काठमाडौं । अविरल वर्षाले देशका विभिन्न जिल्लामा बाढी, पहिरो र डुबानको समस्या देखिएको छ । पछिल्लो विवरण अनुसार ४ जनाको मृत्यु, केही व्यक्ति बेपत्ता भएको सूचना प्रहरीले दिएको छ ।

3f]/fxL¬–ndxL ;8sv08 cGtu{t aaO{ gbLdf ;f]daf/ cfPsf] af9L . laxfgb]lv gbLdf cfPsf] af9Ln] ubf{ oftfoft ;~rfngdf cfpg ;s]sf] 5}g . t:jL/ M afnf/fd v8sf, bfª, /f;;
रोल्पामा घर पुरिँदा एउटै परिवारका तीनजनाको मृत्यु
घर पुरिँदा एउटै परिवारका तीनजनाको मृत्यु भएको छ । रुन्टिगढी गाउँपालिका– ५ सैवाङमा घर पुरिँदा भान्सामा आगो तापेर बसेका तीनजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा १८ दिनकी सुत्केरी २२ वर्षीया कमला विश्वकर्मा, उनकी १८ दिनकी छोरी र जेठाजुको छोरी १५ वर्षीया चित्रा विश्वकर्मा रहेका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए ।
कैलालीमा घर भत्किँदा एक जनाको मृत्यु
गोदाबरी नगरपालिका–९ धनचौरी गाउँमा घर भत्किँदा एक परिवारको च्यापिएर एक महिलाको मृत्यु भएको छ । घटनामा अर्का एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता हरिबहादुर ओलीले गोदाबरी नगरपालिका–९ धनचौरीका कडेरा रानाको काठले बनेको कच्ची घर गएराति भत्किँदा उनकी श्रीमती ६० वर्षीया डुठा रानाको च्यापिएर घटनास्थलमै मृत्यु भएको जानकारी दिए । राति सुतिरहेको अवस्थमा अचानक कच्ची घर भत्किएको थियो । घटनामा घाइते रानाको अवस्था खतरामुक्त रहेको छ ।
चितवन नारायणगढ मुग्लिन सडक अवरुद्ध
नारायणगढ मुग्लिन सडकखण्डको चारकिलो, जलविरे र टोपेखोलामा पहिरो खसेपछि बिहान ५:१० बजेदेखि सो सडक एकतर्फी मात्र सञ्चालनमा आएकोमा पुन बिहान ८ बजे ठुलो चट्टान खसेपछि दुई तर्फी नै बन्द भएकोछ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिहान ती स्थानमा ठुलो पहिरो गएकाले बाटो अवरुद्ध भएको हो । पहिरो पन्छाउन थालिएको भए पनि पानी परिरहेकाले पन्छाउन कठिन भएको नारायणगढ मुग्लिन सडक आयोजनाले जनाएको छ ।
बुटवल–तानसेन सडकखण्डमा पहिरोले बाटो अवरुद्ध
सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्डको सिद्धबाबा मन्दिर क्षेत्रमा पहिरो गएपछि बुटवल तानसेन सडकखण्ड अवरुद्ध भएको छ । दुई दिनदेखि परेको वर्षाका कारण आइतबार राति करीब ११ बजे सिद्धार्थ राजमार्गको तिनाउ गाउँपालिका–३ सिद्धबाबा क्षेत्रमा पर्ने हेडबक्स नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
वर्षाले नेपालगञ्ज जलमग्न,सर्तकता अपनाउन प्रशासनको आग्रह
बाँकेको नेपालगञ्ज आसपास क्षेत्र जलमग्न भएको छ । निरन्तर वर्षाले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गत बेलासपुर, धम्बोझी, सेतु विक चोक, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर र बाँके गाउँलगायत स्थानमा पानी जमेर आवतजावतमा समस्या भएको छ । पानी जमेपछि बिहानै विद्यालय तथा कलेज जाने विद्यार्थी जान सकेका छैनन् भने पैदलयात्रीलाई अप्ठेरो भएको छ । नेपालगञ्जका विभिन्न सडक तथा नाली निर्माणको कार्यले ढल निकासको व्यवस्थापन नहुँदा पानीको मुहान थुनिएर पानी जमेको हो ।
अविरल वर्षाका कारण यातायात आवागमनमा समस्या
सिरहाको मिर्चैयामा पानी जमेकाले जनजीवन प्रभावित भएको छ । गत शनिबारदेखिको वर्षाका कारण मिर्चैयाको केन्द्रबिन्दु मानिने थाना चोक, बजार एरिया र कटारी चोकलगायतका स्थानमा पानी जमेकाले आवतजावतमा समस्या भइरहेको छ । नालाको उचित व्यवस्थापनको अभावमा पानीको निकास नहुँदा पूर्व पश्चिम राजमार्गमा समेत पानी जमेकाले सवारीसाधन आगमनमा समस्या भइरहेको हो ।
मिर्चैयाको थाना चोक एरिया र बजार एरियाको अधिकांश घरमा पानी पसेको छ । वर्षाले मिर्चैयाका सडक तथा बाटो जलमग्न र हिलाम्य भएको छ ।
पुल भत्कँदा हुलाकी सडक अबरुद्ध
आइतबार रातिदेखि परेको वर्षासँगै आएको बाढीका कारण चितवन भरतपुर, माडी, ठोरी हुलाकी सडक अवरुद्ध बनेको छ ।
इलाका प्रहरी कार्यालय माडीले दिएको जानकारी अनुसार खहरे खोलामा आएको बाढीका कारण माडी नगरपालिका–३ र ६ जोड्ने रौतनी खोलाको पुल भाँच्चिदा सवारी आवागमन बन्द भएको हो ।
पुल भत्किँएसँगै भरतपुर माडी–ठोरी खण्डमा सवारी सञ्चालन हुन सकेका छैनन् । इलाका प्रहरी कार्यालयसँगै रहेको सो पुल बिहान ९ बजे भत्किएको प्रहरीले जनाएको छ । माडी क्षेत्रमा वर्षा नरोकिएका कारण खोलामा पानीको बहाब उच्च भएको छ ।
नुवाकोट किम्ताङको पहिरो जोखिमका १७ परिवार विद्यालयमा
मेघाङ गाउँपालिका–४ साविक किम्ताङ गाविसको वडा नं ७ का १७ परिवार विस्थापित भएका छन् । पहिरोले ११ रोपनी क्षेत्रफल खेतीयोग्य भूमि बगाउँदै बस्तीतर्फ झरेपछि स्थानीय प्रशासनले उनीहरुलाई आज उद्धार गरी चन्द्रदेवी माध्यमिक विद्यालयमा स्थानान्तरण गरेको हो ।
विसं २०२८ देखि बग्दै गएको पहिरोबाट पीडित किम्ताङबासीलाई यसवर्ष वर्षा शुरु हुनुपूर्व नै बलच्युङ र खरबारीबाट झरेको पहिरोले बस्तीमा क्षति पुर्याएकाले त्यहाँ रहेका १७ घरधुरीका करीब १०० जनालाई सुरक्षित स्थानमा सारिएको गाउँपालिका उपाध्यक्ष शान्ति गुरुङले जानकारी दिइन् ।
टवाङ खोलाले बस बगायो
पश्चिम दाङको बबई गाउँपालिका–५ मा पर्ने टवाङ खोलामा सोमबार आएको बाढीले ना१ख १८६१ नंको यात्रुबाहक बस बगाएको छ । स्थानीयवासी तथा प्रहरीले उद्धार गरेकाले बस बगाएपनि मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिए । सो बस बगालेबाट तुलसीपुरतर्फ आउँदै थियो ।
दुई दिनदेखि परेको अविरल वर्षाका कारण दाङको जनजीवन प्रभावित भएको छ ।
बाढीले बगाउँदा एकजना बेपत्ता
बाँकेको वैजनाथ गाउँपालिकाको वनकटुवास्थित जेठी नालामा आएको बाढीले बगाउँदा आज एकजना बेपत्ता भएका छन् । नालाको बाढीले बगाउँदा वैजनाथ गाउँपालिका–३ का ६५ वर्षीय तुलबहादुर बुढा बेपत्ता भएको प्रहरी उपरीक्षक टेकबहादुर तामाङले जानकारी दिए ।
तोपेखोलामा पहिरो खस्दा मुग्लिन सडक अवरुद्ध
चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ स्थित तोपेखोला भन्ने स्थानमा खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । बिहानभरि ठाउँठाउँमा खसेको पहिरोका कारण प्रभावित भएको उक्त सडकखण्डअन्तर्गतको तोपेखोलामा सोमबार ११:५० बजेको समयमा ठूलो पहिरो खसेर पुनः सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पानी परिरहेको र पहिरो खस्ने क्रमसमेत नरोकिएकाले अहिले पहिरो पन्छाउने काम शुरु गर्न नसकिएको प्रहरीले जनाएको छ ।
वर्षापछि उडान अवरुद्ध
बिहानैदेखि परेको पानीका कारण पोखरा विमानस्थलबाट उडान हुन नसक्दा यात्रु समस्यामा परेका छन् । पोखरा विमानस्थलबाट काठमाडौँ, जोमसोम, भैरहवा र भरतपुरका लागि कुनै पनि उडान हुन नसकेको सो विमानस्थल कार्यालयका प्रशासकीय अधिकृत काशीनाथ पौडेलले जानकारी दिए ।
पहिरोले यातायात अवरुद्ध
जाजरकोटका आन्तरिक तथा बाह्य यातायात सेवा ठप्प भएको छ । आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण जिल्लाको अन्तरिक तथा बाह्य सडक यातायात अवरुद्ध भएको हो ।
खलंगा–पाँचकाटिया सडकको रिसाङमा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ । त्यस्तै, छिन्चु–जाजरकोट सडकखण्डको शान्ति चौतारा, खोदाखोला नजिक पहिरो जाँदा जाजरकोट सदरमुकामबाट बाहिरिने र भित्रिने यातायातका साधन ठप्प भएको छन् । जाजरकोट–डोल्पा सडकखण्डको तीन ठाउँमा पहिरो जाँदा यातायात सेवा ठप्प भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ ।






