परशु गुरुङ
लन्डन । तमु धीं यूकेले आफ्ना आजीवन सदस्यहरूप्रति सम्मान, कदर तथा संस्थामा उनीहरूले पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै आयोजना गर्दै आएको आजीवन सदस्य रात्रिभोज कार्यक्रम यस वर्ष पनि भव्य रूपमा सम्पन्न गरेको छ।
गत शनिबार १७ अक्टोबर २०२६ मा अल्डरसटस्थित एम्पायर हलमा आयोजित कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत विपिन दुवाडी प्रमुख अतिथि तथा तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष क्याप्टेन डेमबहादुर गुरुङ विशेष अतिथिका रूपमा सहभागी भएका थिए।
तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रम अपराह्न ४ बजे सुरु भएर राति १२ बजे समापन भएको थियो। संस्थाले हरेक वर्ष आफ्ना आजीवन सदस्यहरूलाई निःशुल्क प्रवेशको व्यवस्था गरी रात्रिभोज आयोजना गर्दै आएको छ। कार्यक्रममा संस्थाका मानार्थ सदस्य, बेलायतका विभिन्न बरोका नेपाली मेयर तथा काउन्सिलरलगायतको उपस्थिति थियो।
महासचिव डा. विशाल गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रममा अध्यक्ष जुमकाजी गुरुङ, प्रमुख अतिथि राजदूत विपिन दुवाडी, संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, आमा समूहकी अध्यक्ष कमला देवी गुरुङ, क्याप्टेन राजु गुरुङ तथा कार्यक्रम संयोजक एवं वरिष्ठ उपाध्यक्ष परशु गुरुङले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए। त्यसपछि नेपाल, बेलायत र तमु समुदायका राष्ट्रिय गीत प्रस्तुत गरिएको थियो। हालैका दैवी प्रकोपमा परी दिवंगत भएकाहरूको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणसहित श्रद्धाञ्जली अर्पण गरिएको थियो।
कार्यक्रममा नयाँ आजीवन सदस्यहरूलाई स्वागत तथा सम्मान गरिएको थियो। उत्कृष्ट तमु तथा तमुस्यो पहिरनतर्फ पुरुषमा कुलचन्द्र गुरुङ प्रथम र दिक्पाल गुरुङ दोस्रो भएका थिए। त्यसैगरी, महिलातर्फ बिनु गुरुङ प्रथम र यामकुमारी गुरुङ दोस्रो हुँदै पुरस्कृत भएका थिए।
तमु धीं यूकेलाई विशेष योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको कार्यक्रममा संस्थाले हरेक वर्ष प्रदान गर्दै आएको सर्वोच्च सम्मान ‘आदर्श तमु र तमुस्यो’ अवार्डसमेत प्रदान गरिएको थियो। यस वर्ष सल्लाहकारहरू सन्तकुमार गुरुङ, कोलप्रसाद गुरुङ, बेनकुमार गुरुङ, ललितमान गुरुङ, ह्यारी गुरुङ र चन्द्रबहादुर गुरुङलाई ‘आदर्श तमु २०२६’ बाट सम्मान गरिएको थियो। त्यसैगरी, समाजसेवी तथा कार्यसमितिका पूर्वसदस्य लिडियी गुरुङ र समाजसेवी बिन्दु गुरुङलाई ‘आदर्श तमुस्यो २०२६’ बाट सम्मान गरिएको थियो।
तमु धीं यूकेलाई निरन्तर सहयोग गर्दै आएका व्यक्तित्वहरूलाई पनि विशेष सम्मान गरिएको थियो। दक्षिणपूर्वी क्षेत्रमा ‘सेभेन सिस्टर्स’का रूपमा चिनिएका आठ दिदीबहिनीहरू—पार्वती (माइला) गुरुङ, कमला गुरुङ, विष्णु गुरुङ, कमला गुरुङ, तारा, कमला, बेनिता र लक्ष्मी गुरुङ—सँगै जंगबहादुर गुरुङ तथा काठमाडौंमा होटल व्यवसाय गर्दै आएका विजय गुरुङलाई विशेष सम्मान गरिएको थियो।
कार्यक्रममा तमु धीं यूकेको परिचय, विगतमा ‘आदर्श तमु र तमुस्यो’ पदकबाट सम्मानित व्यक्तित्वहरू, तमु सांस्कृतिक प्रतिष्ठान नेपालको गतिविधि तथा भोटेकोशी बाढीपीडितलाई राहत वितरण र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम हस्तान्तरण गर्न नेपाल गएको तमु धीं यूकेको छ सदस्यीय टोलीले गरेका गतिविधिसम्बन्धी भिडियो प्रस्तुत गरिएको थियो।
कार्यक्रममा तमु धीं यूकेका ट्रस्टी, पूर्वप्रधानाध्यापक, साहित्यकार, चलचित्र निर्माता तथा गीतकार एकेन्द्र गुरुङको रचनामा पवित्र गुरुङको स्वर रहेको गीत विमोचन गरिएको थियो। त्यसैगरी, तमु धीं लन्डन इकाइका महासचिव तथा युवा साहित्यकार विकास (रक) गुरुङको रचनामा पवित्र गुरुङले स्वर दिएको ‘हे भगवान् के विपत् हो यो’ गीत पनि सार्वजनिक गरिएको थियो। कार्यक्रममा भाग्योदय चिट्ठासमेत सञ्चालन गरिएको थियो।
संस्थाकी सांस्कृतिक सहसचिव बिनु गुरुङको संयोजकत्वमा आयोजित सांस्कृतिक कार्यक्रममा नेपालबाट आएका गायिका पवित्र गुरुङ र प्रिया गुरुङले गायन प्रस्तुत गरेका थिए। नेपालबाट आएका नर्तक शिवदास गुरुङ तथा स्थानीय कलाकारहरूको प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको थियो। सहभागीहरूले गायन, नृत्य तथा विभिन्न सांस्कृतिक प्रस्तुतिको भरपूर मनोरञ्जन लिएका थिए।
कार्यक्रममा संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, आमा समूहकी अध्यक्ष कमला देवी गुरुङ, प्रमुख अतिथि राजदूत विपिन दुवाडी तथा कार्यक्रमका सभापति एवं अध्यक्ष जुमकाजी गुरुङले मन्तव्य राखेका थिए।
कार्यक्रमले तमु धीं यूके परिवारबीचको एकता, सद्भाव र आपसी आत्मीयतालाई थप बलियो बनाउँदै संस्थालाई निरन्तर अघि बढाउन सामूहिक योगदानको महत्त्व उजागर गरेको थियो।










तस्बिरहरु : पार्वती गुरुङ






