
लन्डन अक्टोबर २० । बेलायतका स्वास्थ्य अधिकारीहरुले सामाजिक क्रियाकलापहरुमा प्रतिबन्ध लगाउन माग गरेका छन् ।
कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिन थालेको भन्दै स्वास्थ्य वैज्ञानिकहरुले पनि यो सुझाव दिएका छन् । उनीहरुले यहाँ हरेक दिन करिब ५० हजार जना सङ्क्रमित भेटिनु र मृत्यु दर पनि हरेक दिन २०० भन्दा माथि हुनुलाई गम्भीर भन्दै यहाँका सामाजिक क्रियाकलापहरुमा प्रतिबन्ध लगाउनुपर्ने बताएका हुन् । यहाँ गएको २४ घन्टायता करिब ४४ हजार जना सङ्क्रमित भएका छन् । यो समेत गरी यहाँ सङ्क्रमित हुनेको संख्या ८५ लाख पुगेको छ ।
महिनौंपछि यहाँ ठूलो संख्याका सङ्क्रमितहरु पाइएका भन्दै प्रधानमन्त्री बोरिस जोन्सनले थप सतर्कताका लागि आग्रह गरेका छन् । यहाँका स्वास्थ्य अधिकारीले यहाँ धेरै समयपछि मृत्यु हुनेको संख्या पनि बढ्न थालेको बताएका छन् ।
बेलायतमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये सात हजार ७०० जना अझै पनि अस्पतालमै उपचाररत रहेका छन् ।






