काठमाडौं । संयुक्त राष्ट्र संघ आदिबासी स्थायी मंचका पुर्व सदस्य परशुराम तामाङ एकसाथ चार पुस्तक सहित आएका छन् । विभिन्न कालखण्डमा छापिएका चार पुराना पुस्तकहरु केही परिमार्जन सहित प्रकाशित गरिएको हो । सैलुङ बुक्सले छापेको पुस्तकहरु ‘तामाङ जाति’, ‘तामाङ संस्कार’, ‘ताम्बा काअीतेन’ र ‘तामाङ वंशावली’ को हालै राजधानीमा भाषाविद अमृत योञ्जन, मानवशास्त्री डा. मुक्तसिंह लामा, संस्कृतिविद एवं लेखक रविन्द्र ग्याबा तामाङ र कवि एवं संचारकर्मी फूलमान वलले लोकार्पण गरे ।
आदिबासी अधिकारकर्मीसँगै राजनीतिककर्मीको छवि बनाएका तामाङका कृति ‘तामाङ जाति’ मा तामाङ समुदायको उत्पत्ति, पहिचान, इतिहास, सामाजिक संरचना, अर्थतन्त्रदेखि भाषा र लोक साहित्यसम्म समेटिएको छ भने ‘तामाङ वंशावली’मा विभिन्न थरहरुको उत्पत्ति, थातथलो र तिनीहरुको बिस्तृति समेटिएको छ । त्यस्तै ‘ताम्बा काइतेन’ मा तामाङ समुदायमा प्रचलित ताम्बा दर्शन, संस्कृति, तामाङ जीवनमा त्यसको महत्व र विभिन्न सांस्कारिक गीतहरु सहित विवाह–ब्रतबन्धको ताम्बा प्रक्रिया समेत उल्लेख गरिएको छ । ‘तामाङ संस्कार’मा भने तामाङ समुदायको तिनवटा सांस्कृतिक संस्था बोन्बो (झा“क्री), लामा र ताम्बामाथिको व्याख्या र महत्व समेटिएको छ ।
पुस्तकहरुमाथि चर्चा गर्दै भाषाविद योञ्जनले ‘यति महत्वपुर्ण कृति लेख्ने परशुराम राजनीतिमा नभई लेखनमै फर्किनुपर्ने’ आग्रह गरे । तामाङ हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य छन् । भाषाविद योन्जनले लामो समयपछि आएको नयाँ संस्करणहरुमा अपेक्षा गरे अनुरुपको परिमार्जन भने हुन नसकेको औंल्याए । मानवशास्त्री डा. मुक्तसिंह लामाले तामाङका कृतिहरु अहिलेको सन्दर्भमा झन निकै सान्दर्भिक रहेको दावी गरे ।
लेखक रविन्द्र ग्याबा तामाङले ‘फुट नोट’हरुमा विगतका दिनमा कमजोरी रहेको भएपनि नया“ सन्दर्भमा परशुरामका कृतिहरु उत्तिकै महत्वपुर्ण रहेको बताए । कवि एवं संचारकर्मी वलले नया“ पुस्ताका लागि मौलिक ज्ञान, संस्कृति र परम्परा हस्तान्तरण गर्न पुस्तकहरुले सघाउने दावी गरे । लेखक तामाङले भने आफू रहरले नभई आवश्यकताले लेखक बनेको र आवश्यकता पुर्तिकै लागि पुस्तकहरु जन्मिएको बताए । सैलुङ बुक्सका अध्यक्ष कुयाङ लामाले पछिल्लोपटक तामाङ समुदायमा पुस्तक प्रकाशनको लोभलाग्दो लहर चलेको बताउ“दै मातृभाषी कृतिलाई छाप्न र हौसला दिन सैलुङ प्रकाशन स“धै क्रियाशील रहने बताए । कार्यक्रम तामाङ पत्रकार संघले गरेको हो ।






