प्रधानमन्त्री केपी ओली मंगलबार उत्तरी छिमेकी चीनको भ्रमणमा निस्कँदै छन् । उनको पाँच दिने चीन भ्रमणको अहिले नेपाली जनजनमा चर्चा छ । यसअघि उनले गरेको भारत भ्रमण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको नेपाल भ्रमण भन्दापनि यसको चर्चा अलि धेरै भइरहेको छ । ओलीको भारत भ्रमण र भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणप्रति नेपालीहरुको अपेक्षा नै नभएको त होइन तर संगै संसय पनि मिसिएर आएको थियो । त्यसैले पनि केही हदसम्म ओझेलमा पर्यो ।
नेपालीहरुले महाभूकम्पले थिलोथिलो भएको बेलामा गरिएको नाकाबन्दी भुलेका छैनन् । त्यसैले ओलीको र मोदीको दुवै भ्रमणमा शंका गर्नेहरु, मुर्मुरिनैहरु र गाली नै बर्षाउनै हरुको कमी रहेन । तर, प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई लिएर भने नेपालीहरुमा अतिअपेक्षाको अवस्था देखा परेको छ । यो पनि गलत हो । हो, सबैलाई थाहा छ, भारतसँग जस्तो चीनसंग गुनासाहरु धेरै छैनन्, ठोक्किने विषयबस्तु पनि धेरै छैनन् । साथै नेपालीहरुलाई लागेको छ, चीनले सहयोग गर्न सक्छ । हुन पनि चीन केही वर्षयता विश्व रंगमञ्चमा आफ्नो उपस्थिति बलियो बनाउनका लागि अघि बढिरहेको छ ।
दुःखका साथी
नेपालको सरकारमा मात्र होइन, आम मानिसमा पनि अपेक्षाको पर्वत नै देखा परेको छ, यो भ्रमणलाई लिएर । धेरैलाई लागेको छ, अब चीनले नेपालको विकासमा कायपलट नै गरिदिने छ । यसो हुनुका कारणहरु छन्, विश्व रंगमञ्चमा चीनको बढ्दो प्रभाव, चीनसंग भएको पुँजी र भारतले नाकाबन्दी गरेको बेला उसले देखाएको सद्भाव । यसका साथै चीनले केही वर्षयता नेपालमा आफ्नो प्रभाव बढाउने कोशिस गरिरहेको छ । लगानी, सहयोग र कुटनीतिक संवादलाई बढाएको छ ।
अघिल्लो प्रधानमन्त्री कालमा केपी ओली चीन जाँदा नेपालको अवस्था भिन्न थियो । सरकार काम चलाउ जस्तै थियो, अहिले ढल्ला की भरे भन्ने अवस्थामा । भारतले गरेको नाकाबन्दी र मधेसमा भएको आन्दोलनको कारण जर्जर अवस्थामा थियो, विकसका प्रकृयाहरु अवरुद्ध जस्तै थिए । हो, त्यस्तो बेलाको प्रधानमन्त्रीले भारतसंग नझुक्ने बाचा गरेका थिए । तीनतिर भारत र एकतिर चीनले घेरिएको त्यो पनि चीनतिर विशाल हिमालयन श्रृंखलाको अवरोध भएको अवस्थामा भारतसंग झुक्दिन भनेर चीनतिर लाग्नुको धेरैले औचित्य देखेको थिएन । भारतले पनि त्यही देखेर अन्तिम् अस्त्रको रुपमा नाकाबन्दी लगाएको थियो ।
यस्तो आपतको बेला उत्तरी छिमेक पुगेको प्रधानमन्त्री ओलीलाई उसले राहतको महसुस गरायो । लड्नु त नेपाली नै थियो यद्यपी चीनले दिएको हौसला र चीनसंग भएको केही सहमतिहरुले नेपालीहरुको मनोवल बढायो । चीन समुद्रसम्मको पहुँचलाई सुनिश्चित गर्दै पारवाहन सन्धि गर्न राजि भयो । नेपालसम्म रेल ल्याउने कुरामा समझदारी बन्यो । नेपालमा लगानी बढाउन तयार भयो । यद्यपि ति सहमतिहरुले तुरुन्तै भौतिक रुपमा राहत हुने अवस्था थिएन, तर नेपालीहरुलाई ठूलो नैतिक बल मिल्यो । त्यसैको फलस्वरुप भारतको नाकाबन्दी झुकेन र चीनप्रतिको अपेक्षापनि बढ्दै गयो । नेपाली नेता र जनताले त्यसैको निरन्तरताका रुपमा अपेक्षा गरेका छन् । खासमा भारतले नेपालमा गर्दै आएको एकाधिकारको विकल्प खोजिरहेका छन् । अहिले चीनबाट नै समान ल्याउदा पनि नेपाली व्यापारीहरुले भारतको बन्दरगाहाको प्रयोग गर्नुपर्ने अवस्था छ । बेला बेला भारतसंग भइरहने विभिन्न खालका तनाव र समस्याहरुको समाधान चाहन्छन्, आम जनता । खासमा नेपालीहरुले चीनलाई दुखको साथीको रुपमा लिएका छन् ।
अपेक्षाको पर्वत
चीनप्रति नेपालीहरुको अपेक्षापनि बढ्दै गएको छ । केही वर्ष अघिसम्म भारत र पश्चिमाहरुप्रति नेपालीले बढी अपेक्षा राखेका हुन्थे, विकास अनुदान र ऋणको लागि । चिनियाँहरुले आफ्नो निर्यातमूखी व्यापारको माध्यमबाट संकलन गरेको विशाल मुद्रा भण्डारलाई खुला गरेपछि अहिले पश्चिमाहरुसमेत चीनसंग ऋण लिन थालेका छन् । आफ्रिका र दक्षिण अमेरिका जस्ता मुलुकहरुमा बढ्दै गएको चीनको विकास सहायता, लगानी र ऋणको हिस्सा झनै ठूलो छ । दक्षिण एशियाकै कुरा गर्दा पनि माल्दिभ्स, श्रीलंका, पाकिस्तान र बंगलादेशमा पनि ठूला चिनियाँ परियोजनाहरु बन्दै गरेको अवस्था हो । यद्यपी नेपालमा अझै चिनियाँ लगानीमा ठूलो परियोजना बनेको अवस्था छैन । त्यसैको अपेक्षा नेपालीले गरेका हुन् ।
यस भ्रमणमा चीनले त्यही अनुरुपको परियोजनाको माग गरेको पनि नेपाली अधिकारीहरुले बताएका छन् । सबैभन्दा पहिला नेपालीहरु चीनसंगको आवतजावत सजिलो होस् भन्ने चाहन्छन् । धेरैभन्दा धेरै सिमा नाकाहरु खोलियोस् भन्ने चाहन्छन् । सिमा नाकाहरु खोल्नका लागि भौगोलिक अवस्थाका कारण धेरै गाह्रो छ । त्यसमा पनि चिनियाँ सहयोगको अपेक्षा गरिएको छ । खास गरेर नेपालीहरुमा रक्त सञ्चारको काम केरुंगबाट काठमाडौं हुँदै पोखरा र लुम्बिनीमा रेल लैजाने योजनाले गरेको छ । यसो हुन सकेको खण्डमा पहिलो त चीनबाट सामानहरु सस्तो र छिटो नेपाल आइपुग्ने छ भने नेपालबाट पनि निर्यातको संभावना बढ्दै जाने भयो, दोस्रो चिनियाँ पर्यटकको आवगमन सहज हुनेछ । यसले मुलुकको अर्थतन्त्रलाई अझ बलियो बनाउने छ भन्ने कुरामा दुई मत छैन । अर्को प्रभाव भनेको चीनको यही चासोले गर्दा भारतले पनि काठमाडौंसम्म जोड्नको लागि रेल ल्याउने कुरा गरेको छ । साँच्चि नै भारत र चीन दुवैतिरबाट काठमाडौंसम्म रेल आउने र पूर्वपश्चिम रेलको नेपाली सपना पुरा हुने हने भने नेपालको यातायातमा कायपलट हुने कुरामा कुनै दुविधा छैन ।
त्यसैगरी नेपालीहरुले चीनसंग गरेको अर्को अपेक्षा विद्युत परियोजनाको हो । जलश्रोतको उच्च संभावना भएको भनिएपनि नेपालीहरु अझै भारतबाट विजुली खरिद गरेर लोडसेडिंग हटाउनु पर्ने अवस्थामा छन् । अर्को कुरा बर्खामा त विजुली आउँछ नै तर एउटा पनि जलाशाययुक्त विद्युत गृह नहुँदा सधै हिउँदामा समस्या व्यहोर्नु परिरहेको छ । यस्तो अवस्थामा कुनै ठूलो जलाशययुक्त विद्युत गृहको अपेक्षा नेपालीहरुले गरेका छन् । चीनले सुरु गरेको बेल्ट एण्ड रोड इनिसिएटिभ्सको तत्काल समर्थन गर्नुको कारण पनि त्यही हो । चीन अहिले आफ्नो त्यही महत्वकांक्षी परियोजनाको माध्यमबाट प्रभाव विस्तारमा छ ।
यसका अलवा तातोपानी नाका खोल्ने, नेपाली उत्पादनको पहुँच चिनियाँ बजारमा सहज बनाउने, चिनियाँ पर्यटकको संख्या बढाउने, रसुवागढीको नाकालाई सहजबनाउने र अन्य नाकाहरु खोल्ने कुरा रहेका छन् । खासमा नेपालीले चिनियाँ लगानीको अपेक्षा गरेका छन् ।
चिनियाँ चासो
नेपालसँग चीनको पनि वर्षौदेखि आफ्नै खाले चासो छ । चीनका लागि पश्चिममा मुलुकहरुको सन्दर्भमा ढौका हो । तिब्बती शरनार्थीको प्रमुख हिस्सा नेपालमा बस्दै आएको छ । उनीहरुले बेलाबेला चीनविरोधी गतिविधिहरु गरिरहेका हुन्छन् । अझ भारतको धर्मशालामा रहेको दलाई लामा र उनका अनुयायीहरुलै चीनको विरोध गर्नका लागि नैपालको भूमि प्रयोग गर्ने प्रयास सधै गर्दै आएको छ ।
विश्वमा आफ्नो रवाफ जमाउँदै गएको कम्युनिष्ट चीन नेपाली भूमिको प्रयोग जुनसुकै हालतमा पनि आफ्नो मुलुकको हीतविरुद्ध नहोस् भन्ने चाहन्छ । तिब्बतसंग सिमा जोडिएको नेपालमा हुने जुनसुकै चीनविरोधी गतिविधिले पश्चिमा र विश्वको ध्यान आकृष्ट गर्न सक्छ । साथै चीन भित्रेै पनि असन्तुष्टी बढाउन सक्छ ।
त्यसैले बिशेष गरेर चीन नेपालसंग ताइवानको सम्बन्धमा एक चीन नीति र तिब्बतको सम्बनधमा हुनसक्ने जुनसुकै खालको विरोधको नियन्त्रण चाहन्छ । नेपालले यस सर्तहरु यसअघि देखि नै पालना पनि गर्दै आएको छ । चीन यसमा थप विश्वस्त हुन चाहन्छ ।
अर्कोतिर चीनको कुटनीति पहिलेको जस्तो रक्षात्मक छैन । चीन आक्रमक रुपमा पश्चिमाहरुको बर्चश्व तोड्ने दौडमा लागेको छ । पछिल्लो पटक सुरु गरेको वेल्ड एण्ड रोड परियोजना यसैको नतिजा हो । यही माध्यमबाट विश्वमा लगानी, ऋण र सहयोग मात्र बढाउने होइन, प्रभाव पनि विस्तार गर्ने प्रयासमा छ । चीनका लागि दक्षिण एशियामा प्रवेश गर्ने, दक्षिण एशियाको हात्तिसंग सहकार्य र प्रतिस्पर्धा दुवै गर्ने स्थान भनेको नेपाल नै हो ।
विगतमा नेपाली नेताहरु चीन जाँदा, तिमीहरुको निकता भारतसंग बढि भएकाले उनीहरुसंगको सहकार्यलाई ध्यान दिनु भनिएको विषय पटकपटक चर्चामा आउने गरेको थियो । तर, अहिले अवस्था त्यो छैन । चीनले आफ्नो कुटनीतिक प्रयास, ऋण, लगानी र सहयोगको मात्र नेपालमा बढाउँदै लगेको छ । भारतको नेपालमा रहेको प्रभावलाई विस्तारै कम गर्दै जाने प्रयासमा लागेको देखिन्छ ।
अन्त्यमा,
प्रधानमन्त्री ओलीले चीनसंग पनि हवाई रुटको प्रस्ताव गर्ने कुरा बाहिर आएको भोलीपल्ट नेपाल र भारतको नागरिक उडड्यान प्राविधिकहरुको बैठकमा भारतले थप दुई वटा रुट दिने सहमति गर्यो । यस विषयमा भारतीय प्रधानमन्त्रीकौ नेपाल भ्रमणमासमेत चर्चा भएको थियो तर मानेका थिएनन् ।
त्यसै गरेर भारतले काठमाडौंसम्म रेल ल्याउने कुरा पनि चीनसंग केरुंगबाट काठमाडौं हुँदै पोखरा र लुम्बिनीमा रेल लैजाने भन्ने छलफल भएपछि नै आएको कुरा हो । त्यस्तै अन्य विषयहरु पनि छन्, चीनसंंग छलफल भएपछि बर्षौदेखि थाँती रहेका परियोजनाहरुमा भारतीयहरुले थप चासो दिने गरेको छ ।
चीन आफ्नो प्रभाव विस्तार गर्न खोज्ने, भारत आफ्नो प्रभाव छाड्न नचाहने अवस्थाको सृजना भएको अवस्थामा नेपाल अन्तर्राष्ट्रिय खैल मैदान हुन सक्ने संभावना रहन्छ । त्यसैले विगतमा जस्तो एउटाको विरुद्ध अर्को कार्ड खेलेर होइन, दुवैलाई बिश्वासमा लिएर अघि बढ्नु पर्ने अहिलको आवश्यकता रहेको छ ।






