लन्डन २८ सेप्टेम्बर । विश्व नेपाली साहित्य समाज पश्चिम युके शाखा र विश्व नेपाली साहित्य समाज दक्षिण युके शाखाको संयुक्त आयोजनामा युद्ध साहित्य गोष्ठी हुने भएको छ ।
गत १८ सेप्टेम्बर २०२१ का दिन भर्चुअल जुममार्फत बसेको यी दुई संस्थाबीचको बैठकले सो निर्णय गरेको हो । यस कार्यक्रम शनिबार १३ र आइतबार १४ नोभेम्बरका दिन दिनको १ देखि ३ बजेसम्म भर्चुवल जूममार्फत गरिने योजना छ ।
बेलायतमा रिमेम्वरेन्स डे अर्थात् पप्पी डे पनि भनेर जानिने दिवसलाई पारेर आयोजना हुन गैरहेको कार्यक्रमको प्रमुख संयोजक विजय हितानलाई तोकिएको छ ।
मुख्यत: विगतका युद्धहरुमा सहादत प्राप्त गरेका सैनिकलाई श्रद्धान्जली अर्पण गर्दै युद्ध सृजनाहरु वाचन गरेर यो कार्यक्रम गरिनेछ । युद्ध साहित्यलाई प्रवर्द्धन गर्ने मुख्य उद्देश्य रहेको यस कार्यक्रममा ब्रिटिस गोर्खा पल्टन, इन्डियन गोर्खा पल्टन, सिंगापुर पुलिस, गोर्खा रिजर्भ यूनिट ब्रुनाई, नेपाली सेना, नेपाली पुलिसलाइ पनि सहभागिताको लागि सम्पर्क गरिनेछ । सिर्जना बाचनका साथसाथै युद्ध साहित्य उपर परिचर्चा पनि गरिने हुँदा यस बिषयका अध्यता/अभियन्तालाई प्रमुख वक्ताको रुपमा निम्त्याउने पनि आयोजकले निर्णय गरेको छ ।
युद्ध साहित्यमा कलम चलाउने देश विदेशमा रहनु भएका स्रजक साथै निवृत्त तथा सेवारत सैनिक र तिनका परिवारलाइ कार्यक्रममा जोडिन हार्दिक अनुरोध गरिन्छ । यो कार्यक्रमको प्रथम दिन वेलायत र नेपालका स्रस्ठालाई र दोस्रो दिन भारत र अन्य मुलुकका स्रष्ठालाइ भाग लिन लगाएर संचालन गरिनेछ ।
स्मरण रहोस्, प्रथम पल्ट गत बर्ष यस्तै बृहत युद्ध साहित्य गोष्ठीको आयोजना गरिएको थियो । त्यसको अपार सफलतापस्चात् यो दोस्रो गोष्ठी पनि गर्न लागिएको हो । यस पल्ट १३ गोर्खा भिसिको सम्झनामा यो आयोजना गर्न गैईरहेकोले ती भिसिका आफन्तलाई विशेष अतिथिको रूपमा निम्नत्रणा गरिने छ ।






