लन्डन । लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
समाजका अध्यक्ष पूर्णराज गुरुङको सभापतित्वमा शनिबार १८ मेई २०२६ का दिन ठमेल रेष्टुरेण्ट अल्डरसटमा लमजुङ समाज यूकेको साधारणसभा सम्पन्न भएको हो । महासचिव कृष्ण गुरुङले संचालन गरेको बैठकलाई अध्यक्ष पूर्णराज गुरुङ, संस्थापक अध्यक्ष चन्द्रप्रसाद गुरुङ र आमा समूहकी निवर्तमान अध्यक्ष तथा सातौं कार्यसमितिकी वर्तमान उपाध्यक्ष माला घलेले पानसमा दीप प्रज्वलन गरी औपचारिक रुपमा समुद्घाटन गरेका थिए ।
नेपाल तथा बेलायतको राष्ट्रिय धुनपश्चात् समाजका दिवंगत भएका सदस्यहरुको सम्झनामा १ मिनेट मौन धारण पनि गरिएको थियो । बैठकमा उपस्थित भएका महानुभावहरुलाई सम्बोधन गर्दै समाजका वरिष्ठ उपाध्यक्ष परशु गुरुङले बैठकको महत्त्वबारे मन्तव्य दिँदै उपस्थितिको लागि धन्यवाद दिँदै स्वागत गरेको थियो ।

बैठकमा संस्थापक अध्यक्ष चन्द्रप्रसाद गुरुङ, पूर्वाध्यक्षहरु कृष्ण गुरुङ, तुलाराम गुरुङ, विश्वजंग गुरुङ, ट्रष्टी शेर सुनार, सल्लाहकार पूर्णचन्द्र म्हेगीलामा गुरुङ र आमा समूहकी संस्थापक अध्यक्ष तथा सल्लाहकार ईन्द्र गुरुङले बैठकको भव्य अनि सभ्य सफलताको शुभकामना मन्तव्य दिएका थिए ।
महासचिवले १८औं वार्षिक साधारणसभादेखि अहिलेसम्मको समाजको गतिविधिहरुबारे वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तैगरी कोषाध्यक्ष उमरजंग (यूजे) गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । आमा समूहकी उपाध्यक्ष मनिता (मुना) गुरुङले आमा समूहको वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
समाज घर खरिद गर्नेबारे योजना संयोजक तथा संस्थापक अध्यक्ष चन्द्रप्रसाद गुरुङले पावरपोइण्टद्वारा कार्ययोजना प्रस्तुत गरेका थिए । त्यस्तैगरी क्याप्टेन देव घलेले ट्रष्टी मेम्बरहरुको जिम्मेवारी र कर्तव्यबारे पावर पोइन्ट प्रिजेन्टेसन गरेका थिए । युवा संयोजक लुईस गुरुङले युवाहरुको प्रतिवेदन अनि भावी कार्यक्रमबारे प्रस्तुत गरेकी थिइन् ।
त्यस्तैगरी सचिव अनुप गुरुङले डाइरेक्ट डेबिट वा स्ट्याण्डर डेबिट गरेबापत समाजलाई के कति आर्थिक लाभ हुन्छ भन्नेबारे प्रस्ट पारेका थिए । क्याप्टेन दिपक घलेले नेपाली राष्ट्रिय महिला फुटबल खेलाडी सावित्री भण्डारी (साम्बा) को उपचारार्थ समाजका सदस्यहरुले सहयोग गरेको रकम हस्तान्तरण गरेको बारे प्रस्तुति राखेका थिए ।
समाजको भलाईको लागि अन्य धेरै विषयमा छलफल गरी सर्वसम्मत अनुमोदन गरिएको वरिष्ठ उपाध्यक्ष परशु गुरङले जानकारी दिए ।
गत वर्षको मुख्य तीन विशेष कार्यक्रमका संयोजकहरु वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, उपाध्यक्षद्वय कुमार गुरुङ र श्रीमती माला गुरुङलाई अध्यक्ष पूर्णराज गुरुङले क्रेगी खादा लगाई सम्मान गरेका थिए ।

त्यस्तैगरी नेपालबाट भरखर बेलायत आएकी चर्चित तथा लोकप्रिय गायिका मन्जु बिकलाई समाजकी प्रथम महिला जमुना गुरुङले खादा लगाई पुष्पगुच्छा दिई स्वागत गरेकी थिइन् । अध्यक्ष पूर्णराज गुरुङले यस वर्षको समरपार्टी तथा हाउजिंग प्रोजेक्ट च्यारिटी डिनर कार्यक्रमका संयोजक वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, नेपाली मेलाको सहभागिताको लागि संयोजक उपाध्यक्ष माला घले र विण्टर पार्टी संयोजक उपाध्यक्ष कुमार गुरुङलाई जिम्मेवारी दिएका थिए ।
अन्तमा अध्यक्ष पूर्णराज गुरुङले समाजलाई सुव्यवस्थित गराउन विविध विषयमा आफ्नो विचार व्यक्त गर्दै समाजको मान प्रतिष्ठाको लागि समाजका सदस्यहरुको योगदानप्रति आभार व्यक्त गर्दै यो १९औं वार्षिक साधारणसभालाई समापन गरेका थिए ।








