मुस्ताङ । मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिकाको स्याङ्बोचेमा टिपर दुर्घटना हुँदा १८ मजदूरको मृत्यु भएको छ ।

बेनी–कोरला सडकखण्डमा काम गर्ने मजदूर चढेको टिपर स्याङ्बोचेमा दुर्घटनामा परेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिए । “दुर्घटनामा १८ जनाको मृत्यु भएको पुष्टि भएको छ, सबै विवरण आउन बाँकी छ”, उनले भने । दुर्घटनामा १४ मजदूर घाइते भएका छन् ।
घटनास्थल सदरमुकाम जोमसोमदेखि ५० किलोमिटरको दूरीमा रहेको छ । प्रजिअ पौडेलका अनुसार उद्धारमा घनीबाट गएको प्रहरी टोली र स्थानीयवासी खटिएका छन् ।
जोमसोमबाट थप प्रहरी घटनास्थलतर्फ गएको मुस्ताङका प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले बताए ।
दुर्घटना भएको क्षेत्रमा सडक निर्माणको जिम्मा बिरुवा कन्स्ट्रक्सनले लिएको बेनी–कोरला सडकखण्डका इन्जिनियर जगत प्रजापतिले बताए ।






