तमु ल्होछारमा तमुधिंमा पुस १० गतेदेखि विविध कार्यक्रम हुने

SHARE:

आकाश गुरुङ
पोखरा ७ पुस । तमु जातिको नयाँ वर्ष, महान् चाड तमु ल्होछार (तो ल्हो) २०७८ आउँदो पुस १५ गतेदेखि आगमन हुँदैछ । बाह्रवटा ल्हो(वर्ग)मध्ये पुस १४ को रातिबाट १२ बजेबाट अहिले भोग गरिरहेको ल्वों ल्हो(गाई वर्ग)को बिदाई र तो ल्हो(बाघ वर्ग)को आगमन हुँदैछ। तो ल्हो(बाघ वर्ग) आगमनको अवसरमा तमुधिं नेपाल लगायतका विभिन्न तमु संघ संस्थाहरुले पोखरामा विविध कार्यक्रमहरु गरी मनाउने तयारी गरिरहेको छ ।

यसै क्रममा तमुधिं नेपालमा पुस १० गते तमु(गुरुङ)कलाकार संघ नेपाल गण्डकी प्रदेश समितिले शुभकामना आदानप्रदानसहित राष्ट्रिय कलाकारहरुको विशेष प्रस्तुति रहने रोधी साँझ साँस्कृतिक कार्यक्रम गरी तमु ल्होछार मनाउने भएको छ । कार्यक्रममा चर्चित लोकगायिका माया गुरुङ, शर्मिला गुरुङ, राजु गुरुङ, गणेश गुरुङ, दुर्गा गुरुङ, भिमु गुरुङ सागर गुरुङ, चिज गुरुङ लन्छु, शंकर विरही गुरुङ, जादुगर शेरबहादुर गुरुङलगायतका कलाकारहरुको विशेष प्रस्तुति रहने भएको छ । तमु कलाकार कल्याणकारी कोष स्थापनार्थ उद्देश्यका साथ आयोजित कार्यक्रमको प्रमुख अतिथि पूर्वमन्त्री किरण गुरुङलाई आमन्त्रण गरिएको संघका अध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिनुभयो ।

यसरी नै पुस १२ गते तमुधिं नेपाल युवा विभागले ल्होछारको शुभकामना आदानप्रदानका साथै तमु युवाहरुलाई प्रशिक्षित गर्नु भएको छ । “तमु ल्होछार, तमु युवा र भावी मार्ग” विषयक प्रशिक्षण कार्यक्रम आयोजना गरिएको युवा विभाग प्रमुख रमेश गुरुङले बताउनुभयो । उक्त कार्यक्रमसँगै तमु जातिको परम्परागत खेल तारा (मे त्हले) खेल विकासका लागि तमुधिंमा तारा खेल मैदान निर्माणको शिलान्यास हुने भएको छ । खेल मैदानको शिलान्यास कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङले गर्नु हुने भएको छ ।

तो ल्होछारकै अवसरमा पुस १४ गते तमुधिं नेपालमा तमुधिं नेपाल र केन्द्रीय आमा समितिद्धारा शुभकामना आदानप्रदान, विविध सांस्कृतिक कार्यक्रम, सम्मान, छात्रवृत्ति एवम् पुरस्कार वितरण कार्यक्रम आयोजना गरिएको तमुधिंले जनाएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा विभिन्न ८ अक्षय कोषबाट शैक्षिक, सामाजिक, साहित्यीक, संस्कृतिसँग सम्बन्धित विशिष्ट व्यक्तित्वहरुलाई सम्मानित पुरस्कृत गरिने र विद्यार्थीहरुलाई छात्रवृत्ति वितरणसमेत गरिने भएको छ । उक्त बेलुका तमु ह्युल चोक बिरौटामा दीप प्रज्वलन गरी तो ल्होलाई स्वागत गर्ने र तमुधिंमा स्योंकै कार्यक्रमसमेत हुने भएको छ ।

यस्तैगरी पुस १५ गते बिहान तमुहरुले आफ्ना मान्यजन, गुरु, खेगीहरुबाट आशीर्वाद ग्रहण गर्ने, ग्रहशान्ति, पूजाआजा गर्ने र तमुहरु क्होंइबो, गुम्बा, समाजघर र मान्यजनको घर घरमा पुगी आशीर्वाद गर्ने गर्दछन् भने दिउँसो २ बजेपश्चात् तमु संघ संस्थाहरुबाट सामूहिक रुपमा ल्होछार/ल्होसार तमुधिंमा मनाउने भएको छ । सामूहिक ल्होछार/ल्होसार कार्यक्रममा शुभकामना आदानप्रदानका साथै विशेष सांस्कृतिक प्रस्तुति गरी मनोरञ्जन गर्ने भएको छ । कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई आमन्त्रण गरी कार्यक्रमको संयोजक तमु(गुरुङ)कलाकार संघ गण्डका अध्यक्ष सुरेन्द्र गुरुङले बताउनुभयो ।

यसरी नै पुस १६ गते तमुहरुको परम्परागत छेलो प्रतियोगिता हुने भएको छ । तमुधिंमा हुने छेलो प्रतियोगिता मादी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङ(श्याम)को पुजनीय बाबा टेकसाई गुरुङ स्मृतिमा हुने बताइएको छ । छेलो जितेर उक्त वर्षको म्रु(राजा) हुने तमुहरुको विगतको इतिहासको स्मरण गर्ने प्रतियोगिताको प्रमुख अतिथि मादी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङ(श्याम)लार्इ आमन्त्रण गरिने भएको आयोजकले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!