सुधा गुरुङ
बेलायतमा विशेषगरी सप्ताहन्तमा कार्यक्रम जुधेर कता–कता पो भ्याउने भन्ने समस्याले मलाई मात्रै हैन, प्रायः सबैलाई पिरोलिरहेको हुन्छ जस्तो लाग्छ । कारण कहिलेकाहीं एकै दिनमा २÷३ वटा कार्यक्रमबाट निम्तो आइरहेका हुन्छन्, एक्लो ज्यान सबैमा जान सम्भव पनि हुँदैन । त्यसैले प्राथमिकता कसलाई दिने ? कता जाने ? भन्नेबारे विचार पुर्याएर जानुपर्ने स्थिति पनि आउँछ ।
त्यस्तै भयो गत शनिबार हामी दम्पतीलाई । सो दिन मगर संघ युकेको नेपाली ओपन कन्सर्टमा आउनको लागि मगर संघका साथीहरुले निमन्त्रणा दिइरहनुभएको थियो भने सोही दिन हाम्री कान्छी छोरी सलिनलता गुरुङले आफूले भाग लिएको अन्तर विश्वविद्यालय नेपाली नृत्य प्रतियोगितामा आउनुपर्छ है मम्मी ड्याडी भनिरहेकी थिई धेरै पहिलादेखि नै । अब छोरीले भाग लिएको प्रतियोगितामा त नगई नहुने नै थियो भने यता मगर संघका साथीहरुको निमन्त्रणालाई पनि नजरअन्दाज गर्न मनले मानेन । त्यसकारण सुरुका केही घण्टा ओपन कन्सर्टमा बिताइवरी अपरान्ह २ बजे सुरु हुने भनिएको कार्यक्रममा सहभागी हुन फार्नबोरोबाट अल्डरसट पुगेका थियौ । तर, नेपालीको कार्यक्रम न हो, भन्ने भनाइ चरितार्थ भयो । अन्य कार्यक्रमझैं त्यो पनि निर्धारित समयभन्दा करिब डेढ घण्टा ढिलो साढे तीन बजेतिर मात्रै सुरु भएको थियो । तर, कार्यक्रम ढिलो सुरु भए पनि पर्खाईको त्यो डेढघण्टाको अवधि हामीलाई पट्टक्कै पट्यारलाग्दो भने लागेन सायद आफ्ना छोराछोरीहरुले आयोजना गर्न लागेको ईभेन्ट भएर होला, हामी सिटमा बसेर उनीहरुले तयारी गर्दै गरेको दृश्य हेर्दै आनन्दित महसुस गरिरह्यौ ।
कुल १६ वटा विश्वविद्यालले भाग लिएको प्रतियोगिताको सफल आयोजना गत सालको विजयी किङ्गस्टन विश्वविद्यालले गरेको थियो । कार्यक्रम सञ्चालनको जिम्मा मिडलसेक्स विश्वविद्यालयका दिनेश रोका र किङ्गस्टन विश्वविद्यालयकी काजोल गुरुङले लिएका थिए ।
कार्यक्रमको आरम्भमा
चार जना जज क्रमशः युके ट्यालेन्ट हन्ट २००८ की विजेता सुजाता राई, पर्चा प्रोडक्सनका समीर गुरुङ, युके डान्स अफ २०१६ की विजेता जेनी सुनुवार र मर्जिङ्ग नेप्लीज सोसाईटीका संस्थापक पवन कँडेललाई उद्घोषकद्वयले खादाले स्वागत गरे । त्यसपछि आयोजक किङ्गस्टन विश्वविद्यालयको पहिलो आकर्षक प्रस्तुतिबाट सुरु भएको प्रतियोगितामा क्रमशः पोर्ट्समाउथ र, ब्रनेल विश्वविद्यालयले क्रमिक रुपमा आ–आफ्नो प्रस्तुतिहरु एकपछि अर्को गर्दै ननस्टप देखाउँदै गए…।
सबै प्रतियोगीको प्रस्तुति दमदार थियो । प्रायः सबैले विविध सामूहिक नृत्य प्रस्तुत गरेका थिए भने गीतको चयन पनि उत्कृष्ट थियो । बेलायत बसेका ती आधुनिक नानीहरुले विशेषतः नेपाली लोकसंस्कृति झल्कने खालका पुराना सदाबहार गीतहरु, चुड्का, तामाङ सेलो आदिको छनोट गरेको देख्दा गर्वले छाती फुलेको अनुभूति भयो भने त्यसरी आफ्नो संस्कृति जगेर्ना गर्न लागीपरेका ती नानीहरुको प्रस्तुति हेर्न आउने दर्शकदीर्घामा भाग लिएका नानीहरुकै अभिभावकहरुको नगन्य उपस्थिति देख्दा एकप्रकारको नमिठोपनको आभास भयो । लाग्यो, बेलायतका हाम्रा नेपाली अभिभावकहरु कि त काममै ब्यस्त…अनि कामबाहेकका बिदाका समय आफ्नै साथीभाइको भेला, बेलायतमा अत्यधिक बढ्दो भोज भतेर र अन्य सामाजिक क्रियाकलापकै मोजमस्तीमा लाग्नाले नितान्त आफ्ना छोराछोरीले आयोजना गरेका यस्ता रमाइला कार्यक्रममा सम्मिलित हुन समय दिन नसकेका हुन कि ?
छोराछोरीले त आफ्नो संस्कृति जगेर्ना गर्ने जिम्मेवारी सफलतापूर्वक बहन गरे तर हामी अभिभावक नै पो आफ्नो जिम्मेवारीबाट चुक्यौ कि कतै भन्ने लागिरह्यो । यस्ता कुरामा हामीले अंग्रेजहरुबाट सिक्न पर्ने धेरै छ । कारण उनीहरु आफ्ना छोराछोरीहरुको हरेक क्रियाकलापमा सक्रियता साथ सहभागी हुन्छन् । चाहे त्यो प्यारेन्ट्स ईभनिङ्ग वा मिटिङ होस्, चाहे स्कुल कलेजका ईभेन्टहरु ।
मलाई पनि… हरे ! यी नानीहरुले प्रस्तुत गरेका ती उत्कृष्ट प्रस्तुतिहरु हेर्न तिनका आमा बाबाहरु पनि आइदिएको भए कत्ति गर्व गर्थे होलान् आफ्ना सन्तती माथि भन्ने लागिरह्यो । कारण प्रस्तुति वास्तवमै उच्चस्तरको थियो ।
जेहोस्, कार्यक्रम सुरु हुने बेलासम्म खाली खाली हल देख्दा मन खिन्न भइरहेको अवस्था थियो भने बिस्तारै यूनिभर्सिटीकै विद्यार्थीहरुले हल खचाखच भएको देख्दा एक प्रकारको सन्तोष र आनन्दानुभूति पनि भो । लाग्यो, यदि सबैका अभिभावक आएका भए त्यो हलमा सायद अटाउने पनि थिएनन् होला..।
करिब पौने नौ बजेतिर सबै सहभागीको प्रस्तुति सकिएपश्चात् विजयी घोषणा गर्ने समय पनि आयो । नृत्य त सबै ग्रुपको अति आकर्षक र उत्कृष्ट थियो नै । तर, २ वटा विश्वविद्यालयका प्रतियोगीहरुले भने हाम्रो देशको जल्दोबल्दो समस्या चेलिबेटी बेचबिखन र सडक बालबालिका एवम् लागूऔषध दूव्र्यसनको समस्यालाई बडो मार्मिक ढंगले प्रस्तुत गरेका थिए । सो प्रथम र द्वितीय पनि तिनै प्रतोयोगीहरु भए । अर्थात् प्रथम हुन सफल भयो रोह्याम्पटन विश्व विद्यालय भने द्वितीय भए ईस्ट लन्डन र सोआस विश्व विद्यालयको संयुक्त प्रस्तुति । त्यस्तै यूसिएल र क्वीन मेरी विश्व विद्यालयको संयुक्त प्रस्तुति तृतीय भएको थियो ।
विजयी टिमहरुलाई जजहरुले नै पुरस्कार वितरण गरेपछि करिब राति साढे नौ बजेतिर कार्यक्रम समापन भएको थियो । प्रतियोगीहरु त कडा थिए नै साथै कलिला उमेरका ती जजहरुको सटिक टिप्पणी सुन्दा साँच्चै नै हाम्रा सन्ततिहरुमा प्रतिभाको कमी रहेनछ भन्ने भान भयो । लाग्यो, दिज फ्यूचर स्टार्स विल मेक अस प्राउड वन डे ।
समग्रमा सो कार्यक्रम अति रमाइलो र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएकोमा आयोजक किङ्गस्टन विश्वविद्यालय र विजयी टीमहरुलाई हार्दिक बधाई एवम् भविष्यका लागि शुभकामना ।






