लण्डन फागुन ८ ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले रुसले युरोपमा सन् १९४५ यताकै ठूलो युद्धको तयारी गरेको बताएका छन् ।
अहिलेसम्म प्राप्त प्रमाणहरुले रुस निकै ठूलो युद्धको तयारीमा रहेको स्पष्ट हुने प्रधानमन्त्री जोन्सनले दाबी गरेका हुन् । बिबिसीसँगको अन्तर्वार्तामा जोन्सनले रुसले युद्धको योजना कार्यान्वयनमा लागिसकेको संकेत मिलेको बताए । रुसले युक्रेनको राजधानी किएभलाई घेराबन्दी गर्ने गरी आक्रमणको योजना बनाएको गुप्तचर सूचनाहरुबाट स्पष्ट हुने उनले बताएका छन् ।
रुसले युक्रेनमा आक्रमण गरेको खण्डमा त्यसको मानवीय मूल्य निकै भयानक हुने भएकाले यसको गम्भीरता बुझ्नु पर्ने जोन्सनको भनाइ छ।
सुरक्षा सम्मेलनका लागि जर्मनीको म्युनिखमा रहेका जोन्सनले यस्तो बताएका हुन् । रुसले युक्रेनसँगको सीमा क्षेत्रमा एक लाख ६९ हजारदेखि एक लाख ९० हजारसम्म सैनिक तैनाथ गरेको अमेरिकाले बताएको छ ।
अमेरिकासहितका पश्चिमा राष्ट्रले यसलाई युक्रेनमाथि रुसी आक्रमणको तयारी बताएका छन् । तर रुसले भने आक्रमणको योजना नरहेको दाबी गर्दै आएको छ । यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमाथि आक्रमणको मनसाय बनाएको भन्ने प्राप्त सूचनाका आधारमा आफू विश्वस्त भएको बताएका थिए ।
युक्रेनमाथि आक्रमण गर्ने बहाना बनाउन रुसले सुनियोजित रुपमा घटनाक्रम विकास गर्ने प्रयास गरिरहेको आरोप पश्चिमा राष्ट्रको छ ।






