युद्ध वियोग: मुकेश राई

SHARE:

कबि तथा गीतकार: मुकेश राई 

युद्ध वियोग

शहिद सम्मान बोकेर एउटा आधिकारिक पत्रमा
म निराश खबर भएर आईपुगेको छु
अकल्पनिय यथार्थ खबर सुनेर
नजिकै ढलिरहेका छन मेरो बाबा
छाती पिट्दै रोईरहेकी छिन मेरी आमा
स्तब्ध बनेका निशब्द दाजुभाई, दिदीबहिनीहरु र आफन्तहरु
सबैभन्दा बिषम स्थितिमा मेरी प्रियसी
थर्थराइरहेको ओठ, नम नयन
आँधी आउन अघिको शुन्य सन्नाटा जस्तो मुहार
काखमा छ भर्खरै टुहुरो भएको अबोध बालक
मेरो अन्तिम अवशेष, हाम्रो अधुरो प्रेम निशानी
म केवल पत्रमा पढिएको छु दु:खद खबर भएर
मेरो देह त कहाँ क्षतविक्षत भए कहाँ ?
थाहा छैन मेरो परिवारलाई, आफन्तहरुलाई !

मलाई माया गर्ने परिवार
र जन्मभूमि भन्दा पर
युद्ध कौशलतामा पारङ्गत योद्धाहरुको
सन्निकट युद्धभूमिमा कर्तव्य बोकेर उभिनु
मेरो रहर थियो या बाध्यता ?
युद्धको चपेटाले क्षत विक्षत खण्डहर भरी
आफ्नै कौशलता देख्न रमत थियो या विवशता ?
चिसो जमिनमा मुलायम बिच्छ्यौना महसुस गर्दै
राइफल अंगालेर प्रियसीको सपना देख्नु
कस्तो अमिल्दो, विरक्ति लाग्दो प्रसङ्ग
मायाका बातहरु, न्यानो आलिङ्गन र
उष्ण चुम्बनको मादकतामा राइफल सिरानी
ब्युँझदाको तिक्त महसुस
आँशुले मेटेर मनको प्यास
जिउने चेष्टा गरिरहेकै हो !

आखिर युद्ध के को निम्ती
हुनसक्छ शान्तिको निम्ती
स्वतन्त्रताको निम्ती
अस्तित्व रक्षाको निम्ती
स्वाभिमानको निम्ती
या केवल युद्धको निम्ती लडिन्छ युद्ध
तर जे होस युद्धभूमिमा
शायद आक्रोसको ज्वालामुखी विस्फोट हुन्छ
बम र बारुदले धर्तीको छाती चिरेर
अहंकारी विभत्स लाभा उम्लन्छ
दुश्मनको विनास गर्दै बग्छ !

आफ्नो दुश्मन होस या आफु दुश्मनको दुश्मन
युद्धको कुनै बिन्दुमा दुश्मन मर्न सक्छ
या दुश्मनले आफुलाई मार्न सक्छ
लडाईंमा जे पनि हुन सक्छ
आफ्नो कात्रो आफैले बोकेर हिंडे जस्तो
सन्त्रासयुक्त परिवेशमा पुर्खाको ईतिहास दोहोर्याएर
इमान र स्वाभिमानको चोमोलुङमा शिरमा बोकेर
भावनात्मक चुनौती अनि कठोर कर्तव्य पथमा बढनु थियो
आफ्नो वर्तमानलाई तिलान्जली दिएर सन्तानको निम्ती
पपी भरी फूलिदिएका विर पुर्खाहरुको पदचाप पच्छ्याउँदै
साथीहरुको सुरक्षात्मक कवज बनेर पहिलो पंक्तिमा
अघि बढेको हामी एउटा भयानक विस्फोटमा विलिन भयौँ
हामी नभए कोही जानै पर्थ्यो हामी निर्भिकतापूर्वक गयौ
अनि आफु मरेर अरुलाई बचाउदै
शहादत प्राप्त गरयौ !

यता जन्मभूमिमा कुशको लाश
म बनेर निर्मम चिता माथि जलिरहेछ
मेरो प्रियसीको आँखामा सर्वश्व जल्दैछ
मेरो मृत देह नदेख्नु, नभेट्नुको अविश्वासपूर्ण
मर्मस्पर्सी चिच्याहटहरु छातीभरी गुम्सिएर
अशिम वेदनामय मनोदशामा गुज्रिदै
तिनै चिताको थुप्रोसङ्ग जलिरहेछन
मेरो परिवारको खुशीहरु, सुनौला सपनाहरु
अनि भविश्यका अभिलाषाहरु
भो छोडीदेउ अब ति जिन्दगीका कुरा
यहीसम्म थियो शायद हाम्रो जीवनयात्राका सुमधुर पलहरु
म अब कहिल्यै फर्किने छुइन मनोरम मायाको पल लिएर
यो बादल, बतास, जून घाम ताराहरु
अनि प्रकृतिको हरियाली उस्तै रहने छ
केवल भौतिक शरीर यहाँ छैन बस
म ज्युँदो रहनेछु तिम्रा अन्तर्मनमा याद बनेर
शायद प्रतिबिम्बित हुनेछु
एउटा टल्कने तक्माको चमकमा या त
सुर्यास्तको रगताम्य क्षितिज बनेर हर साँझ
किनकी
मैले आफ्नो जीवन कर्तव्यपथमा वीरतापूर्वक
समर्पित भई यो नश्वर देह कतै बिसाएर
तिमीसामु भर्खरै
म एउटा निराश खबर भएर आईपुगेको छु !

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!