किन रोकिँदैन महिला हिंसा ?

SHARE:

शारदा पौडेल

आफ्नै माटो, भूगोल र समाज होइन, सातसमुद्रपारिको माटो, भूगोल र समाजमा रात–दिन नभनी खटेर काम गर्दा पनि एक आमालाई सबैभन्दा धेरै त छाडेर आएको छोरीको पिरलो लाग्ने रहेछ । कतै त्यो कोपिलालाई त्यस्तै हर्कत भएकाहरुले चुँडेर क्षत्–विक्षत् पारेर फ्याँकिदिए भने ! फेरि, दिनानुदिन यस्ता घटनाका शृङ्खलाहरु घटिरहेका (स्मरणीय छ, हामीकहाँ पत्रकारलगायत सबैले घटना घटिरहेका भनेर लेख्ने आमचलन छ ।) होइन कि बढिरहेको तथ्यांक भेटिन्छ । २०७०÷०७१ यताका तीन आर्थिक वर्षमा मात्र बलात्कारका ३ हजार ५ वटा घटना दर्ता भएका छन् । यो तथ्यांकका अनुसार नेपालमा दैनिक तीनवटा बलात्कारका घटना हुने गरेका देखिन्छन् । यी त प्रहरीमा दर्ता भएका तथ्यांक हुन् । प्रहरीमा दर्ता नभएका र सार्वजनिक नगरिएका यस्ता घटनाको अर्को तथ्यांक पनि जोड्ने हो भने त्यसले अवश्य पनि भीमकाय र भयावह रुप लिन्छ नै ।

म चितवनको माटोमा जन्मिएँ र हुर्किएँ । अनि स्वदेशका सीमित कमाइभन्दा विदेशको कमाइ असीमित हुने हुँदा आफूभन्दा पनि परिवारलाई आर्थिक अभावका कारण हिनता नहोस् भन्ने हेतुले युरोपको माटोमा आइपुगें । भाषा र भूगोलको पृथक्तामा शुरुको क्षण कहालीलाग्दो भए पनि नाता नै नपर्ने र कहिल्यै नदेखेको भए पनि नेपाली देख्दा उनीहरु आफ्नै दाजुभाइ, दिदीबहिनी बन्न पुगे, त्यसैले रमाइलो महसुस हुँदै गयो । तर जति रमाइलो भए पनि घरमा भएकी छोरीलाई अनलाइनबाट बेलुका एकपटक नहेर्दासम्म सन्तोषको श्वास फेर्न पनि कठिनाइ भएजस्तै हुन्छ । यसो भन्दा विदेशी भूमिमा रहँदा स्वदेशमा छाडेर आएको छोराको माया नै नलाग्ने भन्ने होइन, तर उसले समाजमा अन्य घटनाको शिकार हुनु परे पनि सुन्दै आङ जिरिङ्ग हुने बलात्कारको घटना त बेहोर्नु पर्दैन नि । त्यसैले छोरीको बढी चासो लिनुपरेको हो ।

हामीकहाँ ८ मार्च र महिला स्वतन्त्राको कुरा ८ मार्चकै सेरोफेरोमा मात्र लेखिने र पढिने कर्मकाण्डीय परम्परा जस्तै बन्दै गएको छ । यो कर्मकाण्डीय पद्दतिबाट पहिलो कुरा नेपाली नारी मुक्त हुनैपर्छ । उनीहरुले कलम चलाउँदा कुनै न कुने कोणबाट यो कुराको विरुद्धमा आवाजहरु बोलिरहनुपर्छ ।

कति दयनीय र कहालीलाग्दो अवस्था छ नेपालमा अझै महिलाको लागि । पहिलो कुरा त, कानुनी रुपमा जे जे लेखिए पनि अहिले गर्भको शिशु के हो भन्ने कुरा गर्भ रहेको केही समयमै जाँच हुन्छ र शिशु छोरी भए उनलाई यो धर्तीमा ‘च्याहाँ’ नै गर्न नदिई भ्रुणमै समाप्त पारिन्छ । त्यो खेलमा एउटी छोरीको संसारमा पदार्पण हुने अधिकार त गर्भमै मर्छ नै त्योसँगै कुनै कुनै समयमा त बाँचेरहेकी एक महिलाको अधिकार पनि त उनीसँगै मर्दो हो । यति मात्र होइन, नेपालको तराई भूभागमा यदि गर्भजाँच नगराई छोराका आशामा कुनै बालिका जन्मिइन् भने त्यो परिवारका लागि झनै अभिशाप बनेको हुन्छ । यस्तो चलनको अन्त्य मधेशमा अझै पनि भएको छैन । त्यसैले त्यतातिर परिवारकै सदस्य मिलेर छोरीको हत्या गरेको समाचार कुनैबेला बलेसीमा झरेको पानीको फोकाजस्तै उठ्ने र पानीमा विलिन हुने गर्छन् । तराई र नेपालका पहाडी भूभागहरुमा समाजकी सबैभन्दा निरीह महिलालाई बोक्सीको आरोप लगाउने र फोहोर पदार्थ खुवाउने मात्र होइन, कुटपिट गरेर आँखा झिकिदिनेसम्मका हर्कतहरु राजधानी वरपरि नै भइरहेका हुन्छन् ।

गतवर्ष फागुन १६ गते बलात्कारको शिकार भएकी पर्सा पटेवा सुगौलीकी ७ वर्ष ३ महिनाकी बालिकाको अवस्था अहिले कस्तो होला ? उनलाई सामूहिक बलात्कार गर्नेहरुले सजायँ भोगिरहेका होलान् कि समाजमा छाडा साढेका रुपमा डुक्रिरहेका होलान् ? नारी दिवसकै दिन बोक्सीको आरोपमा निर्घात कुटिएकी कैलालीकी राधा चौधरीले न्याय पाइन् होला कि मिलापत्रमा हस्ताक्षर गरिन् होला ? आफूसँग बिहे गर्न नमानेको झोकमा कुटपिट गर्ने, आँखामा औंलाले घोच्ने र शरीरमा तातो घिउ खन्याउने कञ्चनपुर भीमदत्त नगरपालिकाका राकेश चन्द अहिले कस्तो सजाय भोग्दै होला ? अनि घाइते सुनिताको अवस्था के कस्तो होला ? भोजपुरको पूर्वी अरुण गाउँपालिका–३ मा भएको तीन अवोध बालिकाको शंकास्पद मृत्युको अनुसन्धान अघि बढ्यो होला कि उनीहरुको मृत्युजस्तै त्यो घटना पनि भासभुस भयो होला ? सुनसरीको चक्रघट्टी घर भएकी महिलालाई बलात्कार गरी उनी गर्भवती भएपछि हत्याको प्रयास गर्ने स्थानीय दुई पीडकले सजाय पाउने र पीडितले न्याय दिलाउने काम भयो होला ? सप्तरी सदरमुकाम राजबिराजबाट माइक्रो चढेकी झापा घर भएकी एक युवतीलाई बलात्कार गर्ने चालक सिरहाको भगवानपुर–९ घर भएका वैद्यनाथ दास र बाँकेको राप्तीसोनारी–५ का खेमराज बैसेले त्यो हर्कत गरेबापत सजाय भोग्नु परेको छ होला कि छैन होला ? स्वदेशमात्र होइन, विदेशमा समेत अपरणपछि बलात्कारको शिकार भएका युवतीहरुको उद्दार भयो होला कि उनीहरुले अलापमै समय गुजार्नु परेको होला ? यस्ता दर्जनौं घटनाका शृङ्खलाहरु आँखा वरिपरि घुम्छन् । वास्तवमा यस्ता समाचार सम्प्रेषणपछि उक्त समाचार पत्ता लगाएर लेख्ने पत्रकारहरु त यस्तै अन्य समाचारकै खोजीमा लाग्लान्, तर समाजका विचारक या बौद्धिक महिलाहरुले यस्ता पीडकलाई सजाय र पीडितले न्याय पाएको घटनाबाट लेखनीको शुरआत गरे विश्वमै नेपाल कानुनी राज्य भएको प्रचार–प्रसार पनि सम्प्रेषित हुने थियो ।

नेपालमा घरेलु तथा यौनिक हिंसाविरुद्ध कानुनको कमी भएको होइन र पछिल्लो संविधानले महिलाका हकअधिकारलाई झनै खुकुलो पनि पारेको छ । शहर–बजारमा मात्र होइन कि अहिले त दूरदराजका गाउँमा समेत महिला अधिकारकर्मीहरु महिला अधिकारका कुरा लिएर पुग्ने गरेका छन् । लोकतान्त्रिक सरकार पनि अब त तृणमूलसम्म पुगिसकेको छ । यो समयमा पनि अझै महिलाले मध्ययुगीन शैलीका बबरता भोगिरहनुपर्ने र विदेशमा रहेका आमाहरुले घरमा छाडेर आएकी बालिकाको चिन्ता गरिरहनुपर्ने…?

हुन त जुनसुकै सरकारहरु पनि गाउँ, समाज अनि राज्यकै संरक्षक हुन् । त्यसमा पनि अहिले त नेपालमा वामपन्थीको एकमना सरकार छ । वामपन्थीहरुको निर्वाचन अघिको भनाई साम्यवादउन्मूख समाजको परिकल्पना हुन्छ । साम्यवादी समाज भनेको सत्व, रज र तम यी तीन गुणमा घटीबढी नभई समान रुपले रहने समाज हो । त्यस्तो समाजउन्मूख राजनीतिक दल सत्तामा हुँदा कमसेकम यौनिक हिंसाजन्य क्रियाकलापमा संलग्नहरुले यथोचित कानुनी सजाय पाउनुपर्छ र पीडितले न्याय । यसको लागि अहिले प्रत्येक स्थानीय निकायमा जनप्रतिनिधिहरु छन्, अझ सबै स्थानमा महिला जनप्रतिति नै पनि यथेष्ठ छन् । त्यसैले यस्ता जनप्रतिनिधिले आफू सुरक्षित महसुस गरेर होइन कि कतै आफ्नै कोपिला चुँडिएको देख्नुपर्ने हो कि भन्ने विषयमा चनाखो रहनुपर्दछ । यसका अलावा हिंसाविरुद्धको अभियान सञ्चालन गरिरहेका सामाजिक संघसंस्थाहरुले यस्ता विषयमा आवाज उठाइरहनुपर्दछ र समाजमा चेतना फैलाइरहनु आवश्यक छ । यो काममा महिलालाई मात्र सचेत गराउने होइन कि पुरुषलाई पनि यसमा सचेत गराउने खालका सूचनाहरु सम्प्रेषित गराउनुपर्दछ ।

अन्त्यमा, अहिले सञ्चारले विश्वलाई सानो ग्राममा बाँधेको र विश्वमै श्रमबजार खुला रहेको परिप्रेक्ष्यमा को कहाँ पुग्ला र कुन खालको श्रम गर्ला भन्नु भन्दा पनि आफूले छोडेर हिँडेको सुन्दर बगैंचा बीचैमा कुरुप भएको समाचार सुन्नु नपरोस् भन्ने आम मानिसको चाहना हुन्छ । त्यस्तो चाहना पूरा हुने हो भने घर छोडेर विदेशिएका थुप्रै नेपाली नारीले छोरीको पिरलोमा गुजार्ने समयलाई सुन्दर कार्यमा लगाउन सक्ने थिए कि भन्ने मात्र हो ।
sharadappp@gmail.com

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!