गरिएका सन्देशमूलक रचना नै उत्कृष्ट हुने हुँदा कविहरूले कला पक्षलाई सशक्त बनाउनुपर्नेमा जोड दिए । प्राज्ञ पौडेलले देश तथा विदेशबाट जम्मा ७ सय ६४ जना कविले सहभागिता जनाएकोमा वाचनका लागि ४१ ओटा कविता छनौट भएको सुनाए । उनले कविता महोत्सवप्रति कविहरूको आकर्षण बढ्दो रहेको यसपालीको सहभागिताले पुष्टि गरेको उल्लेख गर्दै स्वदेश बाहिर रहेका आठ जना र देशका २० जिल्लाबाट प्रतियोगितामा सहभागिता रहेको जानकारी गराए ।

भर्चुअल माध्यमबाट भएको राष्ट्रिय कविता महोत्सव–२०७८ मा शरद पौडेल (क्यानडा), पशुपति सापकोटा (काठमाडौँ), विशाल सर्घाईं (दार्जिलिङ, भारत), टिएन भट्ट ‘विश्वामित्र’ (पर्वत), कमल शर्मा (आसाम, भारत), बिर्खे अन्जान (मकवानपुर), भवानी खतिवडा (काठमाडौँ), तर्कना शर्मा (स्याङ्जा), सिन्धु पौडेल (इजरायल), प्रमोदकुमार ढकाल (विराटनगर), निरञ्जनाकुमारी चन्द (बर्दिया), कमलराज केसी (अछाम), एलिना दुलाल (तेह्रथुम), बिन्दा पराजुली बराल (जापान), गोविन्दगोपाल खतिवडा (तनहुँ), खेमराज निरौला (ताप्लेजुङ), मोहनराज खनाल (म्यानमार), पञ्चकुमारी परियार (खोटाङ), गणेशप्रसाद खतिवडा (सोलुखुम्बु) तथा कविता राई (भोजपुर)ले आ–आफ्ना कविता वाचन गरे ।

यसैगरी शिवराम खड्का (काठमाडौँ), एलिसा ढुङ्गाना (काठमाडौँ), विद्या निर्दोषी (पाँचथर), रोशन श्रेष्ठ (अमेरिका), मधु केरुङ (पाँचथर), अमृता स्मृति (धादिङ), देवु लुइटेल (पाँचथर), डा. नाज सिंह (सिराहा, हाल : दिल्ली), प्रकाश सिलवाल (नुवाकोट), वसन्त अधिकारी (अर्घाखाँची), सविता बराल (ताप्लेजुङ), खेमराज शर्मा (रोल्पा), जितेन्द्र बस्नेत (काठमाडौँ), सुमन थापा ‘सङ्गम’ (नेपालगन्ज, बाँके), गरिमा पाण्डेय (दैलेख), अर्जुन खतिवडा (धादिङ), नमुना निरौला (झापा), दुर्गा नेपाली (मोरङ), भरत गुरागाईं ‘बर्बरिक’ (मोरङ) र विक्रमपवन परियार (रामेछाप)ले आ–आफ्ना कविता सुनाएका थिए ।

भोजपुरकी कवि कविता राईको ‘देशको नक्सा’ प्रथम
राष्ट्रिय कविता महोत्सवमा वाचित कविताहरूमध्येबाट भोजपुरकी कवि कविता राईको ‘देशको नक्सा’ शीर्षकको कविताले प्रथम स्थान हासिल गरेको छ । यसै गरी धादिङकी कवि अमृता स्मृतिको ‘डढेलोपछि पनि वसन्त आउँछ’ शीर्षकको कविता द्वितीय बन्न सफल भएको छ । यसरी नै ताप्लेजुङकी कवि सविता बरालको ‘आमा म आएँ अब’, बर्दियाकी कवि निरञ्जनाकुमारी चन्दको ‘युगीन प्रतिध्वनि’ र नुवाकोटका कवि प्रकाश सिलवालको ‘बोधिसत्वको खोप’ शीर्षकका कविताले तृतीय स्थान प्राप्त गरेका छन् । महोत्सवमा प्रथम हुनेलाई स्वर्णपदक, सम्मानपत्र र ५० हजार नगद, द्वितीयलाई काँस्य पदक, सम्मानपत्र र ४० हजार नगद तथा तृतीय हुनेलाई रजत पदक, सम्मानपत्र र जनही ३०÷३० हजार नगद रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । महोत्सवमा विजयी कविहरूलाई राष्ट्रपतिका हातबाट पुरस्कार प्रदान गरिने छ ।

कविता महोत्सवको कविता छनोट समितिको संयोजकमा प्रज्ञा–प्रतिष्ठानका साहित्य (पद्य/काव्य) विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेल तथा सदस्यहरूमा प्राज्ञ ध्रुव मधिकर्मी र डा. विन्दु शर्मा रहेका थिए ।

वार्षिकोत्सवका अवसरमा कुलपति उप्रेतीले प्रज्ञा–प्रतिष्ठानमा कार्यरत १५ कर्मचारीलाई जनही ३० हजार रुपैयाँसहित दीर्घसेवा पुरस्कारबाट सम्मानित गर्नुभयो । यसरी सम्मानित हुने कर्मचारीहरूमा राजेन्द्रकुमारी शाही ठकुरी, उत्तमराज उपाध्याय, राजकुमार श्रेष्ठ, शिवकुमार चापागाई, विजयमानसिंह प्रधान, कर्णबहादुर कुमाल, बुद्धि तिमल्सिना, राधा कार्की, पूर्णबहादुर श्रेष्ठ, रामकुमार बोहोरा, नानु सुवेदी, भगानी लामिछाने, मैया महर्जन, नारायणप्रसाद अधिकारी र जमुना कुचिकार रहेका छन् ।

कुलपतिले पदक र सम्मानपत्र भने परिस्थिति अनुकूल भएपछि आयोजना गरिने वार्षिकोत्सव समारोहमा प्रदान गरिने बताए । कार्यक्रमको सञ्चालन प्राज्ञ सभा सदस्य तथा सञ्चार एवम् डायास्पोरा संयोजक शशी लुमुम्बूले गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!